नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ मा वरिष्ठ गीतकार राजेन्द्र थापालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ।
पोहोर साल खुशी फाट्दा, पर लैजाउ फूलहरु, क्या दामी, याद गर्न पनि, गाला रातै, पहिलो नम्बरमा लगायतका सयौं सदाबहार गीतका स्रष्टा वरिष्ठ गीतकार राजेन्द्र थापालाई यस वर्षको म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्न लागिएको आयोजकले जनाएको छ।
त्यसैगरी यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान गायक रामप्रसाद खनाललाई अर्पण गरिने भएको छ। गायक खनाल लोकदोहोरीको क्षेत्रमा प्रवर्द्धका रुपमा चिनिन्छन्।
तीन दशकदेखि गीतसंगीतमा क्रियाशील रहेका खनालका चार दर्जन गीति एल्बम बजारमा आइसकेका छन्। फुटकर गीतहरू पनि प्रकाशित भएका छन्। उनी पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका छन्।
त्यस्तै गायक हेमन्त शर्मा र गायिका सीता थापालाई यस वर्षको म्यूजिक खबर दशकको स्रष्टा सम्मान प्रदान गरिने भएको छ। गायक हेमन्त शर्मा दुई दशक लामो समयदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील रहेका छन्।
‘मुटुभित्र गुन्जिरहन्छ तिम्रो नाम’ गीतबाट सांगीतिक क्षेत्रमा आएका शर्माका ‘ओ प्रिय, माया साह्रै महंगो, थापा न थापा, आउँदै गर मालती, मूल हौ भने रसाइदेऊ’ लगायतका गीत लोकप्रिय छन्।
गायिका सीता थापा काठ क्षेत्रको सांगीतिक इतिहास बोकेकी गायिका हुन्। उनले लोकदोहोरी, काठे तथा पूर्वेली गीत तथा चलचित्र गीतमा स्वर दिएकी छिन्।
यस वर्षको युवा प्रतिभा संगीत सम्मान गायक राजु ढकाललाई अर्पण गरिने भएको छ। गायक राजु ढकाल विगत दुई दशकदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील गायक हुन।
उनका ‘वर्ष दिन भो, लौरी हरायो, दुई बिसेले छोयो, पिरतीको इतिहास, नहाँसी नहुने, तिम्रै माया लाग्छ सानु, के गरेर हो’ लगायतका गीत चर्चामा छन्।
यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार भने रङ्ग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ।
त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका सफलता श्रेष्ठलाई प्रदान गरिने भएको छ। सफलता सानै उमेरमा गायनमा सक्रिय गायिका हुन्। उनले केहि म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।
Shares

प्रतिक्रिया