कला


तीज गीतको विकासक्रम : दोहोरीदेखि फोहोरीसम्म

यस वर्षको तीजमा कति आउला विकृतिको बाढी?
तीज गीतको विकासक्रम : दोहोरीदेखि फोहोरीसम्म

राधिका अधिकारी
साउन ५, २०७९ बिहिबार १३:५७, काठमाडौँ

तीज आउन डेढ महिना बाँकी छ। बजारमा तीजका गीत आउने क्रम सुरु भएको छ। तर पनि गीतको रौनक बजारमा खासै देखिएको छैन।

असारमै सुरु भएको तीज गीत निस्कने क्रम साउन लागेसँगै केही बाक्लिन थालेको छ। गायक खुमन अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा ‘थरीथरी भोले’बाट सुरु भएको तीज गीत निस्कने क्रम मञ्जु पौडेलको ‘बाबाको आँगनी’सम्म आइपुगेको छ।

पछिल्लो पुस्ताका गायिका एलिना चौहान र स्वस्तिका ढकालको ‘भो माया चाहिँदैन’ होस् अथवा सन्तोष केसीले अन्जु पन्त र बादल थापा मगरको ‘सिमसिमे बर्खाको पानी’ हुन्, सबै तीज गीतका नाममा सार्वजनिक भएका छन्।

चर्चित लोकगायिका बिमाकुमारी दुरा

सीडीको जमानादेखि दोहोरीको प्रवेशसम्म
डिजिटल युग सुरु हुनु अघिसम्म वैशाखको पहिलो साताबाटै तीज गीत रेकर्ड हुन्थे। असारदेखि टेलिभिजनमा गीतका प्रोमो बज्थे। त्यसपछि बजारमा तीज गीतका सीडी जान्थे। बजारमा गीतका सीडी छरिन समय लाग्थ्यो। त्यो समयका गीत हेर्ने नभएर सुन्ने गीत हुन्थे।

नेपाली समाजमा चलेका पुराना तीज गीतमा मूलतः बुहारी जीवनको विरह, वेदना र सकस पाइन्छ। कृषिप्रधान परम्परागत समाजमा परिस्थिति फरक थियो, सधैं दबाबमा बसेका महिलाले वर्षमा एकपटक तीजको मौकामा दिल खोलेर आफ्नो भावना पोख्न पाउँथे। त्यो पनि माइतीको आँगनमा पुगेपछि मात्रै।

त्यसैले त्यो समय निर्माण भएका गीतमा घरका पीडा, सासूका कचकच, श्रीमानको हेपाइ, सामाजिक घटना जोडेर घरघरमै तीजका गीत बन्थे। त्यही मौकामा परिवारका सदस्य गीतमार्फत व्यंग्य पनि गर्थे।

पुराना तीज गीतमा दिदीबहिनी लिन गएका तर रित्तै फर्किन विवश दाजुभाइको बिलौना पनि सुन्न सकिन्छ।

चर्चित लोकगायिका हरिदेवी कोइराला

समयसँगै मानिसको चेतनास्तर फेरियो। सामाजिक चेत फेरियो। सञ्चारको विस्तार र प्रविधि प्रसारले आँगन, चोक, चौरबाट तीज गीत  एल्बममा समेटिन थाले। त्यसपछि बल्ल हो- तीजका भाका वैशाखबाटै रेकर्ड हुने, प्रोमो बज्ने क्रम सुरु भएको।

पचासको दशकमा आएका तीज गीत आज पनि गाउने गरिन्छ। त्यसताका हरिदेवी कोइरालाका गीत खूब चले।

पचासकै दशकको वरिपरि गायक प्रजापति पराजुली तीज गीतमा भित्रिए। उनका ‘वेदनाको पोको’ एल्बमको सिरिजले एक दशकसम्म बजार खर्लप्पै खाइदियो।

पराजुलीले तीज गीतमा संयुक्त परिवारकै गन्थन बेच्न सफल भए। उनले आमा–छोरा, दिदी–भाइ, श्रीमान–श्रीमतीका गन्थनलाई रमाइलो शैलीमा प्रस्तुत गरे।

आफ्ना गीतमा सामाजिक विसंगतिदेखि विदेशिएका नेपालीको वेदनासमेत समेटिए। उनका गीतले समाजमा चेतना जगाउन धेरथोर सहयोग गरे।

त्यसताका रेकर्ड भएका महिलाप्रधान गीतमा पीडाभन्दा धेरै परिवर्तनका स्वर सुनिए। र, प्रजापतिले गाएका त्यही गीतबाट तीज गीतमा दोहोरी शैली भित्रियो।

एउटा तीज गीतको एल्बम

मर्यो तीज गीतको मर्म
६० को दशकमा तीज गीतमा पशुपति शर्मा लगायतका गायक भित्रिए। त्यसताका पशुपति र राधिका हमालको ‘टलक्कै ऐना टल्कियो’ बोलको गीतले बजार ततायो। यी गीतसम्म आइपुग्दा गीत सुन्नेबाट हेर्नेमा परिणत भयो। त्यही गीतले सम्झना बुढाथोकी र शंकर बिसीलाई लोकदोहोरी क्षेत्रमा मोडलका रुपमा स्थापित गरायो। ६० को दशकपछि निस्किएका अधिकतर तीज गीत दोहोरी शैलीमा निस्किए।

यसपछि तीजको अवसर पारेर निस्किएका गीतमा तीजकै भाका भेट्टाउन मुस्किल भयो। ६० को दशकपछि रेकर्ड भएका धेरैजसो गीत तीज गीतका नाममा युवायुवतीका प्रेम जोडिन थाले। ५० र ६० को दशकमा गीत गाएर स्थापित बीमाकुमारी दुरा, दुर्गा गुरुङ, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङलगायतका गायिका ६० को दशकपछि छायामा परे।

उनीहरुले गाएका गीतलाई पनि भड्किला शैलीका गीतले माथि उठ्न दिएनन्। सामाजिक पर्वका रूपमा मनाइने तीजका गीतमा दिदीबहिनी एकै ठाउँमा भेला भएर नाच्न पनि लाज लाग्ने शब्दहरू प्रयोग हुन थाले।

नयाँ शैलीमा निर्माण भएका गीत हेर्दै पुराना गायिका बिमाकुमारी दुराहरुले गुनासो गर्दै भने– रत्यौली हो कि तीज गीत सुन्न पनि लाज लाग्छ।

तर, बीमाकुमारीहरुको आवाज बजारमा मसिनो सुनियो।

तीज गीतबाटै स्रोता माझ चिनिएकी राधिका हमालले शोभा त्रिपाठीसँग मिलेर ‘तल पनि पिरलो, माथि पनि पिरलो, चोरी खान पल्केको यो ढाडे बिरालो’ बोलको गीत गाइन्।

त्यसपछि उटपट्याङ र भड्किलो नबनाए तीज गीतमा टिक्न सकिँदैन जसरी गायक–गायिकाले प्रतिस्पर्धा गरे।

यो समय पनि केहि तीजकै भाका रेकर्ड भने भइरहे। तर भड्किला गीतको भिडमा तीजकै भाका ओझेलमा परे।

‘लाली बैँस छोपेन जामाले, नक्कली भई नभन आमाले

यो तीजमा रातो सारी लाई

मेरो त पिठ्युँमा बेस्सरी चिलायो,

बैँस पो चढ्यो कि जुम्रा पो पर्यो कि

ए होई कन्याइदेऊ न बाइ!’

०७१ सालमा सार्वजनिक यो गीतले त्यसताका निक्कै विरोध खेप्नुपर्यो। ०७६ तिरबाट तीज गीतको बिग्रँदो बाढीमा मिसिन आइपुगे दुर्गेश थापा।

थापाले ‘बीच्च बीच्चमा’ बोलको गीत तीजको अवसर पारेर निकाले। त्यो गीतलाई पनि तीज गीतको नाम दिए। भड्किलो र भिन्न शैलीको यो गीतले त्यो वर्ष बजार ततायो। २०७७ मा ‘बीच्च बीच्चमा २’ हुँदै सुरु भएको दुर्गेशको गीत सिरिजलाई धेरैले तीज गीतका रुपमा स्वीकार गरेनन्। चौथो सिरिजमा आइपुग्दा दुर्गेशलाई दोहोरी गीत प्रतिष्ठानले कारबाही नै गर्यो।

पशुपति शर्मा र मुना थापाको तीज गीतको कभर

अनि सुरु भयो विरोध
‘पिसाब लाग्यो’ ‘ठेल न बूढी ठेल’, ‘नाइटो छेडी नत्थी लाउँछु ल’ लगायतका गीत पछिल्ला केही वर्षयता तीजका नाममा सार्वजनिक भएका गीत हुन्।

हरेक वर्ष तीजका गीतसँगै विरोधका स्वर पनि सार्वजनिक हुन थाले। कहिले पुरुषहरूले सार्वजनिक गरेका गीतमा महिलाले विरोध गरे, कहिले महिलाले निकालेका गीतमा पुरुषले विरोध गरे। यो विरोध पछिल्ला केही वर्षयता संस्थागत भएको छ।

हरेक वर्ष तीजका गीत रेकर्ड हुने क्रम सुरु भएसँगै दोहोरी गीत प्रतिष्ठानको विज्ञप्ति निस्कन्छ। तर, कलाकार भने कानमा तेल हालेर बस्छन्। विज्ञप्तिमा प्रतिष्ठान स्रष्टालाई आग्रह गर्छ– ‘भड्किला तीज गीत नगाउनुहोस्।’

यस वर्ष प्रतिष्ठानले आग्रह मात्र गरेन, चेतावनी पनि दियो। प्रतिष्ठानको आग्रहलाई अस्वीकार गरी भड्किला तीज गीत निकाल्ने कलाकारलाई बहिष्कार गर्नेदेखि साधारण सदस्यबाट समेत निकाल्न सम्मको चेतावनी दिइएको अवस्था छ।

तीज गीतको एउटा कभर

सदाबहार तीजको त्यो भाका
तीजका नाममा जेजस्ता गीत सार्वजनिक भए पनि अझै पनि सबैभन्दा धेरै बज्ने गीत हो– ‘तीजको लहर आयो बरिलै’, चेतन कार्कीका शब्द तथा मनोहारी सिंहको संगीत रहेको यो गीत हरेक वर्ष तीजका बेला सदाबहार भएर घन्किन्छ।

४० को दशकमा प्रदर्शनमा आएको नेपाली फिल्म कन्यादानमा समावेश यो गीतलाई अरु कुनै पनि गीतले विस्थापित गर्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .