ad ad

निर्वाचन विशेष


धनगढी सभाले गठबन्धनको विवाद छताछुल्ल, ब्यानरमा विशाल, संख्यामा सय

धनगढी सभाले गठबन्धनको विवाद छताछुल्ल, ब्यानरमा विशाल, संख्यामा सय

यज्ञराज जोशी
बैशाख २६, २०७९ सोमबार २२:५५, धनगढी

सुदूरपश्चिमको एकमात्रै उपमहानगरपालिका धनगढीमा सोमबार सत्ता गठबन्धनले आमसभामा राखेको थियो।  

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, कांग्रेस सह–महामन्त्री फरमुल्लाह मन्सुर र नेतृ आरजु राणा पनि पुगेका थिए।

धनगढीका मेयर र उपमेयर उम्मेद नृपबहादुर वड र शान्ति अधिकारीसहित प्रदेश र जिल्लाका दर्जनौँ नेताहरु उपस्थित भएकाले ब्यानरमै ‘पाँच दलीय गठबन्धनको विशाल आमसभा’ लेखिएको थियो।

तर, धनगढी रंगशालामा भएको सभामा उपस्थिति भने ब्यानरमा लेखिएको जस्तो विशाल नभई केही सय संख्यामा सीमित थियो।

गर्मी छल्न लगाइएको टेन्टभित्र पनि मुस्किलले मानिसहरु भरिएका थिए। त्यसबाहेक केही मानिसहरु मञ्चभन्दा पर रुखको छहारी र ओतमा बसेर भाषण सुनिरहेका थिए।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा भएको आमसभामा पाँच सयको हाराहारीमा उपस्थिति रहेको कार्यसमितिका सचिव नृप सुनार नै स्वीकार्छन्।

उनले कांग्रेसले जसरी गठबन्धनका अन्य दलले कार्यकर्ता नल्याइदिँदा अपेक्षित रुपमा जनसहभागिता नभएको पनि बताए।

‘सबैतिर छरिएका हेर्ने हो भने आजको कार्यक्रममा पाँच सय हाराहारीमा मान्छे थिए। गर्मीले पनि यस्तो भयो। गठबन्धनका अरु दलले कांग्रेसका जसरी मानिस ल्याउनुपर्थ्यो, त्यसमा कमी भएको जस्तो लाग्छ,’ सचिव सुनारले भने, ‘त्यसबाहेक सबै दलहरु वडा–वडामा भएकाले उनीहरु प्रचार छोडेर कार्यक्रममा नआउने स्थिति भएको होे।’  

सुनारले आमसभाका लागि गाडी रिजर्भ गरेर गाउँगाउँबाट मानिसहरु नओसारेकाले उपस्थिति कम देखिएको हुनसक्ने बताए।

दिउँसो १ बजेका लागि तय आमसभामा त्यसबेलासम्म मञ्च अघिल्तिर २०–३० जनामात्रै पुगेका थिए। निर्धारित समयभन्दा डेढ घण्टा ढिलो गरि देउवा कार्यक्रमस्थलमा प्रवेश गर्न लाग्दा उपस्थिति न्यून देखिएपछि उद्घोषकले छरिएका सबैलाई टेन्टमा आइदिन आग्रह गर्नुपरेको थियो।  

प्रचण्ड र देउवा बोल्दा टेन्ट भरिभराउजस्तो देखिएको थियो। तर उनीहरु मन्तव्य सकेर हिँडेसँगै टेन्ट  खाली हुँदा कार्यक्रम खल्लो भएको थियो।

धनगढीमा आयोजित सभामा देउवा र प्रचण्ड

कांग्रेसमा चर्को असन्तुष्टि
कतिपयले मेयरमा नृपबहादुर वडलाई दोहोर्‍याउँदा जित्ने आकलन गरिरहँदा उपमेयरमा भागबन्डा गर्ने केन्द्रको निर्णयबाट असन्तुष्ट एक समूहले कार्यक्रम बहिष्कार गरेको रुपमा समेत अर्थ्याएका छन्।

धनगढीको मेयरका लागि कांग्रेसभित्र ७ जना आकांक्षी थिए। केन्द्रले बाँकीलाई वेवास्ता गर्दै देउवा र प्रधानमन्त्री पत्नी आरजुनिकट वडलाई टिकट दिने निर्णय गरेको थियो।

उक्त निर्णयबाट असन्तुष्ट अर्का आकांक्षी कृष्णबहादुर महराले यसअघि नै पावर देखाउन उठाइएका मेयर अफ्ठ्यारोमा पर्नसक्ने चेतावनी दिइसकेका थिए। महरा गत स्थानीय निर्वाचनमा पनि मेयर पदका दाबेदार थिए।

‘कतिपय ठाउँमा मिलाएको भए राम्रो रिजल्ट आउने थियो तर मिलाउनु र चुनाव जिताउनु भन्दा पनि आ–आफ्ना मान्छेलाई टिकट दिएर पावर शो गर्ने प्रवृत्तिका कारण मेयर र वडाअध्यक्षसमेत अप्ठ्यारोमा परेर वडामा मिश्रित परिणाम आउने खतरा देखिराछु,’ उनले लेखेका छन्।  

यस्तै नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारीले पनि गठबन्धनप्रति असन्तुष्टि जनाउँदै उपमेयरमा उम्मेदवारी हालेका छन। त्यसबाहेक टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै वडानम्बर ४ का अध्यक्ष दीपकबहादुर थापा क्षेत्रीसहित ५७ जना कांग्रेसका क्रियाशिल सदस्यले राजीनामा दिएका थिए।

शीर्षस्थ नेताहरु नै उपस्थित आमसभामा केही सयको संख्यामा मात्रै उपस्थिति देखेपछि अन्य दल तथा स्वतन्त्र उम्मेदवारले त्यसलाई गठबन्धनलाई जनताले नरुचाएको ढंगबाट अथ्र्याएका छन।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद जोशीले गठबन्धन कुनै जनताको हितको एजेन्डामा नभई व्यक्तिलाई जिताउन बनाइएकाले जनताले नस्वीकार्ने बताए।

‘जनताको कुन एजेन्डा सम्बोधन गर्न गठबन्धन निर्माण भएको हो? त्यो जनताले हेर्छ। गठबन्धनले कुनै एक व्यक्ति र पार्टीले जित्ला तर प्रजातन्त्रमा जनताले जित्ने हो,’ जोशीले भने, ‘जनताले जित्ने गरी एलायन्स बनाइयो भने त्यसको अर्थ रहन्छ। व्यक्ति जित्ने, जनता हार्ने एलायन्स हो भने त्यो एलायन्स स्वीकार हुँदैन। गठबन्धनको अवस्था यस्तो दयनीय छ कि त्यसको प्रभाव आजको कार्यक्रमले पनि देखाएको छ।’

धनगढीको मेयरमा कडा प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले नेताको गठबन्धनलाई जनताले नरुचाएको बताए।

‘देश, समाज र जनताको हितका लागि गठबन्धन भएको भए स्वीकार गर्थे। बाँडीचुँडी खान गरिएको गठबन्धनलाई जनताले स्वीकारेको अवस्था होइन,’ हमालले भने, ‘जनताले गठबन्धन गरेका छैनन्। नेताले मात्रै गरेका हुन भन्ने आजको उपस्थितिले पनि देखायो नी।’

गठबन्धन दल नै छक्क!
सुदूरपश्चिमको सबैभन्दा ठूलो दल एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीर्घ सोडारीले पनि सभाको उपस्थितिप्रति चासो दिएका छन्।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री समेत रहेका उनले आजको उपस्थिति देखेर कटाक्ष गरे। उनले गठबन्धनबाट दूधपोखरी बनाउन खोज्दा पानी पोखरी हुने डर देखिएको भन्दै व्यंग्य गरे।

‘यो सभाको उपस्थिति देखिरहँदा मलाई संकोच लाग्यो। दूधपोखरी बनाउन जाँदा कतै पानी पोखरी त हुने होइन,’ उनले हाँस्दै भने, ‘वडामा मित्रवत प्रतिस्पर्धाका नाममा अनेक समस्या खडा भएका छन्। कांग्रेसका सबै कार्यकर्ता गठबन्धनका पक्षमा इमान्दारपूर्वक लाग्ने हो भने जित सुनिश्चित छ। तर ठूलो पार्टीले शहरको ठूलो चौरमा गरेको कार्यक्रममा त्यहाँबाट त्यो गइहाल्या, यहाँबाट यो गइहाल्या भन्दाभन्दै यो पानी पोखरीमै सीमित नहोस।’

अत्यन्त न्यून उपस्थिति देखेपछि आमसभामा नेपाली कांग्रेस सभापति देउवाले बागी उम्मेदवारहरूलाई चेतावनी दिँदै कुनै पनि हालतमा नछोड्ने बताए। उनले कारबाही गरेर पार्टीमा बस्नै नदिने पनि भने।

‘योभन्दा पहिले पनि बागी उम्मेदवारले गर्दा हामी हारेका हौँ। कैलालीको कहाँ कहाँ विवाद भएको छ, मिलाउनुस्’, देउवाले भने, ‘पार्टीले आधिकारिक उम्मेदवार तोकेकालाई सहयोग गर्नुहोस्। यदि त्यसो गर्नु हुन्न भने कसैलाई पनि छोड्दैनौँ। कारबाही गरिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .