निर्वाचन विशेष


विष्णु पौडेलको गृहजिल्लामा वडा तहबाटै हार्‍यो एमाले

विष्णु पौडेलको गृहजिल्लामा वडा तहबाटै हार्‍यो एमाले

सुदीप भण्डारी
जेठ ६, २०७९ शुक्रबार १५:४०, रुपन्देही

लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र बुटवल एमालेले आफ्नो गढ मान्दै आएको ठाउँ हो। 

२२ वर्षअघि कांग्रेसबाट सूर्यप्रसाद प्रधान यस क्षेत्रबाट सांसद भएयता संसदीय चुनावमा एमालेले अरुलाई उभिन दिएको छैन। तीनवटै संसदीय चुनावमा एमालेका विष्णु पौडेल यहाँबाट ‘ह्याट्रिक’ गरेका छन्। 

स्थानीय चुनावतर्फ ०४९ सालमा कांग्रेसले जितेको थियो भने। ०५४ र ०७४ का दुबै स्थानीय चुनावमा बुटवलमा एमालेले मेयर उपमेयरसँगै धेरै वडा जितेको थियो।
पाँच वर्षअघिको चुनावमा बुटवल उपमहानगरपालिकाका १९ वटा वडामध्ये तीनवटा वडाध्यक्ष मात्र कांग्रेसले जितेको थियो। बाँकी १६ वटा वडामा एमाले विजयी भएको थियो। योपटक एमालेले बुटवलबाट अघिल्लोपटक जितेका धेरै वडा गुमाएको छ। 

मेयरमा पनि कांग्रेसले एमालेसँगको अन्तर फराकिलो पारेको छ। कांग्रेसका मेयरका उम्मेद्वार खेलराज पाण्डेले एमालेका बाबुराम भट्राईसँगको मतान्तर ६ हजारभन्दा बढी पुर्याइसकेका छन्। उपमेयरमा भने एमालेकी सावित्रा अर्याल अगाडि छन्। 

गठन्धनको तर्फबाट एकीकृत समाजवादीका चीनबहादुर गुरुङ केही पछि छन्। बुटवलमा १७ वटा वडाको अन्तिम नतिजा आइसकेको छ। जसमध्ये ४ वटा वडामा मात्र एमाले विजयी भएको छ। वडा नम्बर १४ मा मात्र उसले प्यानलसहित जितेको छ।

वडा नम्बर १०, १८ र १९ वडाध्यक्ष एमालेकै आए पनि वडा सदस्यमा गठबन्धनका पनि आएका छन्। १४ र १० नम्बर वडामा यस अघि पनि एमाले विजयी भएको थियो। १८ र १९ मा यस अघि कांग्रेस विजयी भएको थियो। 

एमालेले यसअघि जितेका १, २, ३, ४, ५, ६, ७, ८, ९, १५ र १६ नम्बर वडा गुमाएको छ। यीमध्ये वडानम्बर १ मा कांग्रेसका बागी नरेन्द्र बस्नेत विजयी भएका छन्।

वडा नम्बर २ मा रमेश नेपाल वडाध्यक्षमा दोहोरिन खोजे पनि सकेनन्। अघिल्लो पटक १५२० मत ल्याएर वडाध्यक्ष जितेका उनले अहिले त्यसको निकै कम, ८३४ मत मात्र पाउन सके। वडा नम्बर २ मा एकीकृत समाजवादीका सुनील शाक्य ८७१ मत ल्याएर विजयी भए।

यस वडामा गठबन्धन नभए पनि सुनिलले विगतका एमालेका मतदातालाई आफ्नो पक्षमा पारेका हुन्। यो वडामा कांग्रेस र माओवादीका आफ्नै उम्मेदवार थिए। 
वडा नम्बर ३ मा भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विष्णु ढकाल विजयी भए। रुख चिह्नबाटै चुनाव लडेका उनले एमालेका घनश्याम चापागाईलाई ९ मतको अन्तरले पराजित गरे। 

वडा नम्बर ४ मा अघिल्लो पटक एमालेका टंक पराजुली २१२ मतान्तरले विजयी भएका थिए। उनै टंकलाई अहिले कांग्रेसका नारिश्वर शर्माले ९०३ मतले पराजित गरे। 

वडा नम्बर ५ मा अघिल्लोपटक एमाले कांग्रेससँग ६५ मतले विजयी भएको थियो। अहिले कांग्रेसका हरिप्रसाद श्रेष्ठले एमालेका जलिल मियाँलाई १६२ मतान्तरले पराजित गरे। 

वडा नम्बर ६ मा कांग्रेसका लोकनाथ न्यौपाने १ हजार २२१ म्त ल्याएर विजयी हुँदा एमालेका जगदीशचन्द्र आचार्यले ९६१ मत मात्र ल्याए। जगदीश अघिल्लोपटक कांग्रेस उम्मेदवारलाई झण्डै ४ सय मतान्तरले पछि पारेर विजयी भएका हुन्। 

वडा नम्बर ७ मा कांग्रेसका पदमराज गाहा २ हजार ४०२ मत ल्याएर वडाध्यक्षमा विजयी भए। एमालेकी सीता थापाले १ हजार ५२६ मत ल्याइन्। अघिल्लो पटक यो वडामा एमालेका कमलप्रताप थापाले कांग्रेसका गाहालाई साढे २ सय मतान्तरले पराजित गरेका थिए। 

वडा नम्बर ८ मा अघिल्लो पटक एमाले साढे ४ सय मतान्तरले विजयी भएको थियो। एमाले उपाध्यक्ष विष्णु पौडेल मतदाता भएको यो वडामा अहिले कांग्रेसका यज्ञप्रसाद पंगेनी विजयी भएका छन्। पंगेनीले १ हजार ५३९ मत ल्याउँदा एमालेका ज्ञानप्रसाद अर्याल १ हजार ५०८ मत मात्र ल्याए। 

वडा नम्बर ९ मा कांग्रेसका प्रदीपकुमार श्रेष्ठ विजयी भए। उनले एमालेका भोजबहादुर बुढाथोकीलाई पराजित गरे। 

वडा नम्बर १३ मा कांग्रेसका नारायणसिंह पुनः फेरि वडाध्यक्षमा दोहोरिएका छन्। पुनले एमालेका शोभाखर पोखरेललाई ११४ मतले पराजित गरे। 

वडा नम्बर १५ मा कांग्रेसका शिव रानाले एमालेका डम्बरबहादुर भण्डारीलाई २८० मतान्तरले पराजित गरे। 

वडा नम्बर १६ मा कांग्रेसका कृष्णप्रसाद पौडेलले एमालेका रामराज तिवारीलाई २४३ मतान्तरले पराजित गरे। वडा नम्बर १७ मा कांग्रेसका ज्ञानप्रसाद रेश्मी एमालेका गंगाप्रसाद तिवारीलाई २८५ मतले पछि पार्दै विजयी भए। 

एमालेले जितेका वडामध्ये वडा नम्बर १० मा भने एमालेका बलु पुनले कांग्रेसका किसनबहादुर थापालाई मात्र २ मतको अन्तरले पराजित गरेका छन्। बलुले ९०१ मत ल्याउँदा  किसनले ८९९ मत पाएका थिए। यो वडामा अरु ३ जना सदस्य गठबन्धनका छन्। 

वडा नम्बर १४ मा एमालेका दधिराम न्यौपाने प्यानलसहित विजयी भएका छन्। उनले कांग्रेसका नरबहादुर मल्ललाई २३५ मतले पराजित गरे। 

वडा नम्बर १८ मा एमालेका गुरु पंगेनीले कांग्रेसका गोलेप्रसाद चौधरीलाई १९ मतले पछि पारे। १८ मा वडा सदस्यहरु कांग्रेसकै निर्वाचित भएका छन्। 

१९ मा एमालेका चन्द्रसिंह थापाले कांग्रेस उम्मेदवार मिनप्रसाद श्रेष्ठले ३२ मतले पराजित गरेका हुन्। 

बुटवलका मतदाताले केही फरक नेतृत्व खोज्दा वडाहरुको समेत नतिजा उल्टिएको हुन सक्ने अनुमान गरिन्छ। गठबन्धनले एमालेबाट खोसेका ११ वटा वडा हुन् वा एमालेले कांग्रेसबाट खोसेका २ वटा वडाले त्यस्तै अनुमान गर्न सकिन्छ। 

सुकुम्बासी बस्तीको आश
अहिले वडा नम्बर ११ र १२ नम्बरको मतगणना भइरहेको छ। वडा नम्बर ११ लुम्बिनी प्रदेशकै धेरै मतदाता भएको वडा हो। १६ हजार बढी मतदाता रहेकोमा गत बैशाख ३० गते भएको चुनावमा १० हजार ३७३ मत खसेको छ।

बुटवल ११ बाक्लो सुकुम्बासी बस्ती भएको वडा हो। लालपूर्जाका आशामा बसेका मतदाताले यसपटक जनप्रतिधि फेर्छन् कि कायम राख्छन् भन्ने जिज्ञासा यहाँको मतगणनाले नै देखाउनेछ।

चुनाव प्रचारका बेला कांग्रेस र एमालेका उम्मेदवारले सुकुम्बासीको पक्षमा आ–आफ्नै आशवासन दिएका थिए। एमालेबाट लालपूर्जा वितरण हुन नसकेको र आफूहरु नगरपालिकामा आएपछि सुकुम्बासी समस्या समाधान गर्ने कांग्रेसले बताएको थियो। 

तर, एमालेले लालपुर्जा वितरणका लागि सबै तयारी भइसकेको र कांग्रेसले आयोग भंग गर्दा दिन नपाएको बताएका थिए। अहिले दुबैथरी मन भएका सुकुम्बासी बस्तीमा छन्। 

खेलराजले दिएको चुनौती
अहिले मतगणना जारी रहँदा कांग्रेसका खेलराज पाण्डे एमालेका उम्मेद्वार भन्दा ६ हजार भन्दा बढी मतले अगाडि छन्। ११ नम्बर वडामा एमालेले थोरैले अग्रता लिएमा पनि पाण्डेलाई गाह्रो हुने छैन। अरु वडा जसरी नै परिणाम आइरहेमा भने ११ नम्बर वडामा समेत कांग्रेस विजयी हुन सक्छ। 

एमालेले आफ्नो गढ ठानेको बुटवलमा अहिलेको चुनावमा मेयरका लागि केही चुनौति देखेको थियो। खेलराज पाण्डे जनस्तरमा भिजेका नेता हुन्। त्यसको तुलानामा बाबुराम भट्राईको स्थानियसँगको घुलमिल कमजोर थियो। मेयर शिवराज सुवेदीको कार्यशैलीले धेरैले रुचाएका थिएनन्। त्यसैले पनि मेयरमा अलि बढि चुनौति देखेको भए पनि यति धेरै वडा हारिन्छ भन्ने एमालेले कल्पना गरेको थिएन। 

मतगणनाको नतिजा आइरहँदा बुटवलका मतदातामा वडा तहबाटै असन्तुष्टि देखिएको छ। प्रदेश राजधानी दाङ जान रोक्न पहल नगर्नु, बुटवलको मुख्य सडकको अस्तव्यस्त अवस्था, जनप्रतिनिधि फेरेमा लालपूर्जा पाइन्छ कि भन्ने आशा लगायतका कारण बुटवलका मतदाताले वडा तहबाटै जनप्रतिनिधि फेर्न खोजेको हो कि भन्ने लाग्छ। त्यसैका कारण वडा तहमा समेत एमालेको नतिजा एकपछि अर्को गरी उल्टिएको हुनसक्ने विश्लेषण गर्न सकिन्छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .