निर्वाचन विशेष


भरतपुर बन्यो गठबन्धनको ‘टर्निङ प्वाइन्ट’

प्रचण्डको जय नेपाल र देउवाको प्रतिवद्धता
भरतपुर बन्यो गठबन्धनको ‘टर्निङ प्वाइन्ट’

सागर न्यौपाने
बैशाख २२, २०७९ बिहिबार २१:९, काठमाडौँ

काठमाडौं भित्रिने–बाहिरिने प्रमुख नाकाको रुपमा रहेको चितवनको भरतपुर  पूर्व–पश्चिम यात्राको भौगोलिक ‘टर्निङ प्वाइन्ट’ हो। 

तर, अब भरतपुर भौगोलिक मात्र होइन, पाँचदलीय सत्ता गठबन्धनको राजनीतिक ‘टर्निङ प्वाइन्ट’ समेत बन्न पुगेको छ।

स्थानीय तहको निर्वाचनका लागि गठबन्धन बनाएका पाँच दलले भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाललाई जिताउन गरेको हर प्रयासले त्यही देखाउँछ।

जसरी भौगोलिक नाकाका रुपमा पूर्व–पश्चिमबाट चितवन हुँदै काठमाडौं आउनुपर्छ, त्यसैगरी प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन टिक्नका लागि अब रेनु दाहाल जिताउनैपर्ने दबावमा छन् कांग्रेस र माओवादी नेताहरु।

रेनु जिते गठबन्धन अगाडि जानेछ भने हारेमा धरमर हुने देखिन्छ। 

भरतपुरमा कांग्रेसकै पुराना नेता जगन्नाथ पौडेलले रेनु विरुद्ध उम्मेदवारी दिएका छन्। उनी पार्टीले फिर्ता हुन आग्रह गर्दा पनि मानिरहेका छैनन्।

कांग्रेसकै पुराना नेताले बागी उम्मेदवारी दिएपछि रेनु दाहाल हार्ने हुन् कि भन्ने चिन्ताले गठबन्धनमा खैलाबैला मच्चिएको छ।

तर, नेपाली कांग्रेस चितवनले दोस्रो पटक पनि महानगर प्रमुखको उम्मेदवार बनेकी रेनुलाई जिताएर पठाउन तयार रहेको बताएको छ, उसको एउटै सर्त छ– हिजो (२०७४)को जस्तो धोका नहोस्। 

‘मैले विनम्रतापूर्वक आदरणीय पुष्पकमल दाहाल प्रचण्डलाई भन्नैपर्छ, हाम्रो पार्टीको सोझो सभापति जे बोल्नुहुन्छ, त्यही गर्नुहुन्छ, भोलिका दिनमा चुनाव जितिसकेपछि हिजोको जस्तो धोका दिने ढाँट्ने काम नहोस्।’

नेपाली कांग्रेस चितवनका प्रभावशाली नेता जीतनारायण श्रेष्ठले बिहीबार पाँच दलीय गठबन्धनको चुनावी सभामा प्रचण्ड र कांग्रेस प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको सामुन्नेमै भनेका भनाइ हुन् यी।

सोही कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले रेनुलाई जिताउन तयार भए पनि पाँचदलीय सत्ता गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्म पुग्ने ग्यारेन्टी खोजे। उनले पाँचवर्ष अगािड प्रचण्डले धोका दिएको स्मरण पनि गरे।

‘पाँच वर्षअघि माओवादीलाई कांग्रेसले सघाएपछि एमालेतिर मिलेको हामीले भुलेका छैनौँ’, गुरुङले भने, ‘पद प्राप्त भएपछि गठबन्धन भंग हुनु भएन। गठबन्धनको निरन्तरताको ग्यारेन्टी हामीलाई चाहिन्छ।’

कांग्रेस नेता गुरुङ तिनै हुन्, जो केहीदिन अघिसम्म कांग्रेसले निस्कासन गरेका बागी उम्मेदवार जगन्नाथ पौडेलको पक्षमा थिए।

यसअघि जीतनारायणले पनि यसपटक कांग्रेसले रुखबाहेक अन्य चिन्हमा भोट नहाल्ने घोषणा गरेका थिए।

‘चितवन कांग्रेसले यो चोटि रुखमा बाहेक अन्त भोट हाल्दैन,’ करिब एक महिना अघि जीतनारायणले आक्रोशित हुँदै भनेका थिए। 

तर, अहिले जीतनारायण कांग्रेसको केन्द्रीय निर्देशन विपरीत गएनन्। उनले बिहीबारको सभामा रेनु दाहाललाई जिताएर पठाउने ठोकुवा गरे।

‘हामी निर्धक्क छौं, भरतपुर महानगरपालिकामा रेनु दाहाल लगायत सिंगो टिमलाई नेपाली कांग्रेसले जिताउँछ, विश्वास दिलाउन चाहन्छु,’ उनले भने। 

यसकारण भरतपुर ‘टर्निङ प्वाइन्ट’ 
गठबन्धनले चितवनलाई चुनावको इपिसेन्टरकै रुपमा लिएको छ। 

पाँच दलीय गठबन्धनका शीर्षनेताहरु चितवन केन्द्रित भएबाट उनीहरुले भरतपुरलाई प्रतिष्ठाको विषय बनाएको देखिन्छ।  

बिहीबारको चुनावी सभामा प्रधानमन्त्री देउवादेखि प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, चितवन कांग्रेसका नेताहरुले रेनु दाहाललाई जिताउने प्रतिवद्धता गर्नुको चुरो कारण यही हो।   

स्थानीय चुनावमा गठबन्धन बनाएका पाँच दलको एकता कति परसम्म जान्छ भन्ने कुरा भरतपुर महानगरपालिकाको नतिजामा निर्भर छ।त्यही भएर कांग्रेसले सबै शक्ति रेनु जिताउन लगाएको देखिन्छ।  

बिहीबार प्रधानमन्त्री देउवाले रेनुको प्रशंसा गर्दै भने,  ‘भोलि हाम्रा पार्टीका साथीहरुले अवसर पाउनुहुन्छ,’ देउवाले भने, ‘आज यस्तो राम्रो काम गर्ने (रेनु) लाई हरायो भने यहाँका जनताले के भन्लान् ? देशवासीले कसो भन्लान्?’

देउवाले गठबन्धन भत्काउने प्रयास भरतपुर र चितवनबाट भएको बताए।

‘मैले गठबन्धनको विरोधको आवाज यहाँ मात्रै सुनेँ, अन्त सबैतिर गठबन्धनको पक्षमै माहोल देखिएको छ’, देउवाले भने, ‘अन्त विरोध छैन, यहाँ मात्रै विरोध छ। गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। यदि त्यसो भयो भने हाम्रो पार्टी पनि बिग्रिन्छ, खत्तम हुन्छ।’

प्रचण्डको जयनेपाल र देउवाको प्रतिवद्धता 
नेपाली कांग्रेस आगामी संघीय निर्वाचनमा सबैभन्दा बढी सिट जितेर आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छ। उसलाई बहुमत ल्याउन पनि गठबन्धन चाहिन्छ।

२०७४ मा माओवादीसँग मिलेकैले एमालेले झण्डै दुईतिहाई सिट जितेको थियो। यही कुरा देखेको कांग्रेस स्थानीय तहदेखि गठबन्धन बनाएर संघ र प्रदेश एकलौटी सरकार बनाउने योजनामा छ।

तर, उसलाई एकलौटी सिट जित्न गठबन्धन आवश्यक छ। एक्लै–एक्लै लडेको अवस्थामा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने र अर्काे दलसँग मिलेर सरकार बनाउँदा कतिपय योजना एकलौटी बनाउन नसक्ने देखेरै अहिले जसरी पनि गठबन्धन जोगाउने योजनामा कांग्रेस छ।

भरतपुरको चुनावी सभामा देउवाले रेनुको प्रशंसा गर्दै मत मागे। गठबन्धन टुटाउने षडयन्त्र भएको बताउँदै सचेत रहन आग्रहसमेत गरे।

‘गठबन्धन टुटाउने ठूलो षड्यन्त्र भइरहेको छ, यसमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ,’ ‘कुनै हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुनै सक्दैन, हुँदै हुँदैन। यो कुरामा तपाईँहरु स्पष्ट हुनुस्।’ 

उनले ‘प्रचण्ड’ सहज मानिस भन्दै फुर्क्याए,  ‘प्रचण्डजी यति सजिलो मानिस हुनुहुन्छ, तपाईंहरुले चिन्नु भा छैन।’ 

प्रचण्डले पनि भरतपुरमा रेनु दाहाल जिताउन निर्णायक रहेको कांग्रेसकै शैलीमा जय नेपाल भनेर भाषण सुरु गरे। उनले कांग्रेसको मनोविज्ञान बुझ्ने प्रयास गरे। 

चितवनमा रेनु, काठमाडौंमा सिर्जना 
बिहीबार चितवनमा प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपाल र पौडेल रेनुका लागि मत मागिरहेका बेला काठमाडौंमा कांग्रेसकी सिर्जना सिंहलाई मत माग्दै थिए माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई।

चितवनका मतदातासँग देउवाले रेनुले राम्रो काम गरेको भन्दै उनलाई नजिताए समाजले के भन्लान् भनेर प्रश्न गर्दा काठमाडौंमा श्रेष्ठ र भट्टराई सिर्जनाको व्यक्तित्वको प्रशंसा गरिरहेका थिए।

गठबन्धनलाई परैसम्म लैजाने योजनासहित कांग्रेसले अहिले प्रचारमा सबै शक्ति लगाएको छ। 

कांग्रेसका नेताहरुका अनुसार यदि भरतपुरमा रेनु दाहाल हारेमा गठबन्धन भत्कन्छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्काे गठबन्धन गर्छन्, त्यसबेला कांग्रेसलाई निकै महंगो पर्छ।
प्रचण्डले बिहीबार चितवनको सभामा त्यसको संकेत गरिसकेका छन्। 

‘एमालेका साथीहरु अहिले पनि मिलौँ भन्दै आएका छन,  मैले हुन्न भनेको छु। म अहिले यही गठबन्धनलाई १५/२० वर्षसम्म लैजाने योजनामा रहेको जवाफ दिएको छु,’ प्रचण्डले भने, यो गठबन्धन राष्ट्रको आवश्यकता हो, लोकतन्त्र र विकासको आवश्यकता हो भनेर नबुझेर भोट हाल्नु भएन भने देश दुर्घटनामा जान सक्छ।’

०७४ को स्थानीय निर्वाचनमा भरतपुरमा रेनु दाहाललाई कांग्रेसले ‘धोका दिएको’ भन्दै प्रचण्डले संघीय र प्रदेश निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेका थिए।

तालमेल सफल भएपछि २०७५ जेठ ३ गते माओवादी र एमालेबीच एकता भएर नेकपा पनि बन्यो। तर, २०७७ फागुन २३ गते सर्वाेच्चले नेकपा भंग गरिदियो। दुई पार्टी अस्तित्वमा आए। 

फेरि गठबन्धन बनेर रेनु दाहाललाई चुनाव जिताएपछि बीचमा धोका दिन नपाइने कांग्रेसको सर्त छ।

यो सर्त पालनामा को जिम्मेवार हुन्छ? त्यो वैशाख ३० गते हुने चुनावी परिणामले देखाउनेछ। 

तर, जसरी काठमाडौंबाट पूर्व–पश्चिम लाग्ने बाटो चितवन पुगेपछि छुट्टिन्छ, त्यसरी गठबन्धनको भविष्य पनि भरतपुरको परिणामले देखाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .