ad ad

निर्वाचन विशेष


राप्रपा छाडेका बद्रीको हिसाब : रेनु दाहालले यसरी जित्छिन् (अन्तर्वार्ता)

बितेका पाँच वर्षमा गरेका विकासले हामी ढुक्क छौँ
राप्रपा छाडेका बद्रीको हिसाब : रेनु दाहालले यसरी जित्छिन् (अन्तर्वार्ता)

सागर न्यौपाने
बैशाख १६, २०७९ शुक्रबार १९:३२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका चितवन जिल्ला अध्यक्ष बद्रीनाथ तिमल्सिना २०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार थिए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेनु दाहाल पनि त्यही पदमा उम्मेदवार थिइन्। रेनुले २ सय मतले चुनाव जित्दा तिमल्सिनाले ६ हजार ८ सय ४२ मत ल्याएका थिए।

राप्रपाका स्थापित र प्रभावशाली भनेर चितवनमा चिनिएका तिमल्सिना त्यही वर्ष कात्तिक १८ गते नेकपा माओवादी केन्द्र प्रवेश गरे।

त्यसबेला चितवनमा प्रभावशाली मानिएका राप्रपाका नेता विक्रम पाण्डेको दाहिने हात मानिएका तिमल्सिनाले यस्तो अवस्थामा माओवादी रोजे, जसको केही सातापछि मंसिरमा संघीय निर्वाचन हुँदै थियो।

पाण्डेका विश्वासिला र भर गरेका नेता नै माओवादी प्रवेश गरेपछि चितवन क्षेत्र नम्बर ३ बाट प्रचण्डलाई चुनाव जित्न सहज भयो। किनकी राप्रपाको निर्णायक मत तिमल्सिनासँग थियो, उनी जिल्ला अध्यक्ष भएकाले पकडको मत माओवादीतिरै तान्ने वातावरण बनाए।

त्यसबेला जिल्लाका  ३१ जना प्रभावशाली नेताहरु लिएर उनी माओवादी प्रवेश गरेका थिए। अहिले स्थानीय तहको निर्वाचन हुँदैछ। 

यो निर्वाचनमा अघिल्लो पटकजस्तो तिमल्सिना महानगरपालिकाको प्रमुख पदका उम्मेदवार छैनन्, बरु उनी रेनु दाहालको चुनावी प्रचार कमाण्डर भएका छन्।

पाँच वर्षअघि ६ हजार बढी मत ल्याएका तिमल्सिनाले यसपटक त्यसक्षेत्रको सबै मतको हिसाब किताब गरिरहेका छन्।

उनै तिमल्सिनासँग नेपालखबरले गरेको संक्षिप्त कुराकानीः 

अघिल्लो पटक आफैँ उम्मेदवार तपाईँ अहिले माओवादी केन्द्रबाट हेर्दा भरतपुर महानगरपालिकाको चुनावी माहोल कस्तो छ? 
अहिले २०७४ कोभन्दा राम्रो माहोल बनेको छ। त्यसबेला यहाँ माओवादी केन्द्र नै परीक्षणमा थियो। तर, यो पाँच वर्षमा निकै राम्रो माहोल बनेको छ। प्रचण्डको आगमन भएपछि यहाँ तीव्र विकास भएको छ। 

राष्ट्रिय गौरवका आयोजना बनेका छन्, कति बन्ने प्रक्रियामा छन्। चितवनको मुहार नै फेरिएको छ। 

त्यसबेला तपाईँले ६ हजार मत ल्याउनुभएको थियो,  यो ५ वर्षमा माओवादीको मत कति बढ्यो?
तीन आधारमा मत बढेको छ। पहिलो, माओवादी केन्द्रकी रेनुले जितेपछि गरेको विकासको काम। यहाँको विकासको कुरै नगरौं। यहाँ आउने जो कोही पनि ५ वर्ष अगाडिको चितवनमा आएको परिवर्तन देखेर दंग पर्छन्।

यति धेरै काम भएका छन् कि, मेयर भएर यत्रो काम गर्न सकिन्छ भन्ने कुरा सपनामा पनि सोचिएको थिएन।

विशेषगरी राष्ट्रिय गौरवका आयोजना, प्रत्येक टोल पुग्ने चिल्ला बाटा, शिक्षा, स्वास्थ्य, यातायातमा गरिएका विकासका लागि परेको अर्बौंको बजेट। बजेटले मात्र हुँदैन, काम पनि हुन्छ भन्ने उदाहरण हेर्न यहीँ आउनुपर्छ।  

दोस्रो, प्रचण्डले चितवनलाई नयाँ नेपालको नमुना शहर बनाउन खोज्नुभएको कुरा त्यसबेला देखियो, जुन बेला उहाँले यस क्षेत्रबाट जितेपछि लगातार विकास निर्माणको बजेट पार्नुभयो र आफ्नै निगरानीमा काम अगाडि बढाउनुभयो। 

तेस्रो, मलाई भूमि आयोगको अध्यक्ष बनाएपछि हामीले भूमीहीनहरुलाई लालपुर्जा वितरणको काम अघि बढाएका छौँ। भरतपुर महानगरकै केही स्थानीयलाई त्यसरी लालपुर्जा वितरण गरियो।

वडा नम्बर २ मा वितरण सकेका छौँ, अन्य स्थानमा पनि वितरण तयारी छ। यहाँका हजारौँ भूमिहीनलाई लालपुर्जा वितरण गर्न सकेमा उनीहरुमाथि न्याय हुन्छ।

लालपुर्जा वितरण गरेर पनि मत बढ्यो? 
भूमि भएका जनताले आफ्नो जग्गा हो भन्न पाएका थिएनन्। वर्षौँदेखि भोगचलन गरेको जग्गा आफ्नो नाममा नहुँदा कति पीडा हुन्छ? उहाँहरुको पीडा कम भएको छ। माओवादीले भूमि भएर पनि लालपुर्जा नहुँदा पीडामा रहेका नागरिकलाई लालपुर्जा दिलाएपछि स्वभाविक उहाँहरुले पनि काम गर्ने पार्टी माओवादी केन्द्र हो त भन्नुहुन्छ। 

राप्रपा त अहिले पनि छ नि, उनीहरुको प्रभाव पनि छ होइन र?
राप्रपा यहाँ अब शक्तिमा छैन। त्यहीँभित्र धेरै वटा गुट छन्। कुन राप्रपा भन्ने? प्रभाव पार्ने राप्रपा त २०७४ मै माओवादीसँग मिलिसकेको छ। त्यही भएर चितवनमा माओवादी केन्द्रको अत्यन्तै राम्रो जनमत बढेको छ।

त्यसो भए, भरतपुरमा माओवादी केन्द्रको शक्ति कति बढ्यो त? 
अहिले जनमत निकै राम्रो छ। राप्रपाको सिंगो कमिटी नै माओवादीमा मिसिएपछि ३५ हजार मत थियो। महानगरपालिकाको मेयरमा चुनाव जितेपछि रेनु दाहालले व्यक्तिगत रुपमा १० हजार मत बढाउनुभएको छ।

त्यो मत उहाँको व्यक्तिगत हो, उहाँले गरेका विकास निर्माण र सरल स्वभाव देखेर जनताले रुचाएको मत हो। त्यसबाहेक सुकुम्बासी र भूमिहीनलाई लालपुर्जा वितरण गरेपछि ८ देखि १० हजार मत बढेको छ। अब यहाँ गठबन्धन छ, नेपाली कांग्रेसको मत राम्रै आउँछ।

कांग्रेसबाट कति मत पाउने देख्नुहुन्छ? 
उहाँहरुको कूल मत झण्डै ५० हजार हाराहारी हो। गठबन्धन भएकोले ५० प्रतिशत मत रेनु दाहाललाई जानेछ। त्योभन्दा बढी पनि जान्छ। 

तर, चितवनमा कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेल छन्, उनले काट्ने मतले रेनुलाई हराउँदैन?
बुझ्नुपर्ने कुरा के हो भने, यो पटक चितवनमा माओवादी केन्द्रको उम्मेदवार रेनु बलियो अवस्थामै हुनुहुन्छ।

हामीले कांग्रेसबाट ५० प्रतिशत मतको अपेक्षा गरेका हौं, त्यो भन्दा निकै बढी मत खस्छ भनेर कांग्रेसकै साथीहरुले भन्नुभएको छ। 

फेरि बागी उम्मेदवार त यसअघि पनि हुनुहुन्थ्यो नि विकास कोइराला। तर, अन्तिम चरणमा उहाँको फिर्ता भयो। अहिले पनि जगन्नाथ दाइले अन्तिम समयमा रेनुलाई समर्थन गर्न सक्नु हुन्छ।

उहाँसँग मेरो पुरानो सम्बन्ध छ। उहाँ यहाँको पुरानो योद्धा पनि हो, वकिल पनि हुनुहुन्छ। उहाँले केन्द्रीय निर्देशनविपरीत उम्मेदवारी कायम राख्नुहुन्न।

केही दिनमा रेनु दाहाललाई समर्थन गरेर पक्षमा आउनुहुन्छ। यहाँ कांग्रेसले समस्या पार्दैन। अर्को कुरा यदि जगन्नाथ दाइले उम्मेदवारी फिर्ता लिनुभएन भने पनि कांग्रेसले पार्टी निर्णयबाहिर गएर मतदान गर्दैन।

कांग्रेसकै नेता कार्यकर्ताले बागीलाई मत दिनु हुन्न। अहिलेको माहोल भनेको गठबन्धन बाहिर नजाने हो। 

भरतपुर जित्न माओवादीले अघि सारेका रणनीति के छन्?
चितवनको विकासमा रेनुले कायापलट गर्नुभएको छ। चक्रपथ विस्तार, राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन, सडक निर्माण, भौतिक पूर्वाधारमा गरिएको काम, रंगशाला निर्माण लगायतका काम भएका छन्। यसलाई हामीले भन्नै पर्दैन जनताले देखेका छन्। 

अर्को भूमिहीनलाई लालपुर्जा वितरणको काम भएका छन्। यसले माओवादी नै यहाँ सबैभन्दा राम्रो काम गर्ने भनेर देखाइसकेको छ। अर्को कुरा, यहाँको विकास निर्माण देखेर नेकपा एमालेकै साथीहरुले समेत चितवनमा रेनुभन्दा बलियो कोही नरहेको बताउनुभएको छ।

उहाँहरुले भनेको कुरा– ‘रेनुभन्दा हामी पछि छौँ।’ चुनाव भएकोले केही रणनीतिक योजना अघि सारेका छौँ, मुख्य कुरा जनतासँग पुग्ने नै हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .