ad ad

निर्वाचन विशेष


प्रमुख–उपप्रमुख नै पुरुष जितेर आउँदा निर्वाचन आयोगले सपथ नगराउन सक्छ : मोहना अन्सारी (भिडिओ संवाद)

प्रमुख–उपप्रमुख नै पुरुष जितेर आउँदा निर्वाचन आयोगले सपथ नगराउन सक्छ : मोहना अन्सारी (भिडिओ संवाद)

जेवी पुन मगर
बैशाख १७, २०७९ शनिबार ६:५७, काठमाडौँ

संविधानले व्यवस्था गरेको समावेशी प्रावधानलाई अवज्ञा गर्दै दलहरुले स्थानीय निर्वाचनमा महिलाको उम्मेदवारीमा व्यापक कटौती गरेपछि त्यसविरुद्ध मानवअधिकार तथा महिला अधिकारकर्मी मोहना अन्सारीले सर्वाेच्चमा रिट दायर गरिन्। दलहरुले त उपेक्षा गरे नै, निर्वाचन आयोगले समेत यो संवैधानिक व्यवस्था पालना नगरी आँखा चिम्लिदिएको अन्सारीको आरोप छ। सिधा शब्दमा आयोग दलहरुले गरेको गलत कर्मको मतियार बनिदिएको छ।

अन्सारीले दायर गरेको रिट पछ्याउँदै नेपालखबरले अधिकारकर्मीहरुको समेत प्राथमिकतामा नपरेको यो मुद्दालाई उठान गरेपछि त्यसले सम्बन्धित निकायलाई दबाब पुगेको अन्सारीको अनुभव छ। नेपालखबरको निर्वाचन विशेष टिमसँग कुरा गर्दै अन्सारीले भनिन्, ‘दलभित्र र बाहिरका अधिकारकर्मीहरु नबोलिरहेको बेला मिडियाले आवाजविहीनहरुको विमर्शलाई उठाइदिँदा त्यसले अर्थ राख्दोरहेछ।’ 

संविधानको रक्षा गर्ने प्रमुख दायित्व बोकेका दलहरुले नै त्यसको बर्खिलाफ हुनेगरी महिला उम्मेदवारहरुको संख्या कटौती गरेपछि त्यसको विरोधमा दलभित्रका महिला नेतृत्व, अधिकारकर्मी र बौद्धिकहरुको विरोध मुखर हुनुपर्ने थियो। तर त्यस्तो भएन। सबै चुपचाप बसे। दलभित्र महिला हकहितका लागि आवाज उठाउन भनी खोलिएका भगिनी संगठनका नेता कार्यकर्ता कोही बोलिरहेका छैनन्।

दातृनिकायबाट महिला सशक्तीकरणका नाममा डलर ल्याई चर्चा बटुल्न सहयोग पुग्ने मुद्दालाई मात्र उराल्ने आरोप खेपिरहेका गैरसरकारी संस्थाहरुको समेत यो मामिलामा उराठलाग्दो मौनता देखिन्छ। यस्तो गम्भीर मुद्दामा समेत आफूलाई महिला अधिकारकर्मीको रुपमा चिनाउन मरिहत्ते गर्ने अधिकारकर्मी र बौद्धिक कतै देखिएका छैनन्।

सर्वत्र यस्तो मौनताको के अर्थ हुनसक्छ? पेसाले कानुन व्यवसायी समेत रहेकी अन्सारीलाई हामीले यिनै प्रश्नमाथि विमर्श गर्न नेपालखबरको कार्यालय परिसरमा आमन्त्रित गरेका थियौँ। हाम्रो प्रश्न सुनिसकेपछि अन्सारीले भनिन्, ‘महिलाको हातमा ढुकुटीको चाबी छैन। त्यसको अर्थ हो, उनले स्वतन्त्रतापूर्वक आर्थिक उपभोग गर्न पाउँदिनन्। तपाईंलाई थाहा नै छ, विकृत निर्वाचन व्यवस्थाले अकुत पैसा नहुनेलाई चिन्दै चिन्दैन।’ 

अन्सारीको तर्कअनुसार आर्थिक रुपले कमजोर महिलासँग स्वाभाविक रुपले निर्णय गर्ने क्षमताको कमी छ। अरुमाथि निर्भर भएपछि उसले आफ्ना लागि थप केही माग गर्ने हैसियत राख्दिनन्। त्यस्ता पात्र नियोजित रुपमै किनारीकृत हुँदै जान्छन्। 

एकातर्फ महिलाको आवाज हराउने यस्तो आर्थिक–सामाजिक–राजनीतिक परिबन्द छ भने अर्काेतर्फ टाठाबाठा महिला नेतृत्व खाईपाई आएको या भोलि पाइनसक्ने पद खोसिने भयले बोल्ने आँट गरिरहेका छैनन्। 

अन्सारीको भनाइमा दलभित्र नेतृत्वले गरेको विभेदबारे महिला नेताहरुलाई थाहा नभएको होइन। आफ्ना अधिकारका निम्ति सचेत तिनले के भइरहेको छ भन्नेबारे सबै जानकारी बटुलेर बसेका छन्। तर, बेथितिविरुद्ध आवाज उठाउँदा स्थानीय निर्वाचन लगत्तै आइरहेको संसदीय निर्वाचनमा तिनले टिकट नपाउने डर हुन्छ। तिनलाई समानुपातिक सूचीमा आफ्नो नाम नपर्ने ठूलो भय छ। धेरै बोले पुछारमा नाम खस्कने डर छ। अन्सारी स्वाभाविक प्रश्न गर्छिन्, ‘नत्र गएको निर्वाचनभन्दा कम महिला उम्मेदवार नामांकित हुँदा पनि महिला नेतृत्व किन नबोलेको त?’

नगर प्रमुखमा पुरुष वर्चश्व
केपी ओली नेतृत्वको नेकपा एमालेलई सबैभन्दा बढी ‘पुरातन, प्रतिक्रियावादी र महिलाद्वेषी’ दलको आरोप लगाएर प्रचारबाजी गर्ने पाँच दलीय गठबन्धनले पनि समावेशी सिद्धान्तमाथि बन्चरो चलाएकै छ। नयाँ पत्रिकाले १५ वैशाखमा गरेको उम्मेदवारको तथ्यांक संश्लेषणले त्यस्तै देखाउँछ। सो तथ्यांकअनुसार गठबन्धनभित्रको प्रमुख दल नेपाली कांग्रेसले मेयर पदमा देशभर नगरपालिकामा उठाएका २६५ उम्मेदवारमध्ये महिला १२ जना मात्र छन्। २५३ उम्मेदवार पुरुष नै छन्।

त्यही अवस्था माओवादी केन्द्रको पनि छ। उसले मेयरमा उठाएका १७४ जना उम्मेदवारमध्ये १८ जना मात्र महिला हुन्, बाँकी १५६ सिट पुरुषको भागमा परेको छ। त्यसैगरी १५० मेयर उम्मेदवार उठाएको एकीकृत समाजवादीले पनि २३ जना महिलालाई मात्र मेयर पद दिन उपयुक्त ठानेको छ। 

समावेशी र समानुपातिक सिद्धान्तको जगमा उभिई केन्द्रीय राजनीतिमा हस्तक्षेप गरेको दाबी गर्ने गठबन्धनभित्रका दलहरुको चिन्तन पनि महिलामैत्री देखिँदैन। १५९ सिटमा मेयर उठाएको जसपाले जम्मा २३ जना महिलालाई उम्मेदवार बनाएको छ। ९३ मेयर उठाएको लोसपाका ५ जना मात्र महिला उम्मेदवार छन्। 

प्रमुख प्रतिपक्षी एमालेभित्रको हालत पनि उही छ। एमालेले देशभर उठाएका २९१ मेयर उम्मेदवारमध्ये महिला २७ जना मात्र छन्।

अन्सारी भन्छिन्, ‘ललितपुरलगायत कतिपय ठाउँमा त मेयर उपमेयर दुवै पदमा पुरुषलाई नै उम्मेदवार उठाइएको छ।’​

दलमै दोस्रो दर्जा 
महिलाजतिलाई गएको निर्वाचनमा झैँ यसपालि पनि उपमेयर अर्थात् दोस्रो ‘दर्जा ‘ मा समेट्न खोजिएको छ। प्रमुख दलहरुमध्ये उपमेयरमा धेरै महिला उठाउनेमा एमाले अगाडि देखिन्छ। उसले उठाएको २८६ उपमेयरमध्ये २६० महिलाका निम्ति छाडेको छ। कांग्रेसले २११ मध्ये १८० महिलालाई दिएको छ भने एकीकृत समाजवादीले भागमा पाएको १७७ मध्ये १०६ महिलाका निम्ति आरक्षित गरेको छ।   

क्रान्तिको बलमा समावेशी मुद्दा आफैँले स्थापित गरेको भनेर नथाक्ने माओवादीले यी माथिका दलभन्दा कम महिलालाई उपमेयरमा उठाएको छ। उसले पाएको २१४ सिटमध्ये महिलाका निम्ति १३० मात्र छुट्याएको छ। त्यसैगरी मधेश आन्दोलनको प्राधिकार ठान्ने जसपा (कुल सिट १३८) र लोसपाले (कुल सिट ८०) क्रमशः ११० र ७२ सिट महिलालाई दिएका छन्।

गाउँपालिकाको अवस्था पनि उस्तै 
गाउँपालिका अध्यक्षको हकमा पनि दलहरुले महिलालाई विश्वास गरेको देखिँदैन। कांग्रेसले उठाएका ३८२ गाउँपालिका अध्यक्षमध्ये महिलाको भागमा जम्मा १९ सिट परेको छ। माओवादीले २९० मध्ये महिलालाई जम्मा २९ सिट दिएको छ भने एकीकृत समाजवादीले १८७ मध्ये १२ सिट। 

एमालेले उठाएको ४४६ पालिका अध्यक्षमध्ये जम्मा २८ जना महिला समेटिएका छन्। त्यसैगरी जसपाले १८९ मध्ये महिलालाई १० सिटमा उठाएको छ भने लोसपाले आफ्नो ७८ मध्ये ३ जना महिलालाई मात्र अध्यक्षमा उठाएको छ। 

पालिकामा पनि महिलालाई उपाध्यक्षमै थान्को लगाउन खोजेको देखिन्छ। एमालेले ४४५ सिटमध्ये ४१० उपाध्यक्ष महिलालाई दिएको छ। कांग्रेसले ३५९ उपाध्यक्ष पदको सिटमध्ये महिलालाई २९२ स्थानमा ठाउँ दिएको छ। 

माओवादी र एकीकृत समाजवादीले तुलनात्मक रुपमा अन्य दलभन्दा कम महिलालाई प्रतिनिधित्व गराएका छन्। माओवादीले ३१५ मध्ये २०३ उपाध्यक्ष महिलालाई दिएको छ भने समाजवादीले १८० मध्ये महिलाका निम्ति ११२ स्थान छुट्याएको छ। 

त्यसैगरी जसपाले १५६ सिटबाट महिलालाई १३० स्थान दिएको छ भने लोसपाले ५८ सिटमध्ये महिलालाई ५५ सिट प्रदान गरेको छ। 

राज्यको नीति नियम बनाउने ठाउँमा महिलालाई स्थान दिई तिनको स्तर उठाउन भूमिका खेल्न भनी विभिन्न आन्दोलन मार्फत मुद्दा उठाउने र नियम पनि बनाउने दल स्वंयले चाहिँ किन सधैँ आफैले बनाएको नीतिनियम पालना गर्दैनन्।

अधिकारकर्मी अन्सारी भन्छिन्, ‘संविधानले बाध्यकारी व्यवस्था नगरेको भए दलहरुले महिलाका निम्ति अहिलेजति सिट पनि छुट्याउने थिएनन्।’

उम्मेदवार चयनमा महिलाद्वेषी जस्तो देखिएका दलहरुलाई खबरदारी गर्न अदालतको दैलो ढक्ढक्याउन गएकी अन्सारीसँग नेपालखबरको चुनाव विशेष टिमले गरेको भिडिओ कुराकानी:

भिडिओः विशाल कार्की


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .