देश संघीयतामा गएपछि भोलि (शुक्रबार) दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भएको छ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहित सुरक्षा टोली खटिएको छ।
निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि सुदूरपश्चिम प्रदेशमा करिब २५ हजार सुरक्षाकर्मी खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले जानकारी दिए।
उनका अनुसार ६ हजार भन्दा बढी जनपद प्रहरी, १० हजार १ सय ६१ म्यादी प्रहरी, ४ हजार सशस्त्र प्रहरी र त्यतिकै संख्यामा नेपाली सेना पनि चुनावको सुरक्षाका लागि खटिएका छन्।
प्रदेशका १ हजार १ सय ३५ वटा मतदानस्थलमध्ये प्रहरीले सुरक्षाको दृष्टिकोणले ती मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरेको छ।
प्रहरीले यहाँका ३ सय २७ मतदानस्थललाई अतिसंवेदनशील, ४ सय ९० संवेदनशील र ३ सय १८ सामान्य मतदानस्थललाई छुट्याएर त्यसै अनुसार सुरक्षा रणनीति तयार गरेको छ।
सुरक्षाको दृष्टिले संवेदनशील र मतदाता धेरै भएको मतदान केन्द्रमा ५ देखि १७ जना सुरक्षाकर्मी खटिएका छन्। मतदानस्थलको पहिलो घेरामा जनपद प्रहरी र म्यादीले सुरक्षा दिनेछन्।
‘त्यस्तो सुरक्षा चुनौती खासै छैन, केही ठाउँमा सामान्य झडप भएका छन्। व्यक्तिगत रिसिबीलाई चुनावमा राजनीतिकरण गर्न खोजिएको देखिन्छ’ एसएसपी रावले भने, ‘त्यस्तै प्रकारका झडप हुनसक्ने देखिएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।’
प्रत्येक पालिकामा नेपाल प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा दुई वटा ‘मोबाइल टोली’ गरेर प्रदेशभर १ सय ७७ टोली खटिएका छन्। प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा भने तीनवटा मोबाइल टोली खटिएका छन्।
विगतको निर्वाचनको अनुभव, अहिले सुरक्षा अवस्था र भौगोलिक विकटताले प्रदेशको पहाडी क्षेत्रका जिल्ला बझाङ, बाजुरा, बैतडी र दार्चुलाका केही स्थानलाई अतिसंवेदनशील सूचीमा राखिएको छ।
त्यहाँ यदी तत्काल थप सुरक्षाकर्मी पठाउनु पर्ने भए हेलिकप्टरबाट पनि पठाउने सकिने व्यवस्था मिलाइएको छ। त्यसका लागि ४/५ ठाउँमा हेलिप्याड पनि निर्माण गरिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया