ad ad

रोजगार


कामको पर्खाइमा भोकै श्रमिक

कामको पर्खाइमा भोकै श्रमिक

कामको पर्खाइमा भोकै श्रमिक। तस्बिर : रासस


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार ६:४९, टङ्कीसिनवारी

दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन्। तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नुपर्ने श्रमिकको बाध्यता छ। 

कटहरी, जहदा, देवानगन्ज, भुटाहा, डाइनिया, छिटाहालगायतका गाउँबाट विशेषगरी घर निर्माणको काम गर्न भन्दै विराटनगरको भूमि प्रशासन चोक, पञ्चमुखी हनुमान चोक, घाँस चोक, भट्टा चोकमा सयौँको सङ्ख्यामा श्रमिक बिहानैदेखि भेला हुने गर्छन्। बिहानको ८ बजेसम्म काममा लागिसक्नु पर्ने भएकाले श्रमिकलाई एकाबिहानै घरबाट निस्किसक्नुपर्ने बाध्यता छ। झिसमिसे उज्यालोमा नै बहुसङ्ख्यक श्रमिक नास्तासमेत नगरी घरबाट विराटनगर हिँड्छन्। 

काम पाएको दिनमा मात्र विपन्न वर्गका श्रमिकको घरमा चुल्हो बल्ने गरेको छ। काम नपाएको दिन भोकै घर फर्कनुपर्ने श्रमिकलाई बाध्यता छ। घरको निर्माणको काम लिने ठेकेदारले विराटनगरका विभिन्न स्थानबाट यस्ता श्रमिकलाई काममा लिएर जाने गरेका छन्।

तर हिजोआज काम भेटिन छाडेको छ। चाडबाड र आउनै लागेको निर्वाचनका कारण घर निर्माणको कार्य सुस्त बन्दै गएको श्रमिकको ठम्याइ छ। बिहान भोकै विराटनगर आइपुग्नु र फेरि निराश भएर भोकै गाउँतर्फ नै पाइला चाल्नुबाहेकको कुनै विकल्प श्रमिकले देखेका छैनन्। 

जहदा गाउँपालिका–३ का शिवानन्द राजवंशी ज्यामी काम गर्न शनिबार बिहानै विराटनगर आए पनि काम भेटिएन। बिहानको १० बजेसम्म कुर्दा पनि काम दिन कोही पनि आएन। राजवंशीले विगत डेढ महिनादेखि कैयौँ पटक यसरी भोकै फर्कनुपरेको बताए। 

धनपालथान गाउँपालिका–१ का कृष्णकुमार रामले विराटनगरमा काम भेटे दिउँसो खाने गरेको नत्र भोकै घर फर्कने गरेको बताए। काम नपाउँदा समस्या बढेको रामको भनाइ छ। उनले किस्ता तिर्न धौ–धौ परेको, चामल सकिएको र घरका बालबालिकालाई समेत खुवाउन मुस्किल परेको बताए। 

बर्जु गाउँपालिका–५ का सद्दाम हुसैन डकर्मी काम गर्न शनिबार आएका थिए। हुसैनले काम नभेटेको तीन महिना भयो। उनले घर चलाउन मुस्किल भएपछि छरछिमेकबाट सापटी लिँदै जेनतेन जीवन धानिरहेका छन्। 

बर्जु गाउँपालिका–५ का शम्भु यादवले ठेकेदार पनि कामविहीन हुँदा आफूहरूलाई समस्या भएको बताए। उनका अनुसार तीन महिनादेखि विराटनगरमा घर निर्माणको काममा कमी आएको छ।

स्थानीय सरकारले दैनिक ज्यालामा काम गर्ने श्रमिकको समस्या सम्बोधन गर्ने विषयमा कुनै चासो नलिएको हुँदा आफूहरू भोकभोकै बस्नु पर्ने अवस्था आइलागेको यादवको गुनासो छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .