ad ad

कला


खोप कार्ड देखाऊ, फिल्म हेर

खोप कार्ड  देखाऊ, फिल्म हेर

नेपालखबर
पुस २८, २०७८ बुधबार १४:९, काठमाडौँ

कोरोना महामारीका कारण लामो समय थला परेको फिल्म उद्योगले गति समाउनै सकेको छैन्। प्रदर्शनको तयारीमा रहेका केहि फिल्म हलमा  लाग्न पाएको खण्डमा उद्योगले लय समात्ने संकेत देखाएको थियो।

‘चपली हाइट ३’, ‘लप्पन छप्पन २’, ‘प्रेम गीत ३’, ‘म यस्तो गीत गाउँछु २’, ‘सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्र प्रदर्शनको तयारीमा छन्। यी फिल्म उद्योगलाई चलायमान बनाउने आशा गरिएका फिल्म हुन्। 

त्यसो त तिहारमा लागेको ‘सूर्यबंशी’ त्यसपछि प्रदर्शनमा आएका हलिउड फिल्म ‘स्पाइडर म्यान’ र बलिउड फिल्म ‘पुष्पा: द राइज’ रिलिज भएपछि नेपाली सिनेमा घर पनि भरिभराउ थिए। पुस १६ बाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ले पनि राम्रै संकेत देखाएको थियो। 

‘कठपुतली’ले राम्रै दर्शक तानिरहेकै बेला देशमा  स्मार्ट लकडाउन सुरु भएको छ। कोरोना संक्रमणको नयाँ भेरियन्टका संक्रमित ह्वात्तै बढेसँगै प्रशासनले एक ठाउँमा २५ जना भन्दा धेरै भेला नहुन भनेको छ। यो सँगै फिल्म क्षेत्र पुनः ठप्प हुने त होइन भन्ने प्रश्न सिर्जना भएको छ। 

कोरोनाको असर स्वरुप बलिउडका ठूला ठूला ब्यानरका फिल्मले आफ्नो प्रदर्शन स्थगीत गरेका छन्। नेपालमा पनि उद्योगलाई पुरानै लयमा पर्काउने आशा गरिएको ‘प्रेम गीत ३’प्रदर्शनबाट पछि हटिसकेको छ। प्रदर्शनको तयारीमा रहेका अन्य चलचित्र पनि ‘पर्ख र हेर’को अवस्थामा छन्। 

कोरोना संक्रमणको जोखिम कम गर्न भीडभाड हुने गतिविधिमा रोक लगाएको सरकारले फिल्म हेर्ने दर्शकका लागि खोप कार्ड अनिवार्य गरेको छ। माघ ७ गतेबाट सिनेमा घरमा फिल्म हेर्न जाने दर्शकले खोप कार्ड अनिवार्य देखाउनु पर्नेछ। प्रशासनको यो नियमले फिल्म उद्योगमा पुनः अन्यौलता थपेको छ। प्रशासनको योृ निर्णयको केहि फिल्मकर्मीहरुले विरोध पनि गरिरहेका छन्। 

यही अन्योलका बीचमा ‘चपली हाइट ३’ भने प्रदर्शनमा आउने भएको छ। यो चलचित्र आगामी ३० गतेबाट प्रदर्शनमा आउन लागेको हो। बलिउड र हलिउडसँग डराएर पटक पटक प्रदर्शन मिति  सार्दै आएको यो चलचित्र पछिल्लो समय ‘कठपुतली’सँग भिड्न तयार थियो। तर चलचित्र विकास बोर्ड र हल सञ्चालकको आग्रहपछि पुस ३० गते प्रदर्शन हुने भएको हो।

कोरोना संक्रमण दर र प्रशासनको निर्णपछि यो फिल्म पनि प्रदर्शन हुने नहुने प्रश्न सुरु भएको थियो। यहि प्रश्नको जवाफमा चलचित्रका निर्माता  अर्जुन कुमारले पुस ३० मै फिल्म रिलिज हुने बताए। उनले भने, ‘हल बन्द भएका छैनन्। त्यसैले फिल्म यहि मितिमा रिलिज हुन्छ।’

चलचित्र निर्माता संघले फिल्म हेर्न आउने दर्शकका लागि खोप कार्ड अनिवार्य गरि लागु गरेको निर्णयको समर्थन गरेको छ। फिल्म हल बन्द हुनुभन्दा खोप कार्ड देखाएर फिल्म  हेर्न पाउनु राम्रो निर्णय भएको संघका अध्यक्ष आकाश अधिकारीले बताए। खोप कार्डको फोटो मोबाइलमा देखाउन पनि मिल्ने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .