ad ad

निर्वाचन विशेष


पोखरामा धनराजको अग्रतापछि ‘उत्तर कोरिया’तिर एमालेको आँखा

पोखरामा धनराजको अग्रतापछि ‘उत्तर कोरिया’तिर एमालेको आँखा

फाइल फोटो


वाशुदेव मिश्र
जेठ १, २०७९ आइतबार २२:६, काठमाडौँ

एमालेको मुख्य गढ मानिएको वडा नम्बर १७ र २१ ले यहाँको समग्र चुनावी नतिजालाई उल्ट्याउने हैसियत राख्छ। 

पोखरामा सत्ता गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले अग्रता लिएका छन्। 

पोखराको १,२,१२,२३,२४ र २५ को प्रारम्भिक गणना अनुसार उनले १ हजार ५८५ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाको पक्षमा १ हजार ४८० मत आएको छ। 

उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी कोपिला रानाभाटको १ हजार ४५० र एमालेकी मञ्जुदेवी गुरुङको १ हजार ४०५ मत छ। 

४ हजार हाराहारीमा मत गणना भएकाले अन्तिम परिणामको आकलन गर्न अहिले हतार हुन्छ। 

तर, गठबन्धनका उम्मेदवारले बढी मत ल्याएसँगै एमालेको परम्परागत किल्ला पोखरामा के पाक्दैछ भन्ने चौतर्फी चासो भएको छ।

यो चासोसँगै अब सबैका आँखा एमालेको पकड मानिएका केही वडाहरूमा गएर केन्द्रित भएको छ। 

धनराज आचार्यको वडा नम्बर ३३ सहित वडा नम्बर ५,१५, कृष्ण थापाको वडा नम्बर १६, १७, १९, २०, २१, २५ र २६ तिर सोझिएको छ। 

तीमध्ये वडा नम्बर १७ र २१ लाई पोखराको ‘उत्तर कोरिया’ भन्ने गरिन्छ। 

गठबन्धनबाटै चुनाव लडे पनि ती वडामा यसअघिको स्थानीय चुनावमा एमालेका वडाध्यक्षले ल्याएको मत कांग्रेसले ल्याएकोभन्दा दोब्बर छ। 

पोखराको चुनावमा यी २ वडाहरू सधैँ निर्णायक रहँदै आएका छन् भने एमालेको लागि साह्रै महत्वपूर्ण। ती वडाहरुलाई कांग्रेसीहरु ‘उत्तर कोरिया’को रुपमा अर्थ्याउँछन्। 

अघिल्लो चुनावमा वडा नम्बर १७ मा एमाले उम्मेदवार कांग्रेसका पुण्डरी बरालले १ हजार ७८३ मत पाउँदा एमालेका तीर्थ अधिकारी ३ हजार ४६ मत ल्याएका थिए।

वडा नम्बर २१ मा कांग्रेसका केवल गिरिको ८१३ मत हुँदा एमालेका खगराज आचार्यको पोल्टामा २ हजार ५४४ मत परेको थियो।

यी दुवै वडा गठबन्धनका उम्मेदवार धनराजकै चुनावी क्षेत्र हो।

अघिल्ला चुनावमा एमालेका नेताहरु स्वर्गीय रवीन्द्र अधिकारी र विद्या भट्टराईको चुनावी मोर्चा सम्हालेका धनराजले यस क्षेत्रबाट कति मत पाउँछन् भन्नेले उनको राजनीतिक भविष्य निर्धारण गर्नेछ। 

यद्यपि, धनराजले त्यस क्षेत्रबाट बढी मत आउने आकलन उनले गरेका छन्। 

धनराजकै वडा ३३ मा भने दुई दलबीचको फरक खासै धेरै छैन। 

ती वडामा कांग्रेसका भोजराज आचार्य १ हजार ९९१ मत ल्याउँदा एमालेका शिवप्रसाद आचार्यले २ हजार ३७३ मत पाएका थिए। 

त्यस वडाबाट यसपटक धनराजलाई बढी मत आउने आकलन छ। यसैगरी एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीको जन्मथलो वडा नम्बर ३१ मा पनि एमालेको मत बढी छ। 

त्यहाँ एमालेका उम्मेदवार कमल थापाले १ हजार ७६१ मत पाउँदा कांग्रेसका शरद सुवेदीले १ हजार २ सय ६१ मत ल्याएका थिए। 

कृष्ण थापाको जन्मथलो बाटुलेचौर क्षेत्रको वडा नम्बर १६ बाट पनि एमालेले राम्रै आशा गरेको छ। 

जहाँ गएको चुनावमा एमालेका वडाध्यक्षले ३ हजार १३३ मत पाउँदा कांग्रेसका उम्मेदवारले २ हजार ८६८ मत ल्याएका थिए। 

आफ्नै वडाका मेयर उठ्दा जनताको मत फरक हुनसक्छ। जे धनराजले सोचेका छन्, त्यो कृष्ण थापाको हकमा पनि लागू हुन्छ। 

वडा नम्बर २० मा अघिल्लो चुनावमा एमालेका अध्यक्ष सीम गुरुङले १२ सय २३ मत ल्याउँदा कांग्रेसका महेन्द्र अधिकारी ६३१ मा चित्त बुझाउन बाध्य थिए। 

यस्तै यसअघि टिकट दिएर पनि खोसिएका दीपक पौडेलको वडा हो–१९। त्यहाँ अघिल्लो चुनावमा एमाले उम्मेदवारले २ हजार ४८३ मत पाउँदा कांग्रेसले १ हजार ९६० मत ल्याएको थियो। यसअघि वडा नम्बर १३ मा पनि त्यस्तै अन्तर थियो। 

त्यहाँ एमालेले २ हजार ६०६ मत ल्याउँदा कांग्रेसको १ हजार ६०८ मत मात्रै आएको थियो। वडा नम्बर १५ मा एमालेले कांग्रेसभन्दा करिब ५ सय मत बढी ल्याएको थियो भने १४ नम्बर वडामा पनि एमाले नै अगाडि थियो। 
पोखराको २३ वटा वडा जितेको एमालेको अहिले पनि जनाधार बिग्रेको छैन। हाल मत गणना हुँदाका वडाहरूको क्षतिपूर्ति बाँकी वडाले गर्नेमा एमाले नेताहरु आशावादी छन्। तर, सबैभन्दा बढी आँखा चाहिँ वडा नम्बर ५,१७ र २१ मै गडेको छ। 

‘धनराजले ती वडाबाट पनि अग्रता लिए भने जित निश्चित छ र अग्रता लिने सम्भावनालाई नकार्न सकिँदैन’,एमालेका एक नेताले भने,‘ उनी खाइखेलकै क्षेत्र होर तर ठूलो मतान्तर भएकाले उनलाई सजिलो भने छैन।’ 

चुनावी अंकगणित अघिल्लो पटकले भन्दा पनि मतदाताको रुझानले निर्धारण गर्ने बताउँदै उनले भने,‘यो पटकको मतदाताको रुझान फरक छ तर कृष्ण थापा कमजोर उम्मेदवार होइनन्। उनले सहरी क्षेत्रबाटै अगुवाइ गर्नसक्ने सम्भावना बाँकी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .