नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको मौलिक भनिएको दोहोरी गीत अचेल हेरिनसक्नु भएको बताएका छन्।
नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चले गरेको एक कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा ओलीले दोहोरीमा छिरेको विकृतिबारे बोलेका हुन्।
'दोहोरी भनेर गीत गाउँछन्, यसो टेलिभिजनमा हेर्यो, के के गाउँछ, के के भन्छन्, हेर्दा हेर्दै उठेर भाग्नुपर्छ', ओलीले भने, 'अचेल त हेर्नै सकिँदैन के के भन्छन् भन्छन्! दोहोरी हो कि रत्यौली हो चिन्न गाह्रो भयो।'
उनले अहिले दोहोरीमा प्रयोग भएका शब्दा उहिले रत्यौलीमा मात्रै प्रयोग हुने गरेको पनि बताए। 'म अलि अलि बुझ्ने भएको रहेछु। गाउँमा हुँदा रत्यौली हेर्न गएको थिएँ। तर रत्यौलीमा प्रयोग हुने शब्द अलिअलि बुझ्ने भएकाले भागेर हिँडे। अहिले त समाजमै रत्यौली खेल्न थालेपछि भाग्ने कहाँ, लुक्ने कहाँ, जाने कहाँ?'
उनले अब दोहोरी गीत र हाम्रो संस्कृतिमा देखिएको विकृतिलाई सुधार्नुबाहेक विकल्प नरहेको बताए। 'अब त्यसलाई सहनु र बदल्नु लाग्नुबाहेक हामीसँग विकल्प छैन', उनले भने, 'सांस्कृतिक अधपतनलाई रोक्नुपर्छ। त्यसलाई सच्याएर अगाडि बढ्नुपर्छ।'
उनले भूकम्पले भत्किएको धरहरा दुई वर्षमा बनाएको बताए। 'धरहरा भत्कियो, दुई वर्षमा बनायौँ । तर जब संस्कृति र संस्कार भत्किन्छ दुई वर्षमा होइन, दुई पुस्तामा पनि बनाउन गाह्रो हुन्छ', उनले भने, 'देश नै अहिले त बेइमानले चलाएका छन्। झुट बेइमानीबाहेक कहीँ नहुने भएको छ। हाम्रो समाज छातीमा हात राखेर भन् भनेपछि झुटो बोल्न सक्दैनथ्यो। तर अहिले त्यो दिन रहेन।'
Shares

प्रतिक्रिया