ad ad

निर्वाचन विशेष


तराईमा ५ मिनेटमा सुरक्षाकर्मी पुग्ने, पहाड र हिमाललाई हेलिकप्टर तयार

तराईमा ५ मिनेटमा सुरक्षाकर्मी पुग्ने, पहाड र हिमाललाई हेलिकप्टर तयार

फाइल फाेटाे


सुमन पुरी
बैशाख २८, २०७९ बुधबार १४:४३, विराटनगर

प्रदेश १ का ९० प्रतिशत मतदान स्थलमा सुरक्षाकर्मी, कर्मचारी र मतदान सामग्री पुगेका छन्। १० प्रतिशत मतदान स्थलमा भने आज बेलुकासम्ममा सुरक्षाकर्मी र कर्मचारी पुग्ने छन्। 

तराई र पहाडी जिल्लाका मतदान स्थलमा हिजो नै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको भएपनि हिमाली जिल्लाका केही मतदान स्थलहरुमा भने आज बेलुका सम्ममा सुरक्षाकर्मी पुग्ने प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार विसीले बताए। 

उनले वैशाख ३० गते हुने निर्वाचनका लागि आवश्यक तयारी पुरा भएको समेत बताए। प्रदेश १ मा नेपाल प्रहरीका १० हजार ४० जना प्रहरी चुनावको सुरक्षामा खटिने छन्। यस्तै, १६ हजार ६ सय जना म्यादी प्रहरी पनि सुरक्षामा खटिने छन्। 

सुरक्षामा खटिने प्रहरीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामानहरु समेत पठाइ सकिएको विसीले बताए। 

प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थलमा ४ हजार ५१ मतदान केन्द्र रहेका छन्। ती केन्द्रको सुरक्षा पहिलो घेरामा नेपाल प्रहरी र म्यादी रहने छन्। 

ती मध्ये ३ सय २१ वटा मतदान स्थललाई अति संवेदनशील मतदान केन्द्रको रुपमा लिइएको छ। यस्तै, प्रदेशका ८ सय ४९ वटा मतदान स्थललाई संवेदनशील मतदान स्थलको रुपमा राखिएको छ। 

‘विगतको निर्वाचनको अनुभव, अहिलेको सुरक्षाको अवस्था, भौगोलिक विकटता र मतदान स्थलको बनौटका आधारमा हामीले मतदान स्थलको अवस्था वर्गीकरण गरेका हौँ’ प्रदेश १ का प्रहरी प्रमुख विसीले भने, ‘यस पटक भौगोलिक विकटता र मतदान स्थलको अवस्था हाम्रा लागि सुरक्षा चुनौती हो ।’ 

अघिल्लो निर्वाचनमा जस्तो भूमिगत शसस्त्र समूह, र निर्वाचनमा भाग लिन नचाहने पार्टीहरुको सुरक्षा चुनौती यो प्रदेशमा न्यून छ। 

केही महिनाअघि हिमाल सुरक्षा परिषदका नाममा विस्फोटक पदार्थ राख्ने काम भएको भएपनि त्यो समूहमा संलग्नलाई पक्राउ गरिएकाले सुरक्षा चुनौती नभएको विसीले बताए। 

प्रदेश १ को ताप्लेजुङ, संखुवासभा, सोलु र ओखलढुंगामा विकटताका कारण समस्या छ। केही मतदान स्थलहरुमा सञ्चार सुविधा समेत नभएका कारण सुरक्षा चुनौती थपिएको छ। 

सञ्चार सुविधा नभएका मतदान स्थलमा स्याटलाइट फोनसहित सुरक्षाकर्मी पठाइएको विसीले बताए। संखुवासभाको छुहाम र ताप्लेजुङको याङ्मा मतदान स्थलमा भने स्याटलाइट फोनसहित सुरक्षाकर्मी पुगिसकेको विसीले बताए। 

‘स्टेन्डवाइ’ हेलिकप्टर, तराईमा ५ मिनेटमा थप सुरक्षाकर्मी 
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि  नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने संयुक्त सुरक्षा रणनीति तयार भएको छ। पहिलो घेरामा जनपद प्रहरी र दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले मतदानस्थलको सुरक्षा गर्ने छन्। 

कुनै मतदानस्थलमा असहज अवस्था भए थप सुरक्षाकर्मी परिचालन गरिने तयारी रहेको छ।  तराईका जिल्लामा माग भएको ५ मिनेट भित्रमा थप सुरक्षाकर्मी पुग्ने तयारी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीले बताए। 

फरक फरक केन्द्र बनाएर सुरक्षाकर्मी ‘स्टेन्डवाइ’ राखिएको र आवश्यक पर्ने बित्तिकै उनीहरुलाई घटना स्थलमा परिचालन गर्ने तयारी भएको यादवले बताए। 
थप मद्दत आवश्यक परे हेलिकप्टरबाट समेत सुरक्षाकर्मी घटनास्थल पुर्याइने प्रदेश प्रहरी प्रमुख बिसीले बताए। 

नेपाली सेनाको २ नम्बर बाहिनी इटहरीमा निर्वाचनका लागि भनेर हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सो हेलिकप्टरबाट पहाडी र हिमाली जिल्लामा थप सुरक्षाकर्मी लगिने तयारी भएको छ। 
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सुरक्षा अवस्था मजबुत बनाउन आजबाट निर्वाचन नसकिञ्जेल सम्मका लागि मदिरा बेचबिखनमा रोक लगाइएको बताए। 

उनले नेपाल भारत सीमा समेत बन्द गरिएको बताए। नेपाल भारत सिमामा संयुक्त रुपमा सुरक्षा गस्ती समेत भइरहेको उनले जानकारी दिए। 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।

निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव वाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रेलियम पदार्थ बोकेको गाडी आवतजावत गर्न भने दिइने छ। 

मतदानको दिन वैशाख ३० गते भने नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ।

‘भारतसँग जोडिएका ४ वटा जिल्ला इलाम, झापा, मोरङ र सुनसरीका नाका ७२ घण्टा बन्द रहन्छ,’ प्रदेश १ का प्रहरी प्रमुख अरुणकुमार बिसीले भने, ‘अति आवश्यक परेकाहरु भारत जान पाउँछन्, तर नेपाल आउन पाउँदैनन्।’ 

साढे ३३ लाख मतदाता 
प्रदेश १ मा १६ लाख ९९ हजार ८०० पुरुष र १६ लाख ४७ हजार ५६१ जना महिलाले मतदान गर्नेछन्।  यी मतदाता मध्ये सबैभन्दा धेरै मोरङ जिल्लामा रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले जानकारी दिए।

मोरङ जिल्लामा ७ लाख १५ हजार  २२३ जना मतदाताले ३०० मतदान स्थलको ८२० मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

मोरङपछि सबैभन्दा धेरै मतदाता झापामा रहेका छन् । झापामा ६ लाख ४६ हजार २३४ जना र सुनसरीमा  ५ लाख ३४ हजार ७६५ जनाले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए।

झापामा  २८६ मतदान स्थलमा ७५५ मतदान केन्द्र र सुनसरीको १६६ मतदान स्थलका ५८१ मतदान केन्द्रबाट मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए। 

आयोगको तथ्यांक अनुसार सबैभन्दा कम मतदाता ७२ हजार ८ सय ९५ जना तेह्रथुम जिल्लामा छन् भने दोश्रो कम मतदाता हुने प्रदेश १ को जिल्लामा सोलुखुम्बु परेको छ। सोलुखुम्बुमा ८० हजार १९ जना मतदाता रहेका छन्। 

त्यस्तै ताप्लेजुङमा ८९ हजार ६ सय ८० जना मतदाता हुँदा पाँचथरमा १ लाख ८० हजार २२४ जना, इलाममा २ लाख २४ हजार ७४८ जना मतदाता रहेका छन्।

भोजपुरमा १ लाख २५ हजार ९२६ जना, धनकुटामा १ लाख १५ हजार ९६४ जना, खोटाङमा १ लाख ४३ हजार ७५२ जना मतदाताले चुनावमा भाग लिने आयोगको अपेक्षा छ।

ओखलढुङ्गामा १ लाख १७ हजार ८५ जना र उदयपुरमा २ लाख २३ हजार १३८ जना मतदाता रहेका छन्।

प्रदेश १ का मोरङ जिल्ला बाहेकका सबै जिल्लामा  मतपत्र पुर्याउने काम भइसकेको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .