दयाराम दाहाल चलचित्र विकास बोर्डबाट बिदा भएका छन्। उनी अध्यक्षको दुई वर्षकाे कार्यकाल सकेर बिदा भएका हुन्।
उनकाे कार्यकाल भने त्यति सहज हुन सकेन। दाहाल बोर्डमा नियुक्त हुँदै गर्दा उनी माथि आशाका साथै चलचित्र क्षेत्रमा ठूलै परिवर्तन हुने धेरैले विश्वास राखेका थिए।
सुरुवाती दिनमा दाहालले पनि केही राम्रो छनक देखाएका थिए। तथापि उनको कार्यकालमा पनि बोर्डमा सम्झन लायक केही काम भएन ।
बरु उनले बोर्ड अध्यक्ष रहँदा चलचित्र क्षेत्रमा योगदान नै नभएका मानिसहरुलाई पुरस्कार दिएको भन्दै आलोचित भए। कोरोना कालमा फिल्म क्षेत्रलाई राहत दिन गरेका केही निर्णय बाहेक उनको कार्यकालमा सम्झन लायक अरु केही काम हुन सकेनन्।
दाहालले अध्यक्षको कुर्सीबाट बाहिरिएसँगै उक्त कुर्सीका लागि थुप्रैले आकांक्षा देखाएका छन्। भुवन केसी, सम्झना उप्रेती रौनियार, चलचित्र निर्माता राजकुमार राई, निर्देशक सुचित्रा श्रेष्ठ, निर्देशक नारायण पुरी, निर्देशक तथा निर्माता नरेश पौडेल, कलाकार रमेश बुढाथोकी, मनीष पण्डित, रवीन्द्र खड्का लगायतले अध्यक्षमा आकांक्षा देखाएका छन्।
उनीहरु बोर्डको अध्यक्ष बन्नका लागि राजनीतिक दौडधुपमा रहेका छन्। एक कार्यकाल सकेर बोर्डको अध्यक्षबाट बिदा हुँदै गर्दा दाहाल आफैँले पनि अर्को कार्यकालका लागि आकांक्षा देखाएका छन्।
Shares

प्रतिक्रिया