अभिनेता राजेश हमाल आफैँले स्वर दिएको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैँले स्वर दिएको र आफ्नै अभिनय रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडिओ सार्वजनिक गरिएको हो।
दीपक शर्माको गीत तथा संगीत तथा देवेन्द्र पाण्डेको निर्देशनमा तयार पारिएको म्युजिक भिडिओमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ।
कार्यक्रममा बोल्दै अभिनेता हमालले आफैँले स्वर दिएको पहिलो म्युजिक भिडिओ सार्वजनिक भएकोमा खुसी लागेको प्रतिक्रिया दिए। उनले आफू पाँच कक्षासम्म पढ्दा गीत गाउने गरेको स्मरण गराउँदै आफूलाई गायक बनाउन सहयोग गरेका भन्दै गीतकार शर्मा र निर्देशक पाण्डेप्रति आभार व्यक्त गरे।
हमालसँगै अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु आफ्नो लागि भाग्यको विषय भएको प्रतिक्रिया दिइन्। उनले सो अवसर प्रदान गरेकोमा म्युजिक भिडिओका निर्देशक पाण्डेसहितको टिमलाई पनि धन्यवाद दिइन्।
भिडियोमा अभिनेता हमाल र अभिनेत्री घिमिरेको जोडि जमेको देख्न सकिन्छ।
Shares

प्रतिक्रिया