कला


पत्रकार एवम् लेखक बसन्त बस्नेतले ल्याए ‘महाभारा’

पत्रकार एवम् लेखक बसन्त बस्नेतले ल्याए ‘महाभारा’

नेपालखबर
पुस २४, २०७८ शनिबार १७:१२, काठमाडौँ

 पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ। काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरिन्।

मेलामा पुस्तक लोकार्पण कार्यक्रमसँगै उपेन्द्र सुब्बाले किताबबारे टिप्पणी गरे। युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको उनको भनाइ छ। ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो,’ उनले भने।  

कार्यक्रममा लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारुले संवादसमेत गरिन्। संवादमा थारुले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर बस्नेतसँग संवाद गरेकी थिइन्।

नेपाली भाषालाई लिम्बू लबजको व्याकरणमा मिलाएर लेखिनु नै यो उपन्यासको सबल पक्ष रहेको थारुले बताइन्। 

‘नेपालका विभिन्न क्षेत्रमा विभिन्न किसिमका लबजमा नेपाली भाषा बोलिन्छ। त्यसलाई साहित्यमा ल्याउने काम जटिल नै छ,’ उनले भनिन्, ‘तर बसन्तजीले पूर्वेली लिम्बू लबजलाई नेपाली भाषामा जसरी उतार्नुभएको छ, त्यो अति मीठो छ । यही नै यसको सशक्त पक्ष हो।’

तत्कालीन युद्धरत पक्ष माओवादी र नेपाली सेना थिए । तिनका बीचमा सर्वसाधारण जनता पिल्सिएका थिए। तर पुस्तकमा लेखकले द्वन्द्वको चित्रण गर्दा सबै पक्षबीच ‘ब्यालेन्स’ मिलाएको पनि थारुको भनाइ छ।

कोभिडका कारण सुरु भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको लेखक बस्नेतले बताए। ‘लकडाउनले धेरैलाई कवि बनायो। मलाई उपन्यासकार,’ उनले भने, ‘एउटा कथानक धेरै अघिदेखि हृदयमा गुम्फिइरहेको थियो, जुनसुकै बेला ल्यापटपमा तप्किन तयार। पहिलो मस्यौदा लेखिइँदा म नेपाल म्यागजिन सम्पादन गर्दै थिएँ। अग्रज आख्यानकार नारायण वाग्लेलाई एकसरो देखाएर सुझाव लिने बेलासम्म पत्रिकाको नेतृत्वबाट बाहिरिइसकेको थिएँ। मसँग उपन्यासका लागि सोच्ने पर्याप्त समय भइदियो। फुर्सदमा व्यस्त बन्न पाएँ । त्यसैले यो किताब तयार हुन सक्यो।’

संवादसँगै रिदम कँडेलले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए। कँडेलको प्रस्तुतिपछि कवि नवराज पराजुलीले कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा लोचन रिजालले समेत साङ्गीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा प्रकाशकका तर्फबाट फाइनप्रिन्टका अजित बरालले आफ्नो धारणा राखेका थिए। आफू ‘महाभारा’लाई लिएर अति उत्साहित भएको उनले बताए।

‘स्मरणीय पात्रहरू, हास्यरसको प्रचुरता र नेपाली आख्यानमा विरलै पाइने संवादले ‘महाभारा’लाई पछिल्लो समयमा प्रकाशित राम्रा आख्यानको पङ्क्तिमा दरिलोसँग उभ्याउनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने।

कार्यक्रममा गायिका झुमा लिम्बू र उनको रैथाने समूहको प्रस्तुतिसमेत रह्यो। उनको समूहले विशेषगरी ‘महाभारा’ पुस्तकको थिममा आधारित रहेको साङ्गीतिक प्रस्तुति दिएको थियो । कार्यक्रममा टोमस कारोस्को र मनीष गन्धर्वको समेत प्रस्तुति थियो। 

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो। डुक्पा उटपट्याङ गरिबस्छ। पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ। पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ। त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ  नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ। उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ। एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ।

मधुर पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण हो, महाभारा। पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad