छुट्दै भेटिँदै, भेटिँदै छुट्दै जिन्दगीको डुङ्गा वारपार गरिरह्यो, जीवनकै खोला किनारमा। भेटिएका र छुटेका कुन कुराको वजन धेरै थियो, नाप्ने कुनै मिटर थिएन।
जीवनमा सँगै भएकाभन्दा छुटिएका चिजको सम्झनामा बहकिने मानवीय स्वाभाव नै हो। यही स्वभावको साक्षी बनेर कयौँ गीत सिर्जना गरे एकनारायण भण्डारीले। अक्षरमा खोपिएका गीतका हरफहरु कति त उनी आफैंले छोडिआएका जिन्दगीका सम्झना थिए। कति अरुको जीवन हेरेर पनि लेखे।
आफैंले बाँचिआएको जिन्दगीका कयौँ सम्झना धमिला बन्दै जाने रहेछन्, हृदयको गहिराइमा। एकनारायणले पनि गीत लेख्दा लेख्दै बिर्सिएछन् कयौँ आकृति। मनमा गढेर बसेका सम्झना ठाउँ पाउँदा उसैगरी फैलिने रहेछन् फेरि। त्यही फैलावटको एउटा आकार गीत बनेर बजारमा आएको छ। त्यो गीत हो ‘जुम्लाबाट आउनु भो मित।’
एउटा हातको औँला छोडेर भर्खर उकालो लागेको उमेर। जुम्लाको अप्ठ्यारो बाटो हुँदै स्याङ्जा आइपुग्ने एउटा तरुनो अनुहार। उनका बुवाले मितज्यू भनेर गर्ने सम्बोधन। बुवाका मितले उनलाई गरेको माया।
भिडिओ
जिन्दगीको कुन बिसौनीबाट धमिलिँदै गयो एकनारायणलाई थाहा छैन। उनलाई त यो पनि थाहा छैन, मनमा अथाह माया बोकेर आउने त्यो तन्नेरी अनुहार आज कस्तो भयो। झण्डै दुई दशकदेखि एकनारायण आफैँ बुवाका लागि पाहुना जस्ता भए। बुवाका पाहुनाबारे बिर्सिँदै गए। आज पनि एकनारायण काठमाडौँ उनका बुवा स्याङ्जा बस्छन्।
पाँच वर्षअघि घुम्ने क्रममा एकनारायण जुम्ला पुगे। रारा ताल हेर्न हिँडेका उनी जुम्लामा एक रात बसे। हृदयको गहिराइमा छोपिएर बसेको मितबुवाको आकृति पुनः सम्झिए। त्यही सम्झनाले जन्मायो, ‘जुम्लाबाट आउनु भो मित।’ काठमाडौं आएर गीत पूरा गरे।
जिन्दगीको नौका खियाउँदै जाँदा छुटेको एउटा सपना गायन पनि हो। करिअरको मध्यतिर एकनारायाणले ‘लालुपाते नुह्यो भूइँतिर’ गीत आफ्नै आवाजमा रेकर्ड गराएका थिए।
काठमाडौँमा गीत रेकर्ड गरेर स्याङ्जा पुग्दा उनको मन फेरियो। बाटोभरी सुन्दै गए आफ्नै आवाज। गीतका हरेक टुक्कामा म सुहाइनँ की भन्ने भइरह्यो उनलाई। काठमाडौं फर्किए। गीत रेकर्ड गराए राजु परियारको स्वरमा। लोकप्रिय भयो।
उनले जीवनमा कयौँ लोकगीत लेखे। आधुनिक गीत लेखे। चलचित्रका कथा अनुसार गीतको भाव व्यक्त गरे। सयौँ गीतमा संगीत गरे। हिट गीतका गीतकार-संगीतकारलाई नचिन्ने समाजमा
गीतकारकै रुपमा आफूलाई स्थापित गराए।
गीत लेखनकै दौडानमा ८ वर्षअघि गायिका देवी घर्तीसँग ‘आँखा खोल्छु होला’बोलको गीत गाए। स्वरले पनि राम्रो स्थान पायो। समय अहिले जस्तो टिकटकको थिएन।
सिआरबिटी पिआरबिटीको थियो। गाउँ र देश छोडेर अर्काको शहर र देशमा बस्न बाध्य युवाको मोबाइलको रिङ टोन बनेर गुज्जियो। गाउँमा बस्ने युवतीहरूले आफ्ना प्रेमी र श्रीमानलाई आफ्नो प्रेम दर्साउन यहि गीतको टुक्रालाई कलब्याक टोनमा बज्ने बनाए।
त्यसपछि लगभग ८ वर्ष उनले गीत गाएनन्। मनमा कतै गडेर बसेको थियो कुनै दिन समाजको संस्कृतिसँग जोडिएको गीत गाउँछु भन्ने थियो।
नेपालबाट हराउँदै गएको मितेरी साइनोको कथा बोकेको यो गीत आफैंले गाउने निधो गरे। एकनारायणले आफैं गाउँछु भनेर निर्णय गर्नुअघि आँट दिन आडैमा थिए हेमन्त शर्मा र कुमार केसी।
गीत गाएपछि पनि एकनारायणलाई अप्ठ्यारो महसुस भइरह्यो। गीत लेखन र संगीतमा बानी थियो। गायनमा बानी थिएन। गीतका सामग्री सार्वजनिक गर्न नै उनलाई कता कता लाज लागिरहेको थियो। भण्डारीले भने ‘गायन मेरो दोस्रो प्रेम हो। पहिलो प्रेम लेखन।’
समाजमा जसरी प्रेम प्रदर्शन गर्न लाज मानिन्छ केहि समय त्यस्तै भयो भण्डारीलाई। गीत लेखेर पर्दापछाडिको हिरोको उपमा पाएका भण्डारीलाई पर्दामा आउन हौसला दिने साथीको कमी थिएन। साथीहरुको त्यही हौसलालाई भण्डारीले सार्वजनिक गरेका छन्।
गीतमा भण्डारीकै शब्द संगीत सुन्न सकिन्छ। श्यामश्वेत रसाईलीले संगीत संयोजन गरेको गीतको म्यूजिक भिडियो कुमार केसीले निर्देशन गरेका हुन्।
म्यूजिक भिडियोमा मितको भूमिकामा सुधीर श्रेष्ठ र विजय पुनः देखिएका छन्। यी दुई कलाकारलाई सिर्जना जिसीले साथ दिएकी छिन्।
सार्वजनिक गीतलाई लिएर भण्डारीले ठूलो माइलेजको सपना देखेका छैनन्। समय पनि सिआरबिटी र पिआरबिटीको युग छोडेर निक्कै अगाडी बढिसकेको छ। युट्युबको बजार पनि खस्किएको छ। टिकटकले गीतको लोकप्रियता निर्धारण गर्ने समय सुरु भएको छ।
भण्डारी भन्छन्, गीतले चर्चा कमाउला नकमाउला अर्को पाटो हो। काम गरेपछि राम्रो होस् भन्ने त हुन्छ। तर यो गीत मार्फत बिर्सिँदै गएको मितेरी संस्कृतिको सम्झना र जगेर्ना गर्न खोजेको हुँ।’
Shares

प्रतिक्रिया