विश्व प्रसिद्ध गायिका साकिराले स्पेनिस फुटबल क्लब बार्सिलोनाका चर्चित डिफेन्डर जेरार्ड पिकेसँगको सम्बन्ध तोड्ने घोषणा गरेकी छन्।
लामो सम्बन्ध रहे पनि आफूलाई पिकेले धोका दिएको गुनासोसहित साकिराले ११ वर्ष लामो सम्बन्धलाई टुंग्याउने शनिबार घोषणा गरेकी हुन्।
दुई सन्ताना बाबुआमा यी दुई विश्व प्रसिद्ध व्यक्तिहरुको सम्बन्धमा संकटको बादल मडारिएको समाचार गत सातादेखि नै चलिरहेको थियो।
यद्यपि साकिरासँगको सम्बन्ध टुट्न लागेको समाचारलाई लिएर स्पेनिस खेलाडी पिके आक्रोशित भएका थिए।
तर पिकेले सम्बन्ध टट्न लागेको कुरालाई नकारिरहेका बेला ४५ वर्षीया पप स्टार साकिराले शनिबार सम्बन्धबाट अलगिने घोषणा गरेकी हुन्।
‘हो, तपाईंहरुले सुने जस्तै भएको छ। हामी अलगिन लागेको कुरा तपाईंहरुलई पनि सुनाउँदा दु:ख लागेको छ', साकिराले भनेकी छन्, 'अब हामी अलग हुनुको विकल्प छैन। हामी यो सम्बन्धलाई पूर्णविराम लगाउँदैछौँ।’
उनले जेरार्ड पिकेसँग अलग्गिने घोषणा गर्ने क्रममा दुईजना बच्चाहरुको लालनपालन र स्याहारमा कुनै कसर बाँकी नराख्ने बताइन्।
‘हाम्रा बच्चाहरुप्रति हामी पूरा जिम्मेवार छौँ। बच्चाहरुको गोपनीयता ख्याल गरिदिनुहोला', उनले पत्रकारहरुलाई भनेकी छन्, 'यो कुरालाई मनन गरिदिनुहुने छ भन्ने ठानेकी छु।’
यो सिजन ला लिगामा दोस्रो हुँदै च्याम्पियन्स लिगमा छनौट भएको बार्सिलोनाका भरपर्दा डिफेन्डर पिके साकिरासँग अलग भएर बस्न थालेको समाचार यसअघि नै चर्चामा थियो। अन्तत: उनीहरुको सम्बन्ध टुंगिएको घोषणा साकिराबाट भएको हो।
Shares

प्रतिक्रिया