निर्वाचन विशेष


बुटवलमा खेलराजको खेल : २३ वर्षपछि फर्कियो कांग्रेसको सत्ता

के कारणले भत्कियो बुटवलमा एमालेको गढ?
बुटवलमा खेलराजको खेल : २३ वर्षपछि फर्कियो कांग्रेसको सत्ता

बुटवलको मेयरमा विजयी कांग्रेस नेता खेलराज पाण्डे। तस्बिर : नेपालखबर


सुदीप भण्डारी
जेठ ७, २०७९ शनिबार १९:१४, बुटवल

लुम्बिनी प्रदेशको मुख्य शहर बुटवलमा नेपाली कांग्रेसका खेलराज पाण्डेले एमालेको गढ भत्काएका छन्। 

बुटवल उपमहानगरपालिकाको मेयरमा पाण्डेले एमालेका बाबुराम भट्टराईलाई साढे ७ हजार मतान्तरले पराजित गरेका छन्। उपमेयरमा भने एमालेकी सावित्रा अर्याल विजयी भएकी छन्।

मेयर मात्रै होइन, कांग्रेसले एमालेबाट बुटवलका थुपै्र वडासमेत खोसेको छ। कांग्रेसले ११ वटा वडा जितेको छ। 
एमालेले ५ वटा वडामा मात्र विजयी भएको छ। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले एक–एक वटा वडा जितेका छन्।

अहिलेको जितले कांग्रेसलाई २३ वर्ष अघिको सम्झना गराएको छ। जतिबेला २०५६ सालको आमचुनावमा नेपाली कांग्रेसका सुर्यप्रसाद प्रधानले एमालेका विष्णु पौडेललाई तत्कालिन रुपन्देही क्षेत्र नम्बर ३ बाट पराजित गरेका थिए।

बुटवलको चुनावी शिलशिला

२०४८ सालको पहिलो आम निर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाण प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। २०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भए।

२०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बने। २०५४ सालमा भएको स्थानीय चुनावमा उनै प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भए।  

मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर एमालेका विष्णु पौडेललाई हराएर प्रतिनिधि सभामा प्रवेश गरे।

त्यसपछि भने कांग्रेस कुनै पनि चुनावमा विजयी हुन सकेको थिएन।

२०५६ सालमा हारेका पौडेल २०६४ सालको संविधान सभाको चुनावमा बुटवलबाटै विजयी भएका थिए। पहिलो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा झरेको थियो।

त्यसयताको चुनावमा विष्णु पौडेलले निरन्तर बाजी मारिरहेका थिए। २०७४ को स्थानीय चुनावमा एमालेले मेयर र उपमेयर र १६ वटा वडा जित्दै आफ्नो दबदबा कायम राखेको थियो।

तर यसपटक भने बुटवलमा कांग्रेसले २३ वर्षपछि आफ्नो झण्डा फहराउन पाएको छ। मेयरमा फराकिलो अन्तरले विजयी भएको छ। गठबन्धन गरेकाले उपमेयर आफ्नो पार्टीको भने थिएन। उपमेयर एमालेले जिते पनि धेरै वडामा कांग्रेसले बाजी मारेको छ।

को हुन् एमालेको गढ भत्काउने खेलराज?
मेयर जितेका खेलराज पाण्डे कांग्रेस बुटवल नगर सभापतिसमेत हुन्। उनी हाल तेस्रो कार्यकालको नगर सभापति छन्। 

खेलराज पाण्डे जन्मेको र हुर्केको स्याङ्जाको तत्कालीन आलमदेवी गाविस (हालको कालिगण्डकी गाउँपालिका) को कोटाकोटबेसी हो।

स्कुल पढ्दा नै उनी राजनीतितिर आकर्षित भए। उनी नेविसंघमा आवद्ध थिए। कोटाकोटबेसीमा ८ कक्षासम्म पढेपछि ९ कक्षा पढ्न पाल्पाको तानसेन पुगे र त्यहाँको जनता माविमा अध्ययन गर्न थाले।

विद्यालय तहको पढाइ सकेपछि उनी तानसेनकै त्रिभुवन बहुमुखी क्याम्पसमा साइन्समा भर्ना भए। पछि काठमाडौंको अमृत साइन्स क्याम्पसमा गए। ०४६ सालको जनआन्दोलन हुँदा खेलराज अस्कलकै विद्यार्थी थिए।

२०४७ सालमा बुटवल आएर खेलराज पाण्डे विद्यार्थी तथा युवा मोर्चामा सक्रिय भए। नेपाल विद्यार्थी संघको रुपन्देही सचिव, तरूण दलको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पनि भइसकेका छन्। त्यसपछि कांग्रेस बुटवल नगर सचिव हुँदै अहिले तेस्रो कार्यकालमा कांग्रेसको बुटवल उपमहानगरको सभापति छन्।

२०७४ सालको चुनावमा पनि पाण्डे मेयरका प्रत्यासी थिए। एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतान्तरले पराजित भएका थिए। त्यसबेला पनि वडाहरुको नतिजाको तुलनामा व्यक्तिगत रुपमा उनलाई राम्रो मत आएको थियो।

मेयरमा पराजित भएकै दिनदेखि खेलराजले अर्को कार्यकालका लागि तयारी गरेका थिए। ५ वर्ष अघिदेखि नै कांग्रेसबाट बुटवलको मेयरको उम्मेदवारका रुपमा उनी निर्विकल्पजस्तै देखिन्थे।

सरल जीवनशैली भएका उनी बुटवलमा भाडामै बस्छन्। आफ्नो गाडी र व्यवसाय पनि छैन। कहिले पैदल हिँड्छन् त कहिले अरुको सवारीमा लिफ्ट मागेर यात्रा गर्छन्।

सबैसँग घुलमिल हुन सक्ने स्वाभावकका कारण पनि पाण्डेको विजय सफल हुन सकेको हो। त्यसमा पनि उनी प्रखर वक्ता समेत हुन्।  

कसरी भत्कियो एमालेको गढ?
२०६४ सालको संबिधान सभाको चुनावमा बुटवल क्षेत्रबाट विष्णु पौडेल विजयी भएका थिए। २०७० सालमा माओवादीबाट चुनाव लडेका बाबुराम भट्टराईलाई तेस्रो स्थानमा झार्दै दोस्रो स्थानको कांग्रेससँग फराकिलो अन्तरले विजयी भएपछि बुटवलमा विष्णु पौडेल र एमालेको प्रभाव बढेको थियो।

त्यसबेलादेखि नै एमालेले बुटवललाई आफ्नो किल्ला मान्दै आएको थियो। २०७४ साल असारको स्थानीय चुनावमा १६ वटा वडासहित मेयर र उपमेयर एमालेले जितेको थियो। 

त्यही वर्षको मंसिरमा भएको संसदीय चुनावमा बुटवल क्षेत्रबाट कांग्रेसका युवराज गिरीसँग २२ हजार बढी फराकिलो मतान्तरले विष्णु पौडेल विजयी भए।

धेरैलाई लाग्थ्यो बुटवलमा एमालेलाई कसैले हल्लाउन सक्दैन। यो स्थानीय चुनावमा बुटवलमा पनि ५ दलीय गठबन्धन एकातिर र एमाले अर्कोतिर आमने-सामने भए।

अघिल्लो चुनावमा पनि कांग्रेस र माओवादी गठबन्धन थियो। त्यसबेला माओवादीमा रहेका धेरै आफ्नो पार्टीमा आएको एमालेको बुझाइ थियो।

माधव नेपालको एकीकृत समाजवादीमा कार्यकर्ता खासै छैनन् भन्ने ठानेकाले बुटवल गुम्दैन भन्ने एमालेका नेताहरुलाई लागेको थियो।

शिवराज सुवेदीको ५ वर्षे कार्यकालका केही कमजोरी र खेलराजको लोकप्रियताले एमालेले मेयरमा भने थोरै चुनौति देखेको थियो। तर, अधिकांश वडा भने जितिन्छ भन्ने ठानेको थियो।

एमालेले गढ भनेको ठाउँमा कांग्रेस पनि त्यति ढुक्क थिएन। तर, मेयरसम्म जित्न सकिन्छ कि भन्ने कांग्रेसले अनुमान गरेको थियो। मेयरमा पनि ५ सयदेखि १ हजार मतले जितिन्छ भन्ने कांग्रेस कार्यकर्ताले हिसाब गरेका थिए। तर, साढे ७ हजार मतान्तरले कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन्। धेरै वडा जित्न सफल भयो।

एमालेको गढ ढल्नुको मुख्य कारण प्रदेशको राजधानी हो। २०७४ सालको चुनावमा प्रदेशको राजधानी बुटवललाई बनाउने मुख्य चुनावी नारा थियो।

तर, राजधानीको सार्ने प्रस्तावको विरोधमा यस क्षेत्रका सांसद विष्णु पौडेलले कुनै प्रतिक्रिया जनाएनन्। मेयर शिवराज सुवेदीले समेत कत्ति विरोध गरेनन्। राजधानी सार्ने प्रस्तावप्रति बुटवलका व्यवसायीहरु एमालेप्रति आक्रोशित थिए।

आफ्नो पार्टीको जितको मुख्य कारण प्रदेशको राजधानी भएको कांग्रेस रुपन्देही २ का क्षेत्रीय सचिव विमलराज भट्टराई बताउँछन्। 

‘तीनै तहको सरकारमा उहाँहरु हुँदाहुँदै बुटवलको राजधानी दाङ पुग्नु एउटा कारण हो’ उनले भने ‘उपमहानगरमा जो प्रतिनिधि हुनुभएको थियो, उहाँहरुले जनतालाई चित्त बुझाउन सक्ने गरी काम नगर्दा जनता सन्तुष्ट नभएको देखियो।’

यही असन्तुष्टिले अत्यधिक मतले कांग्रेस विजयी भएको भट्टराईले बताएका छन्। 

बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको मुख्य सडक बेहाल अवस्थाले पनि स्थानीयहरु दिक्क थिए। लामो समयदेखि सडक बनेको छैन। 

बुटवलमा बाक्लो सुकुम्बासी बस्ती छ। तीनै तहको सरकारमा एमाले रहँदा पनि लालपुर्जा पाउन नसकेको सुकुम्बासीहरूको पीडा थियो। 

यी लगायत अन्य समस्याका कारण बुटवलमा उपमहानगरबासीहरुले फरक नेतृत्व देख्न खोजेको अहिलेको नतिजाले बुझ्न सकिन्छ।

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी राजधानीसँगै पार्टी एकता जोगाउन नसक्नुको असन्तुष्टिले पनि बुटवलमा हार बेहोर्नुपरेको बताउँछन्। 

‘कम्युनिष्ट पार्टी एक हुँदा जनतामा उत्साह थियो। त्यो एकता बचाउन नसक्दा जनताप्रति वितृष्णा भयो,’ उनले भने ‘हाम्रै नेतृत्वमा सरकार हुँदा प्रदेशको राजधानी दाङ जाने विषयले जनतालाई मात्र नभई पार्टीका कार्यकर्तालाई पनि छोयो। जसका कारण आज यो परिस्थिति निर्माण भयो।’

सुकुम्बासी समस्यामा समाधानमा काम गर्दा गर्दै केन्द्रमा सरकार ढलेको र आफूहरुले काम सक्न नपाउँदा पनि कांग्रेसलाई फाइदा भएको पन्थीको बुझाइ छ। गठबन्धनले चुनाव जित्दा आफ्नो मतले मात्र नजितेको र यसको पार्टीभित्र समीक्षा हुने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .