निर्धारित समयअनुसार प्रसारण भएको भए बिहीबार केदार घिमिरे उर्फ माग्ने बुढाको ‘कमेडी हब’ प्रसारण हुनु पर्ने थियो।
यद्यपि प्राविधिक तयारी पूरा नै नगरी प्रसारण सुरु गर्ने घोषणा गरेका घिमिरेलाई आफ्नै बोली भारी परेको छ। प्राविधिक तयारी पूरा नभएकै कारण बिहीबार उनको कमेडी शो प्रसारण हुन सकेन।
अब माग्ने बुढाको ‘कमेडी हब’ १८ गतेबाट मात्रै प्रसारण हुने भएको छ। एक दर्जन भन्दा धेरै नयाँ पुस्ताका कलाकारलाई साथमा लिएर मिडिया हबले निर्माण गर्न लागेको यो शो को अहिले निकै चर्चा छ।
‘कमेडी हब’मा घिमिरेसँगै राजा राजेन्द्र पोखरेल, हिमेश पन्त, सुबोध गौतम, राजेन्द्र नेपाली ‘लट्टे’, जानुका पौडेल प्याकुली, दिलीप तामाङ ‘हुरहुर’, खड्गबहादुर पुन, प्रभात लामा, संगम राई ‘लब्ली’, नारिया गिरी, राधिका कँडेल, बेदना राई ‘मैना’, सीता न्यौपाने, अनिल राई लगायतका कलाकार देखिने छन्।
जनक दीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृंखला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्य कविता लगायतका विधा समेटिने निर्माण टिमले जनाएको छ।
Shares

प्रतिक्रिया