ad ad

निर्वाचन विशेष


काठमाडौंमा चलेन रवीन्द्र मिश्रको ‘जादु’

काठमाडौंमा चलेन रवीन्द्र मिश्रको ‘जादु’

राधिका अधिकारी
जेठ २, २०७९ सोमबार १४:४, काठमाडौँ

संसदीय चुनाव ०७४ मा काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका थिए । मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहलाई झण्डै हराए ।

कांग्रेस नेता सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत पाएर निकटतम दोस्रो स्थान हासिल गरेका थिए । मिश्रको स्थान एमालेको भन्दा माथि थियो । उनी प्रकाशमानसँग ८१८ मतले मात्रै हारेका थिए ।

विचारभन्दा माथि देश हुन्छ भन्दै नयाँ वैकल्पिक राजनीतिक शक्ति बनाउने प्रयासमा लागेका रवीन्द्र मिश्रको पार्टीबाट ०७४ मा प्रदेशसभा काठमाडौं १ (ख) मा समीक्षा बास्कोटा उठेकी थिइन् । उनले सम्मानजक मत पाइन् । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाकी छोरीसमेत रहेकी समीक्षा अमेरिकामा पढेर फर्केकी वौद्धिक व्यक्ति हुन् ।

प्रदेशसभाको चुनावमा समीक्षाले ४ हजार ३४३ मत पाएकी थिइन् । एमालेकी विष्णुकुमारी भुसालले ४ हजार ६१८ मत पाएकी थिइन् भने विजेता कांग्रेस नेता दीपेन्द्र श्रेष्ठले ६ हजार २३१ मत पाएका थिए ।

प्रदेशसभामा एमालेकै हाराहारीमा मत पाएकी समीक्षालाई यसपटक रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकाको मेयरमा उठाए । तर, बास्कोटा चुनावी दौडमा धेरै नै पछि परिन् ।

यससँगै काठमाडौँका जनताले विवेकशील साझा पार्टीलाई खासै नरुचाएको प्रष्ट भएको छ ।  

पिँधतिरै अड्किइन् समीक्षा
मतदानअघि प्रचारका क्रममा काठमाडौं महानगरले सबैभन्दा बलियो प्रतिस्पर्धीका रुपमा समीक्षा बास्कोटालाई लिएको थियो। उनका अभिव्यक्ति, भोलिका लागि बनाएको योजना सबै कुरालाई हेर्दा धेरैलाई लागेको थियो, काठमाडौंलाई चाहिने मान्छे समिक्षा नै हुन्। हुर्कँदाको राजनीतिक पृष्ठभूमि, कानूनी शिक्षा, व्यवसायिक जीवन, प्रष्ट अभिव्यक्ति र शालीन प्रस्तुती समीक्षाले चुनावी प्रचारका क्रममा देखाएका गुण हुन्। काठमाडौं महानगर हाँक्न प्रमुखमा हुनुपर्ने गुणसहित चुनावी प्रतिस्पर्धामा आएकी समीक्षाको मत परिणाम निकै कमजोर देखियो।

स्वतन्त्र रुपमा काठमाडौं महानगर हाक्ने सपना सहित उम्मेदवारी दिएका बालेन्द्र शाहले राम्रो मत सहित अग्रता लिइरहदा विवेकशिल साझा पार्टीको नेतृत्व गर्दै चुनावी मैदानमा आएकी समिक्षा पुछारमा छिन्।

गत बैशाख १ गते प्रमुख र उपप्रमुख दुबैमा महिला उम्मेदवार उठाएर राजनीतिक वृत्तमा एकखालको तरंग ल्याउन सफल विवेकशिल साझा चुनावी परिणामलाई हेर्ने हो भने पत्तासाफ जस्तै देखिन्छ। चुनावी प्रचारका क्रममा नेपाल खबरसँग कुरा गर्दै समिक्षाले अन्य दलका लागि सबैभन्दा बलियो प्रतिस्पर्धि आफू रहेको बताएकी थिइन।

आफ्नै पिताको राजनीतिक विरासत छोडेर आफ्नो बाटो आफैं बनाउँछु भन्दै राजनीतिमा आएकी समिक्षा निक्कै आत्मविश्वासी देखिन्थिन्। मेयर बन्ने दौडमा रहेका केशव स्थापितले झैं उट्पट्याङ जवाफ नदिए पनि समिक्षाले आफ्नो प्रतिस्पर्धी नभएको बताउँदै आएकी थिइन्।

उनले भनेकी थिइन् ‘मेरो प्रतिस्पर्धा मैसँग मात्रै हो। किनभने म अर्कोसँग प्रतिस्पर्धा गर्न थालेँ भने उसको नेगेटिभ कुरा निकाल्न थाल्छु, तर मैले मसँग प्रतिस्पर्धा गरे भने मैले आज भन्दा भोलि कसरी राम्रो गर्न सक्छु, पर्सि सबै कुरामा कसरी झन अब्बल भएर अगाडि बढ्ने भनेर खोजी गर्छु। त्यसैले मेरोे प्रतिस्पर्धी त म आफैं हो।’

महानगरमा प्रतिस्पर्धा नै भए पनि समीक्षा बालेन र केशव स्थापितलाई आफ्नो प्रतिस्पर्धी मान्न तयार थिइनन्। उनी आफ्नो प्रतिस्पर्धा कांग्रेसकी सिर्जना सिंहसँग हुने बताउँथिन्। महानगरबासीले सक्षम महिलालाई मेयर बनाउन चाहेको बताउने समीक्षा अहिले मौन छिन्। उनले प्रतिस्पर्धी नै नठानेका बालेन शाहले सबै दललाई आच्छु...आच्छु बनाइरहेका छन्।

प्रतिस्पर्धी भएर समीक्षाले जितको दाबी गरिरहँदा विवेकशील साझा पनि लोकप्रिय मत ल्याउनेमा आशावादी थियो। तर, महानगरको आधा मतगणना नहुँदै विवेकशील साझाले निराश हुँदै प्रेस विज्ञप्ति जारी गरिसकेको छ।

अघिल्लो निर्वाचनमा रञ्जु दर्शना र मिलन पाण्डेहरुले पाएको सम्मानजनक मत यसपटक समीक्षाले पाउने  विवेकशील साझाको मात्रै होइन, धेरैको अपेक्षा थियो। त्यसबेला उनीहरुको उपस्थिती खारिएका राजनीतिज्ञका लागि चक्मा ख्वाउनेखालकै थियो।

विभिन्न राजनीतिक तथा अन्य किसिमका आन्दोलनमा सरिक हुँदाहुँदै राजनीतिमा आएका रञ्जुहरुले विम्वात्मक रुपमा प्रयोग गरिने ‘नेपालीले मेनु सबै पढ्छन्, अन्तिममा मःम र चाउमिन अर्डर गर्छन्’ भन्ने मान्यतालाई भत्काइदिएका थिए।

यो निर्वाचनमा राजनीतिका लागि फ्रेस बालेनले लामो विरासत बोकेका राजनीतिक दललाई चक्मा दिइरहेका छन्। वैकल्पिक राजनीतिको सपना देखाएर राजनीतिक पार्टी भन्दा बाहिर पनि विचार छ भन्ने मान्यता स्थापित गराउँन सफल विवेकशिलकी सबल समीक्षा यो दौडमा पिँधतिरै अड्किरहेकी छिन्।

अघिल्लो निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेको विवेकशिल साझा यो निर्वाचनमा गन्तीमै आउन सकेन। बरु कहिले राजनीतिको ‘र’ नै उच्चारण नगरेका, ¥याप गाउँदै हिँडेका बालेन शाहले सबैलाई हायल–कायल बनाइरहेका छन्।

कहाँ गयो त अघिल्लो निर्वाचनमा विवेकशीलले ल्याएको लोकप्रिय मत? वैकल्पिक राजनीतिको सपना देखाएर रञ्जु दर्शनालाई यसअघि   नजरमा पर्न सकिनन्। राजनीतिको नयाँ मेनु सहित मैदानमा आएको विवेकशिलले वितेको पाँच वर्षमा थुप्रै उतारचढाव बेहोर्न पुग्यो। रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझाका संस्थापक नेता एकले अर्कालाई सक्काउने परम्परागत राजनीतिक शक्तिकै खेलमा लागे।

 अन्ततः वैकल्पिक पार्टीका रुपमा उदाएको विवेकशील साझा फुट्यो। राजनीतिक मेन्यु बदल्न राजनीतिमा आएका मिश्रहरु मेन्युमै सिमित भए। त्यहि मेन्युमा अब्बल देखिएकी समिक्षालाई मतदाताले पत्याएनन्।

संस्थापक नेताहरुको गल्तीका कारण अब्बल उम्मेदवारका रुपमा देखा परेकी समीक्षा बास्कोटाको मतलाई लिएर विवेकशील साझाले  पक्कै समीक्षा गर्ला ।  

रवीन्द्र मिश्रको पार्टीको मूल आधार काठमाडौं नै हो । तर, यहाँ एकाएक बालेन शाहको उदय भएसँगै मिश्रको पार्टीको प्रभाव खुम्चिएको छ । आखिर काठमाडौंमा किन फस्टाउन सकेन रवीन्द्र मिश्रको पार्टी ? स्थानीय चुनावले यो प्रश्न उब्जाइदिएको छ ।

आखिर किन फस्टाएन पार्टी ?
विवेकशील साझा पार्टीले अपेक्षाकृत भोट ल्याउन नसकेपछि सोमबार सो पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै आफूहरु दुःखी भएको बताएका छन् ।

पढौँ विवेकशील साझाको विज्ञप्ति–

स्थानीय निर्वाचन २०७९ को जारी नतिजाबारे

स्थानीय निर्वाचन, २०७९ को परिणाम आउने क्रम जारी छ। विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा हामी अत्यन्तै दुःखी छौँ।

गत पाँच वर्षमा हामीले स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेका छौँ। त्यसबाट हामीले देश भरी पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो।

साथसाथै, पार्टीमा हामीले टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपऱ्यो।

हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो। हामी त्यसमा क्षमा प्रार्थी छौँ। अपवादलाई छोडेर, पार्टी निर्माणको स्वाभाविक प्रसव पीडाबाट पार नगरी संसारमा कुनै पनि पार्टी र नेतृत्व निर्माण भएको छैन। गत ५ वर्ष हामी त्यही प्रक्रियाबाट गुज्रियौँ। यो तथ्यलाई पनि मनन गरिदिन हामी विनम्र आग्रह गर्दछौँ।

कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन्। अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ।

वैचारिक उथलपुथल र कयौँ अन्य कमजोरीका बाबजुद हामीले हाम्रो इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै गुमाएनौँ। त्यो कहिल्यै गुम्ने पनि छैन। यो हाम्रो प्रतिबद्धता हो।

गत पाँच वर्षको पार्टी निर्माणको अनुभवबाट हामीले धेरै सिक्यौँ। ती सिकाइका आधारमा हामीले अब केही निर्मम समीक्षा र निर्णयहरू गर्नु पर्नेछ, जुन हामी गर्नेछौँ।

अरू कयौँ पार्टीहरूले पैसाको खोलो बगाइरहँदा, पार्टीबाट एक पैसा सहयोग नहुने स्पष्ट हुँदाहुँदै पनि परिवर्तनको आकाङ्क्षाले आँट गरेर चुनावमा होमिनु भएका पार्टीका सम्पूर्ण उम्मेदवारहरूप्रति पार्टी अत्यन्तै आभारी छ।

त्यसैगरी, निर्वाचन लगायत पार्टीको सम्पूर्ण उथलपुथलमा साथ दिने, नैतिक, आर्थिक र भौतिक सहयोग गर्ने सम्पूर्ण नेपालीहरूप्रति विवेकशील साझा पार्टी हार्दिक आभार प्रकट गर्दछ।

शरदराज पाठक

प्रवक्ता

विवेकशील साझा पार्टी

२ जेठ, २०७९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .