गायक प्रमोद खरेलले पछिल्लो पटक सार्वजनिक गरेको ‘नोगेन’ बोलको गीत चर्चित भैरहेको छ। सार्वजनिक भएको ३ दिनमै २० लाख भन्दा धेरै भ्युज पाएको यो गीतले विवाद पनि निम्ताएको छ।
गीतको केही अंशको संगीत चोरी भएको संगीतकार बसन्त सापकोटाले आरोप लगाएका छन्।
बसन्तले आफूले संगीत गरेको चलचित्र सिलसिलाको ‘सागरसरी चोखो माया’बोलको गीतबाट संगीत चोरी भएको आरोप लगाएका हुन्। सार्वजनिक गीतमा आफ्नो संगीत अंश चोरिएका कारण संगीतकारमा आफ्नो पनि नाम उल्लेख गर्नुपर्ने बसन्तको माग छ।
बसन्तले ‘मेरो आशा बन्यौं नोगेन’ लाइनको संगीत ‘सागरसरी चोखो माया’बाट झिकिएको बताएका छन्।
पछिल्लो गीतका संगीतकार महेश खड्कासँग पनि आफूले कुरा गरेको बताउँदै बसन्त भन्छन्, ‘एक ठाउँमा मात्र मेरो संगीत प्रयोग भएको भए म पनि केही भन्दिनथेँ। तर गीतको मुख्य अंश नै यही छ र बारम्बार प्रयोग भएको छ।’
महेश खड्काले भने अहिले यो विषयमा नबोल्ने बताएका छन्। उनी भन्छन्, ‘कहाँबाट मिल्छ गीत खै थाहा भएन।’
Shares

प्रतिक्रिया