उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको गिरफ्तारीबारे मौन देखिएको छ। एमालेको सचिवालय बैठकले अध्यक्ष ओलीको गिरफ्तारी विरुद्ध अन्य दलहरूसँग समन्वय गर्दै आन्दोलन अघि बढाउने प्रयत्न गरिरहेको बेला जसपाले आईतबार एक विज्ञप्ती जारी गर्दै एमालेको प्रयत्नमा साथ नदिने संकेत गरेको छ।
केन्द्रीय समन्वय समितिको बैठकपछि डा. सुरेन्द्र कुमार झाद्वारा जारी गरिएको विज्ञप्तीमा नेताहरूको गिरफ्तारी र सरकारको कदमबारे कुनै विरोध जनाइएको छैन। विज्ञप्तीमा सरकारले पूर्वाग्रहबाट मुक्त भएर काम गर्नुपर्ने मात्र उल्लेख गरिएको छ। जसपाले भनेको छ– राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त भएर काम गर्नेछ भन्ने विश्वास जसपा नेपालले राख्दछ।
जसपाले बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले अनिश्चिता अन्त्य गर्ने विश्वास पनि व्यक्त गरेको छ।
‘हालै सम्पन्न निर्वाचन परिणामअनुरुप राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताको नेतृत्वमा बनेको सरकार तथा मन्त्रिपरिषद्को गठनले देशमा ब्याप्त राजनीतिक अन्यौलता तथा अनिश्चितता अन्त्य हुने विश्वास लिएका छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का सदस्यहरुलाई जनता समाजवादी पार्टी, नेपाल हार्दिक बधाईसहित सफल कार्यकालको कामना गर्दछ।’
जसपाले नेपाली जनताको संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै सरकारले विधिको शासन तथा कानूनी राज्यको प्रत्याभूति गराउने विश्वास पनि व्यक्त गरेको छ। अघिल्लो निर्वाचनसम्म मधेशमा सबभन्दा शक्तिशाली मध्ये एक जसपा राष्ट्रिय पार्टीसमेत बनेको थियो। तर यो पटकको निर्वाचनमा उसले एक सिट पनि नजिती शर्मनाक हार ब्यहारोको छ।
Shares

प्रतिक्रिया