रोजगार


पाँचतारे होटल हायातले हटाउँदै १३३ श्रमिक

पाँचतारे होटल हायातले हटाउँदै १३३ श्रमिक

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १०:५६, काठमाडौँ

जेनजी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हायात रिजेन्सीले श्रमिक कटौतीको घोषणा गरेको छ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाउँदै १३३ जना श्रमिकको कटौती गर्ने निर्णय गरेको हो। यो निर्णय मंसिर २२ गतेबाट लागू हुने होटलको मानव शंसाधन विभागका महाप्रवन्धक आशिष कुमारले बताए। 

होटलले सूचना प्रकाशित गरी श्रमिक कटौती गर्ने निर्णय भएको जनाएको छ। ‘होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नुपर्ने एवं यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकहरूलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पूर्ण श्रमिकहरूलाई कटौती गर्नपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात मिति २०८२/०८/२२ गतेदेखि लागू हुनेगरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गर्न यो सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ। 

जेनजी आन्दोलनका क्रममा आपराधिक समूहले होटल परिसरमा प्रवेश गरी तोडफोड, लुटपाट र आगजनी गरेको थियो। उक्त घटनामा एक विदेशी पाहुनाले आगलागीबाट ज्यान जोगाउने क्रममा चौथो तलाबाट हामफाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो। आगलागी र तोडफोडका कारण होटलको भौतिक संरचना क्षति भएको छ। 

महाप्रबन्धक कुमारले होटलको मर्मत सम्भार नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेकाले मर्मत अवधिभर कुनै आम्दानी नहुने र ठूलो आर्थिक चुनौतीको सामना गर्नुपर्ने अवस्थाका कारण श्रमिक कटौती गर्नुको विकल्प नरहेको बताए। 

कोभिड-१९ महामारीको कारण लामो समय होटल तथा पर्यटन क्षेत्र प्रभावित भएको र हालसालै केही सुधारको संकेत देखिन थालेको अवस्थामा भदौ २४ को घटनाले होटललाई पुनः गम्भीर आर्थिक संकटमा पारेको व्यवस्थापनले जनाएको छ। हायातले भनेको छ, ‘कोभिड-१९ का कारण लामो समयसम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठूलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा मिति २०८२ भदौ २४ को घटनाको कारण पुनः होटललाई ठूलो आर्थिक क्षति हुन पुगेको छ। यस परिस्थितिमा होटलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने र मर्मत अवधि भर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौति समेत आएको छ।’ 

होटलले श्रमिक व्यवस्थापनका सम्बन्धमा सक्रिय ट्रेड युनियनहरूसँग छलफल गरे पनि कुनै ठोस निष्कर्षमा पुग्न नसकिएको हायातले जनाएको छ। बौद्धस्थित हायात रिजेन्सी नेपालको प्रमुख पाँचतारे होटलमध्ये एक हो। भदौ २४ को घटनापछि होटल पूर्ण रूपमा बन्द रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad