निर्वाचन विशेष


स्थानीय निर्वाचन विचारधारामुक्त राज्याभिषेक हो : सिके लाल

‘नयाँ पुस्ताका मतदाताले प्रजातन्त्रलाई बलियो बनाउन खासै काम गर्दैनन्’
स्थानीय निर्वाचन विचारधारामुक्त राज्याभिषेक हो : सिके लाल

विश्लेषक सीके लालसँग स्थानीय चुनावको ‘इन्जिनियरिङ’(तस्बिरः विशाल कार्की)


जेवी पुन मगर
बैशाख ३० , काठमाडौँ

चर्चित लेखक एवं राजनीतिक विश्लेषक सिके लाल इन्जिनिरिङ पढेका वौद्धिक व्यक्तित्व हुन्, जसले नेपालको राजनीति र समाजको इन्जिनियरिङ पनि मज्जाले बुझेका छन्।

स्थानीय चुनावको मौन समयलाई उपयोग गर्दै हामीले विश्लेषक सिके लालसँग स्थानीय चुनावको ‘इन्जिनियरिङ’ गर्ने प्रयास गर्यौँ। सामाजिक, सांस्कृतिक, वैचारिक अनि राजनीतिक हिसाबले चुनावलाई कसरी हेर्ने ? यसैमा केन्द्रित रहेर हामीले उनीसँग अन्तरसम्वाद गरेका छौँ।    

नेपालमा स्थानीय चुनावको विशेषताबारे सिके लालले केही रोचक विश्लेषण सुनाए। स्थानीय चुनाव राजनीतिक विचारधारामा भन्दा पनि नातागोतामा बढी भर पर्ने उनले बताए।

‘विचारधारा स्थानीय निर्वाचनमा पटक्कै महत्वपूर्ण छैन। किनकि सबैजना चिनेजानेका हुन्छन्। यो प्रदेश सभाको अथवा संसदको चुनावजस्तो होइन’ उनले भने, ‘यो राजनीतिक विचारधारामुक्त निर्वाचन हो।’

चुनावको सांस्कृतिक पक्षचाहिँ चाडबाडजस्तै रमाइलो हुने उनले विश्लेषण गरे। नागरिकको राजनीतिक अधिकार एवं मनोवैज्ञानिक हिसाबले यो चुनाव ‘राजाको राज्याभिषेक जस्तै’ हुने गरेको उनको विश्लेषण छ।

युवा पुस्ताका मतदाताप्रति भने विश्लेषक लाल खासै उत्साही देखिएनन्।

नयाँ पुस्ताका मतदाताका सन्दर्भमा सोधिएको प्रश्नमा उनले भने, ‘यसले प्रजातन्त्रलाई बलियो बनाउन खासै काम गर्दैन। किनभने, यस्तै प्रवृत्तिले गर्दा त मार्कोसले फिलिपिन्समा जितेर आए। युपीमा योगी मुख्य मन्त्रीमा जितेर आए।’

प्रस्तुत छ राजनीतिक विश्लेषक लालसँग नेपालखबरका लागि निर्वाचन सम्पादक जेवी पुन मगरले गरेको भिडिओ वार्ताको सम्पादित अंश :  

नेपालमा चुनाव त हिजो पनि हुन्थ्यो, अहिले संघीयतामा गइसकेपछि जनतामा चुनावप्रति जुन उत्साह देखिएको छ, यो जनताले आफ्नो अधिकारको अधिकतम उपयोग गर्न पाएको संकेत हो ?
सबैभन्दा पहिलो कारण समय नै हो। किनकि, कोरोनापछिको त्रास बल्ल कम भएको अवस्था हो। अर्को, मान्छेले जुनसुकै बहानामा पनि गुम्सिएर बसेको काठमाडौंबाट बाहिर निस्कन चाहन्छन्। मानिसहरु कि त सांस्कृतिक कारणले गाउँ फर्किन्छन्, कि राजनीतिक कारणले। या त सामाजिक तथा आर्थिक कारणले गाउँ फर्किन्छन्।

सबैभन्दा पहिले सांस्कृतिक कारणलाई लिउँ–
यो निर्वाचन भनेको एउटा यस्तो चिज हो, जसले पर्वको माहोल सिर्जना गर्छ। पर्वको माहोलमा दुई–तीनवटा कुरा हुन्छ। एउटा, पहिलेबाटै थाहा हुन्छ कि के हुन्छ। आनन्द हुन्छ, रमाइलो हुन्छ, नाचगान हुन्छ, भेटघाट हुन्छ।

त्यो सँगसँगै धर्म भएको अनुभूति पनि हुन्छ। दसैंमा टीका लगायो भने धर्म पनि हुने, भेटघाट पनि हुने रक्सी मासु खान पनि पाइने। निर्वाचनलाई पनि त्यही रुपमा स्थापित गरिएको छ। यसलाई एउटा सांस्कृतिकरुपमा अर्थ लगाउने हो भने आफ्नो नागरिक कर्तव्य निर्वाह गरेपछि धर्मजस्तै हुने भयो। अर्को रमाइलो पनि हुने भयो।

यो कथ्य निर्माणमा पञ्चायतकालबाटै ठूलो लगानी भएको छ। एउटा परम्परा जस्तो बस्न गएको छ, यो नागरिक कर्तव्य हो, कर्तव्यको पालन गरौं।

योपालि बाजागाजादेखि लिएर भित्ते लेखन अलि कम भएको छ। नभए भित्ते लेखन, लाउड स्पिकरमा गीत बजाउनेदेखि रमाइलो वातावरण सिर्जना हुन्छ। त्यसैले सांस्कृतिक कारणका रुपमा यसलाई लिन सकियो।

दोस्रो : यसलाई सामाजिक रुपमा हेरौं–
सामाजिक रुपमा हाम्रो समाजमा परिवार, गोत्र, जातको कुरा गरौं। आफ्नो सांस्कृतिक समूहको कुरा गरौं। यसका सम्बन्धहरु असाध्यै बलिया छन्।

कसैलाई, कतै कुनै अप्ठ्यारो परेको छ भने सबै देखा पर्नुपर्छ, अप्ठ्यारो बेलामा सहयोग दिन आएन र खुशीको बेलामा सहभागी हुन आएन भने सामाजिक सम्बन्ध के भयो र भन्ने छ। त्यसले गर्दा परिवारमा जात मिल्ने, भाषा मिल्ने, धर्म मिल्ने अथवा समुह मिल्ने उम्मेदवार छ भने काम छोडेर भए पनि गइदिनुपर्छ भन्ने छ। आफ्नो मान्छे उम्मेदवार भएका बेला पनि नजाने ? भन्ने किसिमको सामाजिकता पनि असाध्यै बलियो छ।

तेस्रो : राजनीतिक कारण–
राजनीतिमा दुई–तीनवटा कुरा आउँछन्। एउटा त विचारधाराको कुरा आउँछ। दोस्रो–कस्तो वातावरणमा, कुन राजनीतिक माहोलमा हुर्किएको छ भन्ने कुरा आउँछ। तेस्रो–आफ्नो कुन राजनीतिक आस्थाप्रति झुकाव छ भन्ने कुरा आउँछ। चौथो– राजनीतिक सन्तुष्टि के कुराले दिन्छ, त्यो आउँछ।

स्थानीय चुनावमा सामाजिक कारणले वैचारिकता महत्वपूर्ण छैन। किनकि परिवारको सम्बन्ध त बलियो छ। परिवारको सम्बन्ध बलियो भएपछि विपरीत विचारधाराको पक्षमा देखिनु भएन। परिवारको सम्बन्धले जित्ने भयो, जातको सम्बन्धले जित्ने भयो।

विचारधारा स्थानीय निर्वाचनमा पटक्कै महत्वपूर्ण छैन। किनकि सबैजना चिनेजानेका हुन्छन्। यो प्रदेश सभाको अथवा संसदको चुनावजस्तो होइन। भोट खसाल्ने मतदाता, उम्मेदवार सबै चिनेका हुन्छन्। त्यसैले यो राजनीतिक विचारधारामुक्त निर्वाचन हो। राजनीतिक विचारधारा मुक्त निर्वाचन भएपछि मतदातालाई मै महत्वपूर्ण हो भन्ने लाग्छ।

स्थानीय निर्वाचनको लामो इतिहास छ। सन् १९५० को दशकमा पहिलो स्थानीय निर्वाचन भएको हो। त्यसपछि नेपालमा ३० वर्षसम्म हरेकपटक निर्वाचन भएको छ।

त्यतिबेला गाउँपञ्चायत भनिन्थ्यो। गाउँ सभाको हुन्थ्यो। त्यसबाट गाउँ पञ्चायत गठन हुन्थ्यो। जिल्ला सभा, जिल्ला पञ्चायत, अञ्चल सभा, राष्ट्रिय पञ्चायत यो किसिमको चुनावको लामो परम्पराले गर्दा राम्रोसँग यसका बारेमा जानकारी छ। त्यो राजनीतिक महत्वले पनि मानिसहरु घर जाने नै भए।

यो सब हुँदाहुँदै पनि केही मान्छेको दलसँगको आवद्धताको तालिम पनि त भयंकर पाएका छन्। सन् १९९० पछिको हिसाव गर्दा पनि ३२ वर्ष भयो।

खास गरेर दलीय आवश्यकताअनुसार ४५ वर्षलाई युवा मान्ने हो भने १९८० को आसपास जन्मिएको पुस्तामा बहुदलीयताप्रति एकदम असाध्यै धेरै चासो छ। यसमा पनि दलको आवद्धता, आफ्नो दलको उपस्थिति जनाउनुपर्छ भन्ने भावना छ। यो अर्को राजनीतिक कारण हो।

राजनीतिक कारणमा अर्को के पनि थपिन गयो भने यदि राजनीतिक महत्वकांक्षा छ भने राष्ट्रिय राजनीतिमा एकैपटक देखा पर्न गाह्रो हुन्छ। तर, स्थानीय निर्वाचनमा देखा पर्नलाई चुनाव हार्नु–जित्नुसँग सम्बन्ध छैन। यदि कुनै महत्वपूर्ण पार्टीले उम्मेदवार मात्रै बनायो भने पनि उपस्थिति जनाउन पायो। राजनीतिक रुपमा यो पक्ष पनि महत्वपूर्ण छ।

नेपालमा निर्वाचनमा अहिलेसम्मको जुनखालको अभ्यास भैरहेको छ, यसमा जुनै व्यवस्था भए पनि व्यक्तिले सार्वभौम महसुस गरिरहेको हुन्छ?
यसलाई मैले व्यक्तिगत उत्प्रेरणको समुहमा राख्न सक्छु जस्तो लाग्छ। कारण के हो भने यो एउटा सांस्कृतिक उत्सवजस्तो हो। स्थानीय निर्वाचनलाई राजाको राज्याभिषेकसँग तुलना गर्न मिल्छ।

राज्याभिषेकको प्रकृयामा के हुन्छ भने एकजना ब्राह्मण समुदायको गुरु पुरोहितको प्रतिनिधि भएर राज तिलक गर्छन्। अर्को क्षेत्रीय समुदायको प्रतिनिधि भएर राज तिलक गर्छन्। अर्को वैश्य समुदायको प्रतिनिधि भएर राज तिलक गर्छन्।

त्यसपछि शुद्र समुदायको प्रतिनिधि भएर राज तिलक गर्छन्। एउटै दलित समुदायलाई राज तिलकमा राखिएको छैन। किनभने, हिन्दु धर्मले दलितलाई बाहिर राखेको छ।

स्थानीय निर्वाचन स्थानीय स्तरको राज्याभिषेक सरह हो। यो राज्याभिषेकमा प्रत्येक व्यक्तिलाई के लाग्छ भने म सार्वभौम छु। मेरो राज्य तिलकले राजा हुन्छ, एकदिनका लागि शक्तिशाली बनाएको छ मतदातालाई।

ब्यानर्जीले लेखेका छन्, भारतमा हरेकपटक मतदाताले मतदान गर्छन्। उनीहरुलाई थाहा छ कि यो मतदान गरेर उसको जीवनमा खासै फरक हुनेवाला छैन, तापनि मतदान गर्छ। आफ्नो जीवनमा खासै फरक पर्दैन भन्ने जान्दाजान्दै पनि मत हाल्नु भनेको त्यो एक दिनका लागि शक्तिमान ठान्नु हो।

उम्मेदवार भोट माग्न आउने बेलामा पनि म शक्तिशाली, भोट खसाल्ने बेलामा पनि म शक्तिशाली। त्यो एउटा अवधिभर जुन शक्तिको महसुस हुन्छ, त्यसले झण्डै तपस्या गरेर एउटा तपस्वीलाई जुन प्राप्तिको अनुभव हुन्छ, त्यस्तै किसिमको शक्तिशाली महसुस हुन्छ।

अब आर्थिक रुपको कुरा
निर्वाचनमा काठमाडौं छोड्नेको जुन तथ्यांक बाहिरिएको छ, यो नै एकिन होइन। कति आफ्नै हिसावले जान्छन्। कति हिँडेर पुग्ने ठाउँमा होलान्।

एउटा के हुन्छ भने, गाउँ त जानु छ। टिकट काटेर जानुपर्ने। उम्मेदवारले टिकट काटेर गाउँ जाने अवसर पनि जुटाइदिन्छ। बसुञ्जेल खानपानको पनि व्यवस्था होला। गाउँमा भेटघाट पनि हुन्छ भनेपछि यस्तो मौका कसले छोड्छ र।

यसको प्रमाण खोज्न गाह्रो छ। प्रमाण दिने हो भने सायद निर्वाचन आयोगले कारवाही पनि गथ्र्यो होला। तर, कसैले पनि मलाई पैसा तिरेर ल्याइदिएको छ भन्दैनन्। न उम्मेदवार मैले ल्याएको भन्छन्, न मतदाता मलाई फलानो उम्मेदवारले ल्याइदिएको भन्छन्। तर, पहिलो आर्थिक कारण सित्तैमा घर जाने पाउने नै हो।

दोस्रो– विभिन्न किसिमको भत्ता वितरण हो। जन्मदर्ता गराउँदा वडाध्यक्ष वा पालिकाको अध्यक्ष चाहिएला। विवाह दर्तालाई चाहिएला। सम्पत्ति चाहिएको छ भने मृत्यु दर्तालाई चाहिएला। नागरिकता, राहदानीलाई चाहिएला। एउटा न एउटा काम त परिरहन्छ।

यदि यो मतदानका बेला सम्बन्ध स्थापित भएको छ भने पैसा नै तिर्न परे पनि थोरै पैसाले काम बन्ने भयो। पैसा नतिरी हिजोआज नेपालमा कुनै पनि काम हुँदैन। तर, त्यो दर मात्रै पनि कम हुने भयो भने मान्छेलाई सहयोग हुने भयो। त्यसैले त्यो आर्थिक सम्बन्ध पनि बलियो उत्प्रेरक तत्व हो।

तेस्रो : कम चर्चामा हुने तर यथार्थ हो। सबैलाई थाहा छ, अहिलेको व्यवस्थाले आर्थिक अधिकार गाउँपालिकाहरुलाई यति धेरै दिएको छ कि ती अधिकार गाउँपालिकाको क्षमताभन्दा बढी छन्। क्षमता भन्दा धेरै भएपछि अनुगमनको व्यवस्था छैन।

सानोतिनो ठेक्का पाउने लोभ होला। आर्थिकै सहायता पाउने लोभ होला। अथवा निर्वाचनमै यदि ठेकदार, धनपतिहरू उम्मेदवार भएका छन् भने केही रकम प्राप्त गर्ने प्रलोभन पनि होला। यस्तो किसिमका आर्थिक कारणहरु पनि पर्याप्त छन्।

त्यसैले, कुनै एउटा मात्रै कारणले गर्दा यति जोसिएर मानिसहरु घर गएका होइनन्। सांस्कृतिक, राजनीतिक, सामाजिक, आर्थिक र व्यक्तिगतरुपमा शक्तिशाली ठान्ने व्यक्तिगत मनोवैज्ञानिक कारणले गर्दा मानिसमा यति धेरै उत्साह देखिएको हो।

व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भन्ने गुनासो गर्दै मानिसहरु निर्वाचनमा सहभागी किन भैरहेका छन् ?
निर्वाचन नै यस्तै हो। सालभरि नेतालाई गाली गर्ने हो। तर, यो एउटा अनुष्ठान हो। यो अनुष्ठानमा सहभागी पनि हुने, यसको प्रसाद ग्रहण पनि गर्ने। त्यसैले यसले (चुनावले) के गर्छ भन्दा पनि यो के हो भन्नेमा सीमित हुन गएको छ। यसले यथास्थितिलाई नै बलियो बनाउने हो।

तर, यथास्थितिलाई बलियो बनाउँछ भन्ने थाहा हुँदाहुँदै पनि मैले मत नदिए पनि यथास्थिति बलियो हुने हो, मैले दिए पनि बलियो नै हुने हो भन्ने भएपछि आफूलाई रोक्न गाह्रो हुने भयो। रोक्न गाह्रो हुने बानी भएको छ।

पञ्चायतमा त भोट खसालियो भने पञ्चायत त होइन नि यो। हिजोभन्दा आज केही राम्रो त छ नि। भोलि यो भन्दा राम्रो यसले केही गर्नेवाला छैन। भोलि राम्रो हुनलाई अर्कै तरिका छ। निर्वाचनले भोलिको राम्रो गर्दैन।

भोलिको राम्रोका लागि आन्दोलन गर्नुपर्छ संघर्ष गर्नुपर्छ। तर, हिजोभन्दा राम्रो भएको चिजलाई जोगाएर त राख्नुपर्यो नि। भोलिको आन्दोलनका लागि पनि आधार त जोगाएर राख्नुपर्यो। आधार भत्काएर त हुँदैन।

सबै मतदाताले यति धेरै विश्लेषण गरेर हेरिराख्नु पर्दैन। किनभने, एउटा त बानी नै भैसकेको छ। अर्को, मैले यति धेरै कारण देखाएँ, जसले गर्दा मतदान नगर्नु भन्दा गर्नुमा व्यक्तिगत, समुहगत, पार्टीगत, पारिवारिक, धार्मिक सबै फाइदा हुने भयो। अर्को, अत्यन्त व्यवहारिक कारण पनि भयो।

३५–३६ लाख नयाँ युवा मतदाता आएका छन्। त्यसको प्रभाव के होला?
थपिएका नयाँ मतदातालाई मूलतः प्रजातान्त्रिक भन्दा पनि गणतान्त्रिक पुस्ता नै भन्न मिल्छ। माओवादी आन्दोलनपछि हुर्केको पुस्ता हो। तर, गणतन्त्रको गञ्जागोलमा हुर्किएको पुस्ता हो यो। गएको १६ वर्षमा हुर्किएको पुस्ता हो।

सन् २००६ को लालिगुराँस क्रान्ति हुनेबेलामा ५/६ वर्ष भएका केटाकेटी अहिले मतदाता भएका छन्। यो नयाँ मतदाताको राजनीतिक प्रतिवद्धता बिल्कुलै छैन। यो पुस्ता राजनीतिमा निरपेक्ष छ।

यो पुस्ताले ‘म, मेरो र मेरा लागि’ बुझेको छ। त्यो ‘म, मेरो र मेरा लागि’को हिसाव–किताबभित्र उसलाई जहाँबाट केही फाइदा छ भन्ने लाग्छ, ऊ त्यहीँ मतदान गर्छ। तर, उसका लागि राजनीतिक दलहरु महत्वपूर्ण छैनन्। उसका लागि राजनीतिक विचारधारा महत्वपूर्ण छैन। उसले हिजोको संघर्षसँग सम्बन्ध स्थापित गर्न सकेको छैन। उसले भोलिको बारेमा पनि त्यति धेरै सोचिरहेको हुँदैन। ऊ आजको सोचेर बाँच्ने पुस्ता हो।

त्यसैले, यी ३५ लाख मतदाता मध्येको मत चाहिँ जिते पनि, हारे पनि आफ्नो सुविधाअनुसार आफूलाई मन परेको व्यक्तिलाई दिने सम्भावना एकातिर छ भने अर्कोतिर सोझो प्रलोभनमा मत दिने जमात छ। यसले प्रजातन्त्रलाई बलियो बनाउन खासै काम गर्दैन।

किनभने, यस्तै, प्रवृत्तिले गर्दा त मार्कोसले फिलिपिन्समा जितेर आए। युपीमा योगी मुख्य मन्त्रीमा जितेर आए। त्यसैले नयाँ मतदाता, यो पुस्ता विचारधारामुक्त भएको छ।

भिडिओः विशाल कार्की 

बैशाख २९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad