खगेन्द्र लामिछानेको हिट चलचित्र ‘पशुपति प्रसाद’को सिक्वेल बन्ने भएको छ।
निर्देशक दीपेन्द्र के खनाल र कलाकार खगेन्द्र लामिछाने ‘पशुपति प्रसाद–२’को स्क्रिप्ट लेखनमा बसेको लामो समय भइसक्यो। अब भने चलचित्र लेखनको अन्तिम चरणमा पुगेको खनालले बताएका छन्।
कथाको रिसर्चमा नै लामो समय लागेको दीपेन्द्र बताउँछन्। खगेन्द्र र दीपेन्द्र अन्तिम चरणको कथा लेखनमा छन्।
‘पशुपति प्रसाद’मा भस्मे डनको भूमिकामा देखिएका विपिन कार्कीलाई सिक्वेलमा भने शीर्ष भूमिकामा देखाउने निर्देशकको तयारी छ।
कथा लेखनमै विपिनलाई कसरी शीर्ष भूमिकामा देखाउन सकिन्छ भनेर खगेन्द्र र दीपेन्द्र दुवै लागिपरेका छन्।
पशुपति प्रसादमा खगेन्द्र लामिछानेले शीर्ष भूमिका निर्वाह गरेका थिए।
पशुपति प्रसादपछि खगेन्द्र र दीपेन्द्रले ‘धनपति’मा सहकार्य गरे। त्यसपछि भने उनीहरु एक्लाएक्लै काम गर्दै आएका थिए। खगेन्द्रलाई छोडेर दीपेन्द्रले ‘आमा’ चलचित्र बनाए। आमा हिट भएपछि बनाएको ‘चिसो मान्छे’ भने प्रदर्शन हुन बाँकी छ।
खगेन्द्रले पनि अशोक शर्मासँग मिलेर ‘जयभोले’ बनाए। चलचित्रले औसत व्यापार गर्यो। मिश्रित प्रतिक्रिया पायो। उनले अर्को चलचित्र ‘पानी फोटो’निर्माण गरे। यो चलचित्र पनि प्रदर्शन हुनै बाँकी छ।
सहकार्यमा राम्रा चलचित्र बनाएका खगेन्द्र र दीपेन्द्रको पुनः सहकार्यलाई लिएर फिल्म उद्योग आशावादी देखिएको छ।
विपिन बाहेक ‘पशुपति प्रसाद’को सिक्वेलमा अन्य कलाकार को-को देखिने भन्ने कुरा भने सार्वजनिक भएको छैन।
Shares

प्रतिक्रिया