कार्यक्रम चलाएर चर्चा र बिवादमा आउने रंग पत्रकार हुन– प्रकाश सुवेदी।
उनको कार्यक्रम विरुद्ध उजुरी लिएर कलाकारहरु विभिन्न संघ संस्था पुगिरहेका हुन्छन्। अघिल्लो साता मात्रै प्रकाशको ‘रजतपट’ विरुद्ध उजुरी लिएर अभिनेत्री वर्षा शिवाकोटी प्रेस काउन्सिल पुगेकी थिइन्।
कार्यक्रममा प्रस्तुत गरेको सामग्रीकै कारण अर्की अभिनेत्री पूजा शर्मासँग पानी बाराबार जस्तै छ।
उनको पछिल्लो कार्यक्रम ‘बागिना’लाई लिएर पनि बिवाद सुरु भएको छ। ‘बागिना’ मार्फत दुर्गेश थापालाई ‘बाथरुम सिंगर’ भनेका प्रकाशमाथि दुर्गेश पनि खनिएका छन्। दुर्गेशले सामाजिक सञ्जाल मार्फत प्रकाशलाई जवाफ फर्काइरहेका छन्।
दुर्गेशले टिकटक मार्फत प्रकाशलाई जवाफ फर्काइरेका छन्। सार्वजनिक कार्यक्रममै दुर्गेशले आफू गायक नभएर ‘स्टेज पर्फरमर’ भएको बताएका छन्। उनले आफूलाई नारायण गोपाल, यम बराल, रामकृष्ण ढकालसँग नदाज्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘म त्यो हैसियतको मान्छे होइन।’
दुर्गेशले कसैको कामको टिप्पणी गरे पनि कसैलाई व्यक्तिगत रुपमा होच्याउन नपाइने बताएका छन्। उनले आफूले यहाँसम्म आइपुग्न धेरै संघर्ष गरेको बताउँदै आफ्नो दुःखलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन्।
उनले संघर्षका दिन सम्झदै भने, ‘डान्सबारमा कोरस नाच्दै चाउचाउ खाँदै यहाँसम्म आइपुगेको हुँ।’
उनले आफूले गायक होइन भन्दाभन्दै ‘बाथरुम सिंगर’ भनेर बारम्बार भन्दा रिस उठेको बताएका छन्। आफ्ना साना भाइहरुलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा खसालेर बोलेकाले उनलाई पनि टिकटकबाट जवाफ दिएको दुर्गेशले बताएका छन्।
आफूलाई विभिन्न शब्द प्रयोग गरेर घोचेको घोच्यै गर्ने प्रकाशको मन दुख्छ कि दुख्दैन भनेर जाँचेको दुर्गेशले बताए।
आफ्नो कुराले प्रकाशको पनि मन दुखेपछि उनले भने, ‘मन त उहाँको पनि दुख्दो रहेछ, मेरो पनि दुख्छ’ उनले अगाडि भने ‘उहाँले हाने म पनि हान्छु, उहाँले सम्मान गरे म पनि गर्छु।’
Shares

प्रतिक्रिया