निर्वाचन विशेष


जनकपुरमा दाेहाेरियाे विद्रोही उम्मेदवार विजयी हुने इतिहास

निवर्तमान मेयर चौथो नम्बरमा
जनकपुरमा दाेहाेरियाे विद्रोही उम्मेदवार विजयी हुने इतिहास

नवनिर्वाचित मेयर मनाेज साह र उपमेयर किशाेरी साह


शैलेन्द्र महतो
जेठ ९, २०७९ सोमबार १९:१६, जनकपुरधाम

जनकपुरधाम उपमहानगरमा विद्रोही उम्मेदवार जितेको इतिहास पुनरावृत्ति भएको छ। मेयरमा नेपाली कांग्रेसका विद्रोही एवं स्वतन्त्र उम्मेदवार मनोजकुमार साह (घन्टाघर छाप) विजयी भएका छन्।

उनी निकटतम प्रतिद्वन्द्वीभन्दा ३ हजार ९३३ मत अन्तरले विजयी भएका हुन्। पाँचदलीय गठबन्धनका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहलाई चौथो नम्बरमा पछार्दै मनोज विजयी भए। 

मनोजले १३ हजार ४६५ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ९ हजार ५३२ मत प्राप्त गरे।

यस्तै, तेश्रो नम्बरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मनोजकुमार चौधरीले ५ हजार ३६० मत पाएका छन् भने चौथो नम्बरमा गठबन्धबाट जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर ५ हजार १९४ मतमा सिमित भए। पाँचौ नम्बरमा स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतोले ४ हजार २९० मत पाएका छन्। 

यस्तै, उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोरी साह विजयी भएका छन्। उनले १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुना झाले १० हजार ८८५ मत ल्याएकी छन्।  

तेस्रो नम्बरमा लोसपाकी उम्मेदवार निवर्तमान उपमेयर रिता झा ५ हजार ८१७ मतमा सिमित भइन्। 

दोहरियो मेयरमा बागी जितेको इतिहास 
जनकपुमा मेयरमा कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जितेको इतिहास पुनरावृत्ति भएको छ। कांग्रेसकै विद्रोहीले २०७४ बाहेक विगतमा मेयर र उपमेयर जितेको इतिहास छ। यसपटक कांग्रेसबाट विद्रोही स्वतन्त्र उम्मेदवार मनोज साह जितेर इतिहास पुनरावृत्ति गरेका हुन्। 

२०७४ को स्थानीय चुनाव र गतिलो स्वतन्त्र उम्मेदवार नहुँदा २०७४ को चुनावमा मधेश आन्दोलनकै सेन्टिमेन्टको कारण तत्कालीन मधेसवादी दल राजपा नेपालबाट प्रमुखमा लालकिशोर साह निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै दोब्बर मतले जितेका थिए। उपप्रमुखमा राजपाकी रीता झाले नै जितेकी थिइन्।

राजनीतिक दलबाट २०७४ निर्वाचनमा प्रमुख उपप्रमुखमा जितेको अपवाद घटना मानिन्छ। 

नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम तत्कालीन पञ्चायत सरकारले २०१७ जेठ १३ गते जनकपुरलाई नगरपालिका घोषणा गरेको हो। त्यतिबेला प्रमुख बनाउने परिपाटी थिएन, ‘चेयरमेन’ बनाइन्थ्यो। जनकपुर नगरपालिकाको पहिलो चेयरमेनमा श्यामसुन्दर शर्मालाई नियुक्त गरिएको थियो।  

तत्कालीन राजा महेन्द्रले २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्चायत’ हुन पुग्यो। 

२०४६ सालको आन्दोलनपछि प्रजातन्त्र पुनर्बहाली हुँदा २०४७ जेठ २८ गते नगरपालिका ऐन, २०४७ लागू भयो र  जनकपुरधाम पुनः आधिकारिक रूपमा नगरपालिका बन्यो। २०४९ सालमा पहिलो पटक जनकपुर नगरपालिकाको निर्वाचन भएको थियो। 

जसमा प्रमुखका लागि नेपाली कांग्रेस भित्र दिगम्बर राय र वृषेशचन्द्र लाल आकांक्षी थिए। दिगम्बर रायले प्रमुखको टिकट पार्टीबाट पाएपछि वृषेशचन्द्र लालले विद्रोह गरे। कांग्रेसको बागी बनेर प्रमुखमा उम्मेदवारी दिए। लालसँगै निवर्तमान प्रमुख लालकिशोर साहले पनि कांग्रेसकै बागी उम्मेदवारको रुपमा उपप्रमुखको उम्मेदवार बने। 

अन्ततः स्वतन्त्रबाटै प्रमुखमा वृषेशचन्द्र लाल र उपप्रमुखमा लालकिशोर साह विजयी भए। कांग्रेसको आधिकारिक उम्मेदवार दिगम्बर राय हारे। 

पाँच वर्षपछि २०५४ सालमा फेरि स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका बजरंग प्रसाद साह प्रमुखमा निर्वाचित भए। कांग्रेसबाट दामोदरप्रसाद उपाध्यायले टिकट पाएपछि साहले विद्रोह गरेर उम्मेदवारी दिएका थिए। पञ्चायतकालमै दुईपटक प्रधानपञ्च रही सकेका उपाध्याय हारे। 

नेपाल संघीयतामा प्रवेश गरेपछि २०७४ को निर्वाचनमा राजपा नेपालबाट लालकिशोर साह र उपप्रमुखमा रीताकुमारी मिश्र विजयी भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .