कला


प्रेमपीडामा र्‍यापर बनेका कार्कीजी भन्छन्ः धोका दिने प्रेमिकालाई धन्यवाद!

प्रेमपीडामा र्‍यापर बनेका कार्कीजी भन्छन्ः धोका दिने प्रेमिकालाई धन्यवाद!

कृष्ण आचार्य
मंसिर ७, २०७६ शनिबार ८:२८,

एकातर्फ १९ वर्षे जवानी। अर्कोतर्फ भर्खर अंकुराएको प्रेम। एक वर्षसम्म प्रेम र जवानीको तालमेल मिलेकै हो। सुवास कार्कीलाई थाहा थिएन, फस्टाइरहेको प्रेममा पूर्णविराम लाग्छ भन्ने। नसोचेको भइदियो!

सुवास रोए, कराए, हारगुहार मागे। तर, सुन्ने कसले!

त्यसपछि त हो उनी ‘पागल प्रेमी’ बनेको। आफ्नो अस्तित्व सकिएको महसुस गरेको। जीवनको महत्व र आवश्यकता समाप्त भएको स्वीकार गरेको। मनमा आत्महत्या गर्ने विचार पलाएको।

तर, मनमा जस्तै पीर परेपनि २० वर्ष बाँचेको संसार चटक्कै छाड्न चाहिँ सकेनन्।

२०७३ साल। प्रेम असफल भएको वर्ष। पहिले प्रेमिकाको नाममा आत्महत्या गर्न तम्सेका उनले पछि तिनको नाममा मार्मिक गीत गाउने सोच बनाए।

आत्महत्या गर्छु तिम्रै लागि तिम्रै लागि मर्छु
यो जुनी त के सयौँ जुनी तिमीलाई माया गर्छु
नभन्दिनु आफन्तलाई, नभन्दिनु बाउआमालाई
मेरै कारण तिम्रो छोरो मरेछ धोका खाई..।

कहिल्यै गीत नगाएका सुवासले आफ्नो पीडालाई आफ्नै शब्द र स्वरमार्फत पोखे। गाएरै पीडा कम गर्ने प्रयास गरे। उनलाई सहयोग गरे गायक टंक तितिल्सिनाले।

गीतले सुवासको पीडा केही हदसम्म त कम गर्‍यो तर, साम्य पार्न सकेन। पीडा शब्दमा कोरिने र स्वरमा पोखिने क्रम रोकिएन।

के देखेर तिमी मेरो जीवनमा आयौ
के देखेर आज टाढा हुँदै छोड्यौ
यो मुटुमा तीर हानी दियौ पीडा छानीछानी
आफै रुँदै छौ तिमी आफै रुँदै छौ...।

यो गीत गाएपछि भने सुवासको मन अलि शान्त भयो। किनकि उनकी पूर्वप्रेमिकाले गीत सुनिन्। सुवासलाई फोन गरिन्।

त्यसपछि बने कार्कीजी
दुई वटा गीत गाएपछि सुवासको गीत–संगीतमा चासो बढ्दै गयो। गीत स्रोताले रुचाए। कतिपयले उनलाई संगीत क्षेत्रमा काम गर्न सुझावसमेत दिए। लगानीकर्तासमेत भेटिए।

पहिलो र दोस्रो गीतमा व्यक्तिगत रुपमा झन्डै ५० हजार खर्च गरेका सुवासले यो अवसरलाई गुमाउन चाहेनन्।

‘साथीहरुले सेन्टिमेन्टल गीत गाएर कति प्रेम पीडामा बस्छन्, र्‍याप गीत गाएर विन्दास हुन सिक् भन्ने सुझाव दिए,’ उनी भन्छन्, ‘त्यसपछि मैले हेरौँ न त भनेर र्‍याप हानेँ।’

उनले दुर्गेश थापाको युट्युब च्यानलबाट आफ्नै शब्द, संगीत र स्वरमा ‘आई वान्न डान्स बेबी’ बोलको र्‍याप ल्याए। दुर्गेशले मोडलिङमा सहयोग गरे।

पहिलो र्‍याप नै हिट भयो। युट्युबमा यो गीति भिडियोलाई १० लाखभन्दा धेरै पटक हेरियो। सुवासको माग बढ्न थाल्यो।

karkiji2.jpg

त्यसपछि उनलाई लाग्यो, र्‍याप त समयको माग पो रहेछ। र्‍यापको संसारमा प्रवेश गरेसँगै सुवास कार्की ‘कार्कीजी’ बने। साथीहरुले भनेको पनि ठिक रहेछ, र्‍याप गर्न थालेपछि उनको प्रेमपीडा साम्य भयो।

उनले दुर्गेश थापासँग गाएको अर्को र्‍याप ‘मायाको फ्यान’ झन् हिट। २२ लाखभन्दा धेरै पटक हेरियो।

लोक र र्‍यापको फ्युजन
स्कुल पढ्दा कार्कीजी गजल, मुक्तक र कविता लेख्थे। कलेज पढ्दा ६ महिना संगीत पनि सिकेका थिए। जसले गर्दा शब्द कोर्न र संगीत भर्न उनलाई सहज भयो।

उनले गर्ने विशुद्ध र्‍यापमात्र होइन। लोक र र्‍यापबीचको फ्युजन पनि हो। अर्थात, उनले संगीत क्षेत्रमा गर्न चाहेको नयाँ प्रयोग।

‘लोक, दोहोरी र आधुनिक गीत होस् या विशुद्ध र्‍याप, यो क्षेत्रमा धेरै मानिसहरु लामो समयदेखि संघर्ष गरिरहेका छन्,’ उनी भन्छन्, ‘अगाडि बढ्न केही नयाँ गर्नुपर्छ भनेर मैले फ्युजन गरेँ।’

र, कार्कीजी आफ्नो प्रयोगमा सफल पनि भए।

karkiji1.jpg

संघर्ष नगरी चर्चित
संगीत क्षेत्रमा संघर्ष नगरी सफल हुन गाह्रो छ। एउटा गायक चर्चामा आउन वा उसको गीत हिट हुन ठूलो मिहिनेत गर्छ। तर, यो सवालमा कार्कीजी भाग्यमानी सावित भएका छन्।

‘म संघर्षले भन्दा पनि प्रेमले बनाएको गायक हुँ,’ उनी हाँस्छन्। कहिलेकाहीँ उनलाई यो सब भाग्यको खेल होजस्तो पनि लाग्छ।

तर, उनी आफूलाई सिकारु मान्छन्।

सिकाईको क्रममा उनले दुई सयभन्दा धेरै गीतमा र्‍याप गरेका छन्। आफ्नै युट्युब च्यानलमार्फत गीत राख्न थालेका छन्। ७० हजारभन्दा बढी सस्क्राइबर भएको च्यानलबाट उनले आम्दानी पनि राम्रै गरिरहेका छन्।

‘प्रेममा असफल हुँदा मैले आफ्नो क्षमता चिन्न पाएँ,’ कार्कीजी भन्छन्, ‘अहिले त उनी मेरा लागि धन्यवादकी पात्र हुन्।’

कुनैबेला प्रेमका खातिर ज्यान दिन तम्सेका उनलाई अहिले प्रेम जीवनको एउटा आयाम मात्र रहेछ भन्ने लाग्छ।

‘प्रेम पीडामा अस्तित्व नै समाप्त हुँदो रहेनछ,’ उनी भन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .