कला


जुन उपन्यासप्रति पारिजातको प्रेम गाढै थियो, त्यसैलाई उनले भनिन्– त्यो मरेको छैन तर जलाइदिनु

जुन उपन्यासप्रति पारिजातको प्रेम गाढै थियो, त्यसैलाई उनले भनिन्– त्यो मरेको छैन तर जलाइदिनु

पारिजात


मीना खड्का
बैशाख १७ , काठमाडौँ

पञ्चायतविरुद्ध सुरु भएको आन्दोलन एक महिना पुग्न लागेको थियो। तर, त्यसले राजनीतिक उथलपुथल ल्याउन सकिरहेको थिएन। व्यापक दमनका कारण मानिसहरु डराइरहेका थिए। यस्तो अवस्थामा ०४६ चैत ३ गते करिब पौने दुई सय लेखक, साहित्यकारहरू मुखमा कालोपट्टी बाँधेर त्रिचन्द्र क्याम्पसस्थित सरस्वती सदनमा निस्किए। 

केही समयपछि प्रहरीहरु आए र सबैलाई समातेर ट्रकमा हुले। अग्रपंक्तिमा बसेकी साहित्यकार पारिजातले भने आफूलाई पक्रिन महिला प्रहरी नै चाहिने अडान राखिन्। त्यसपछि शारीरिक रुपमा अशक्त पारिजातलाई चौरमै छाडेर प्रहरीहरु हिँडे। पारिजात योजनाअनुसार नै दिनभर एक्लै धर्नामा बसिन्।

लेखक–साहित्यकार–कलाकारहरुको त्यो विद्रोहले पञ्चायती शासनको जरा हल्लाइदियो र आन्दोलनको लय परिवर्तन गरिदियो। नेपाली प्रजातान्त्रिक आन्दोलनमा ‘चैत ३’ भनेर चिनिने यो प्रदर्शनमा पारिजातले नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्।​

राल्फा आन्दोलन
नेपाली साहित्य र वामपन्थी आन्दोलनमा पारिजात नमेटिने नाम हो। साहित्य सिर्जना र राजनीति दुवैमा उनले उत्पीडितको आवाज बोलिन्, सत्ताको क्रुरताको विरोध गरिन्।

पारिजातको त्यो विद्रोही हुंकार राल्फा आन्दोलनदेखि नै सुरु भएको उनकी बहिनी सुकन्या वाइबा सम्झिन्छिन्।

‘त्यसताका राल्फा नामक समूह थियो। जसले तत्कालीन व्यवस्थाविरुद्ध विद्रोह लेख्थ्यो,’ उनी भन्छिन्।

०२३ मा स्थापना भएको राल्फामा पारिजातका अलावा रामेश, रायन, मञ्जुल सहभागी थिए।

०३३ सालमा पारिजातसँग भेटेका डा. महेश मास्के सम्झिन्छन्, ‘संगीत र साहित्यमा सफल मानिएका लेखक कलाकारहरु राल्फामा सक्रिय थिए। युवाहरुको त्यो जागरुक समूहले आफ्नो विद्रोहको स्वर गाउँगाउँ र सहरसहरमा गुञ्जाउन थाल्यो।’ 

उतिबेला थुप्रैले राल्फालाई अराजक आन्दोलन मान्थे। तर, पछि सो समूहका थुप्रै सदस्यहरु मार्क्सवादी कित्तामा प्रवेश गरे र नेपालको प्रजातान्त्रिक आन्दोलनमा सशक्त रुपमा सहभागी भए।

मास्के राल्फालाई संक्रमणकालीन अवधि मान्छन्। 

‘त्यो संक्रमणकालीन अवस्था पार गरेर पारिजात माक्र्सवादी आन्दोलनमा आएकी हुन्,’ मास्के भन्छन्।

पारिजात नेकपा (चौम) मा सक्रिय थिइन्।

राल्फामा पारिजात साहित्यक र वैचारिक रुपमा सक्रिय रहेको मास्केको भनाइ छ।

‘त्यतिमात्रै होइन जनतासामु जाने र उनीहरुसँग छलफल गर्ने, जनताका प्रश्नको जवाफ दिने प्रक्रियामा पनि उहाँ सहभागी हुनुहुन्थ्यो,’ मास्के भन्छन्।

मास्केका अनुसार त्यहीबेला पारिजात प्रगतिशील लेखन तथा साहित्यक र सांस्कृतिक धरोहरको रुपमा स्थापित भइसकेकी थिइन्। 

पारिजातको घर राजनीतिक–साहित्यक बहसको केन्द्र बनेको थियो। 

‘घर जहिल्यै भरिभराउ हुन्थ्यो। मान्छेहरु भेटघाटमा आइरहन्थे,’ सुकन्या सम्झिन्छिन्, ‘मान्छे यसरी थपिन्थे कि दुई जनालाई चिया पकाउँदापकाउँदै अरु तीन जना आइहाल्थे। अनि फेरि तीन कप पानी र आवश्यकताअनुसार चिनी थप्नुपथ्र्यो।’

राजनीतिक प्रभाव
राजनीतिप्रति उनी आकर्षित हुनुमा उत्पीडितहरुको मुक्तिको कामना कारक रहेको मास्केको ठम्याइ छ। र, यसमा उनको परिवार र हुर्काइ नै जिम्मेवार रहेको उनी बताउँछन्। 

‘राजनीतिक चेतको विकास हुनुको कारण परिवार, उनको हुर्काइ–बढाइ पनि जोडिएको मान्न सकिन्छ,’ मास्के भन्छन्, ‘प्रत्येक साँझ उहाँलाई बुबाले कथाहरु मार्फत राजनीतिक कुराहरु बुझाउनुहुन्थ्यो। यो कुरा उहाँले मलाई बताउनुभएको थियो। त्यसले पनि कतै न कतै पारिजातको राजनीतिक र विद्रोही चेत बढ्नुमा  बुबाले सघाएको देखिन्छ।’

पछि पारिजातकी बहिनी सुकन्याको विवाह निर्मल लामासँग भयो। लामा नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष नेता थिए। 

‘पारिजातको वैचारिक विकासमा निर्मल लामाको ठूलो प्रभाव छ,’ मास्के भन्छन्। 

पारिजात साहित्यक कार्यक्रमहरुमा सहभागी भइरहन्थिन्। तर, शारीरिक कारणले त्यो सजिलो थिएन। 

डा. राजेन्द्रप्रसाद अधिकारीका अनुसार ०४३/४४ सालतिर त्रिचन्द्र कलेजको कोठामा ‘प्रतिभा–प्रवाह’ गोष्ठी सञ्चालन गरिन्थ्यो। कलेजको माथिल्लो तलामा कार्यक्रम हुन्थ्यो। अधिकारी र उनका साथीहरु पारिजातलाई घरबाट त्रिचन्द्र कलेजसम्म लैजाने र कार्यक्रमपछि घर ल्याउने गर्थे।

‘कार्यक्रम हुने दिन पारिजातलाई कार्यक्रमस्थलसम्म लैजान र घर पुर्याउन मोटरसाइकलको पछाडि सिटमा बोकेर राख्न र सिटबाट ओराल्नका लागि म्हैपी र त्रि–चन्द्र कलेजमा एकएक जना बस्नुपर्थ्यो,’ अधिकारी सम्झन्छन्, ‘मोटरसाइकलबाट ओरालेपछि पारिजातलाई कार्यक्रम हुने कोठासम्म बोकेरै पुर्याउनुपर्थ्यो।’​

शिरिषको फूलदेखि अनिँदो पहाडसँगैसम्म
दार्जिलिङमा १९९४ मा जन्मेकी पारिजात २०११ सालमा काठमाडौँ आएकी थिइन्। पद्मकन्या कलेजबाट बीए गरेकी उनको शिरिष फूल उपन्यासले २०२२ मा मदन पुरस्कार जितेको थियो। यही उपन्यासले उनी सर्वाधिक पढिएकी, सर्वाधिक चर्चित, सर्वाधिक विवादास्पद लेखिकामा रुपमा स्थापित भइन्। यसलाई विसंगतिवादी धारको कृतिका रुपमा धेरैले चिन्छन्।

तर, मास्के शिरिषको फूललाई कुनै वादबाट प्रभावित भएर लेखिएको नभई पारिजातको शारीरिक मानसिक अवस्थाको स्वाभाविक अभिव्यक्ति मान्छन्। 

पारिजातको स्वास्थ्य कलिलै उमेरमा बिग्रिन सुरु भएको थियो। हाडजोर्नीको रोगका कारण उनी कुँजिन थालेकी थिइन्। शिरिषको फूल लेख्दाताका उनी अत्यन्तै ठूलो मानसिक तनावको अवस्थाबाट गुज्रिएको मास्केको भनाइ छ।

‘त्यतिबेला उहाँले जीवनमा निस्सारता देख्नुभयो, त्यही लेख्नुभयो,’ मास्के भन्छन्, ‘त्यसैले यो उहाँको इमानदार अभिव्यक्ति थियो भन्ने लाग्छ। आफ्नै अनुभूतिबाट उहाँलाई जे ठिक लागेको थियो, जे अनुभूति भएको थियो, त्यही उहाँले लेख्नुभएको थियो।’

त्यसो त पारिजात स्वयंले प्रगतिवादी लेखनमा लागेपछि शिरिषको फूलको वैचारिकीबाट आफूलाई अलग्याएकी थिइन्।

‘त्यसलाई म आफैँले जनविरोधी उपन्यास भनेर घोषणा गरिसकेकी छु। यसको अस्तित्व नभए पनि हुन्छ तर त्यो अहिले मरेको छैन,’ उनले भनेकी थिइन्।

पारिजातको यो भनाइले उनको चेतनास्तरमा देखिएको परिवर्तनलाई संकेत गर्ने तर उपन्यासप्रति उनको लगाव भने कायम रहेको देखिने मास्के बताउँछन्।

‘पारिजातले जलाइदिनु भने पनि उपन्यासप्रतिको उहाँको लगाव र प्रेम उस्तै गाढा थियो भन्ने संकेत ‘तर त्यो अहिले मरेको छैन’ भन्ने उहाँको अभिव्यक्तिमा पाइन्छ,’ उनी भन्छन्। 

अनेक उपचारको प्रयासपछि पनि पारिजातको स्वास्थ्य झनझन् खराब बन्दै गयो। स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उनले आत्मबल बलियो बनाइन् र सम्पूर्ण रुपले साहित्यिक कर्ममा समर्पित भइन्। उनी कठोर शारीरिक पीडाको सामना गर्दै महिला मुक्तिको कार्यक्रममा सक्रिय हुन्थिन्। अखिल नेपाल महिला संघको अध्यक्ष बनी भूमिगत कार्यमा पनि उनी संलग्न भएकी थिइन्।

२०३५/०३६ सालमा भएको आन्दोलनमा पारिजात सक्रिय थिइन्। त्यही आन्दोलनलाई पृष्ठभूमिमा राखेर उनले अनिँदो पहाडसँगै उपन्यास लेखिन्। शिरिषको फूलदेखि अनिँदो पहाडसम्ममा पारिजातले आफ्नो विसंगतिवाददेखि प्रगतिवादसम्मको यात्रा पुरा गरेको साहित्यानुरागीहरुको ठम्याइ छ।

र, उनको यो यात्रामा पारिजातको आफ्नै दुःख र त्यसबाट उन्मुक्तिको प्रयास झल्किने मास्केको ठहर छ।

‘पारिजातको जीवनमा पनि, लेखनमा पनि एउटा साझा विशेषता छ,’ मास्के भन्छन्, ‘त्यो विशेषता भनेको उहाँको लेखन आफ्नै दुःख र संघर्षले ओतप्रोत थियो। दुःखबाट बाहिर निस्कने क्रममा जे भोग्नुभयो, त्यो लेख्नुभयो।’

त्यसमध्ये पनि न्यायपूर्ण र असल विचारको अपनाउन जरुरी छ भन्ने चेत पारिजातको जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने लाग्छ, उनलाई।   

‘उहाँ आफ्नो जीवनदृष्टिमा टिक्ने हुनुभएको थियो। जीवनका आरोह, अवरोह, त्यसका यथार्थता र परिवर्तनहरुलाई हेर्ने दृष्टिकोणहरुलाई साहित्यमा अभिव्यक्ति दिनु भएको थियो,’ मास्के थप्छन्, ‘पारिजातको स्थान पनि त्यही कुराले निर्धारण गर्छ। जसले हजारौँ वर्षपछि आउने एउटा समाज निर्माण गर्न सम्भव छ र त्यसको लागि हामीले प्रयत्न गर्नुपर्छ भन्ने चेत दिनुभयो।’

 

बैशाख १७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad