वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यकाे नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशको पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले एकसाथ गीत सार्वजनिक गरे।
आज सार्वजनिक गरिएको गीतमा सार्वजनिक स्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार र चेलीबेटी बेचबिखनको कथालाई भिडिओमा मन छुने ढंगबाट देखाउन खोजिएको छ।
गीत सार्वजनिक कार्यक्रममा कलाकार तथा गायक हरिवंश आचार्यले चेलीबेटी बेचबिखनको विषयमा यसअघि केही टेलिचलचित्र निर्माण गरेको स्मरण गर्दै गीतमा भने पहिलो पटक यो विषय उठाएको बताए।
आफ्नो जोडी हरिवंशको गीत सार्वजनिक गर्न पुगेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतले समस्यामा पर्नु अगाडि नै बचाउने सन्देश दिएको बताए। गीतले चेलिबेटी बेचबिखनलाई रोक्न भूमिका खेल्ने श्रेष्ठले बताए।
यो गीतको भिडिओमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ। गीतमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक जागरणको लागि कलाकार हरिवंश आचार्यसँग अभिनय गर्न पाउदा गौरव महसुस गरेको बताइन्।
वरिष्ठ कलाकार आचार्यको आफ्नै शब्द र स्वरले भरिएको गीतमा किरण तुलाधरको संगीत संयोजन रहेको छ। गीतको भिडिओलाई मानव सुवेदीले निर्देशन गरेका हुन्। सुशील सापकोटाको छायांकन र सुरक्षा पन्तको पटकथामा भिडिओ निर्माण गरिएको छ।
Shares

प्रतिक्रिया