ad ad

निर्वाचन विशेष


प्रदेश १ मा एमाले ठूलो दल, को को छन् मुख्यमन्त्रीका दाबेदार?

प्रदेश १ मा एमाले ठूलो दल, को को छन् मुख्यमन्त्रीका दाबेदार?

राजेन्द्र राई, इन्द्र आङ्बो, हिक्मत कार्की र अमृत अर्याल


ध्रुव भट्टराई
मंसिर १०, २०७९ शनिबार १७:३८, इटहरी

प्रदेश १ मा नेकपा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ। प्रदेश सभाका ४२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसक्दा एमालेले १९ सिटमा जित र ६ मा अग्रता बनाएको छ। यस्तै दोस्रोमा कांग्रेसले १२ सिटमा जित ४ मा अग्रता बनाएको छ।

माओवादी केन्द्रले ६ स्थानमा जित निकालेको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ। राप्रपाले दुई र नेकपा एसले तीन स्थानमा जित निकालेको छ।

सत्ता गठबन्धन हुँदाहुँदै पनि एमालेले प्रदेश १ मा आफ्नो प्रभाव जमाइराख्न सफल भएको हो। एमाले यसअघि पनि प्रदेश सभामा ४० सिट सहित ठूलो दलका रुपमा रहेको थियो।

समानुपातिकतर्फ पनि एमाले ३ लाख बढी मत ल्याएर सबैभन्दा अग्रस्थानमा छ।

तत्कालीन समयमा ५१ मध्ये १० सांसदले पार्टी छाडेपछि एमाले प्रदेश सभाको सबैभन्दा ठूलो दल कायम रहे पनि सरकार अल्पमतमा परेको थियो। 

०७४ सालको निर्वाचनमा प्रदेश नम्बर १ मा प्रत्यक्षतर्फ कुल ५६ मध्ये ३६ सिट जितेको एमालेले समानुपातिकमा १५ सिट पाएर ५१ सिटसहित एकल बहुमत पाएको थियो। कांग्रेस प्रत्यक्षमा ८ र समानुपातिक १३ सहित २१ सिट पाएर दोस्रो भएको थियो भने माओवादीले प्रत्यक्ष १० र समानुपातिक ५ सहित १५ सिट पाएको थियो।

प्रत्यक्षमा एक सिट जितेको संघीय समाजवादी फोरमले समानुपातिकमा २ सिट सहित ३ सिट पाएको थियो। 

९२ सदस्यीय प्रदेश सभामा पार्टी विभाजनपछि एमाले सरकार ढलेको थियो। त्यसपछि नेकपा एकीकृत समाजवादीको नेतृत्वमा गठबन्धनको सरकार बनेको थियो।

प्रदेश १ मा सरकार निर्माणका लागि  ४७ सांसद आवश्यक पर्छ। तर प्रदेश १ मा कुनै पनि दलले एकल सरकार बनाउने सक्ने अवस्था देखिँदैन।

मुख्यमन्त्रीको दौडमा को को?
प्रदेश १ को सरकारको नेतृत्वमा कांग्रेसको दाबी रहने देखिन्छ। गठबन्धनभित्र कांग्रेस ठूलो दल हुनाले नेतृत्वमा आफ्नो दाबी रहने कांग्रेस नेताहरुले बताएका छन्। 

सँगै माओवादीले पनि सरकारको दाबी गदै आएको छ। एकीकृत समाजवादीले पनि सरकारको नेतृत्वमा दाबी गर्ने सम्भावना उत्तिकै देखिन्छ। किनकि अहिले सो पार्टीकै नेतृत्वमा सरकार छ।

यदि प्रदेश १ मा कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा  कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मुख्यमन्त्री प्रमुख दाबेदार हुनेछन्। मुख्यमन्त्री बन्नकै लागि उनी प्रदेश सभामा उठेका हुन्।

त्यस्तै, भीम पराजुली, हिमाल कार्की, केदार कार्की पनि मुख्यमन्त्रीका दाबेदार हुन्। उनीहरु विजयी भइसकेका छन्। मुख्यमन्त्रीको दाबी गरेका गुरुराज घिमिरे भने पराजित भए। मुख्यमन्त्रीकै आकांक्षी राजीव कोइराला पनि पछि परेका छन।

नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव अर्याल समानुपातिक सूचीमा पहिलो नम्बरमा छन्। उनी पनि मुख्यमन्त्रीकै दाबेदारीमा छन्।

सत्ता बाडफाँटमा प्रदेश १ को सरकारको नेतृत्व माओवादीको भागमा परेको खण्डमा सो पार्टीका तर्फबाट एक्लो दाबेदारजस्तै छन्, इन्द्रबहादुर आङ्बो। माओवादीबाट अहिलेसम्म अरु कसैले मुख्यमन्त्रीको दाबी गरेका छैनन्।

समाजवादीको भागमा परे पुनः राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन्। 

ठूलो दलको हिसाबले एमालेले सरकार बनाउने अवस्था आए एमालेबाट  हिक्मत कार्की मुख्यमन्त्री बन्ने छन्। पोलिटब्युरो सदस्यसमेत रहेका कार्की यसअघि पनि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा थिए। आगामी मुख्यमन्त्री आफू बन्ने नारा लिएरै उनी चुनावमा गएका थिए। सो पार्टीबाट मुख्यमन्त्रीको दाबी गरिरहेका जीवन घिमिरे पराजित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .