कला


‘ऐना झ्यालको पुतली’ : बालापन सम्झाउने हरेक परिवारको कथा

‘ऐना झ्यालको पुतली’ : बालापन सम्झाउने हरेक परिवारको कथा

नेपालखबर
भदौ ८, २०७९ बुधबार ८:१७, काठमाडौँ

निर्देशक सुजित बिडारीले प्रदर्शोन्मुख फिल्म ‘ऐना झ्यालको पुतली’ले आफ्नो अनुभवजन्य भोगाइको परिणाम रहेको बताएका छन्।

निर्देशक बिडारीले भुइँचालोले सिर्जना गरेको निस्सारताबीच आफ्नै घरका महिलाले गरेको संघर्षलाई आधार मानेर तयार गरेको कथालाई साथीहरूले ‘मेरो जस्तै’ भनेपछि ‘ऐना झ्यालको पुतली’ बनेको उनले सुनाए।

‘म आमा र दिदीहरूको संघर्ष हेरेर हुर्किएँ। यो फिल्मलाई मेरो भोगाइको प्रतिबिम्ब भन्दा पनि हुन्छ। फिल्ममा देखिने आमा, दिदी भाइ मेरै परिवारका सदस्य हुन्। यो कथा मजस्तै धेरै परिवारको कथा हो,’ उनले भने, ‘मैले जसरी यो उमेरमा आएर आमा र दिदीहरूको संघर्षलाई हेरेँ त्यसैगरी फिल्म पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको कथा हो।’

भदौ २४ लाई प्रदर्शन मिति तोकेको फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री शीर्ष भूमिकामा छन्। फिल्ममा सिरु विष्टबाहेक बाँकी सबै कलाकार नन एक्टर हुन्। निर्देशक तथा कास्टिङ निर्देशकले संखुवासभाका स्कुलबाट अडिसन गरेर उनीहरूलाई अभिनयका लागि तयार गराएका हुन्।

निर्देशक सुजित बिडारीले सहरमा हुर्किएका व्यावसायिक कलाकारबाट गाउँले जनजीवन विश्वसनीयताका साथ देखाउन सम्भव नहुने ठम्याइसहित नयाँ कलाकार लिएर काम गरेको बताए। तर उनले नन–एक्टरबाट काम गराउन भने सजिलो अनुभव नरहेको बताए।

‘पहिलो कुरा त नन–एक्टरसँग काम गर्न गाह्रो हुनेरैछ भन्ने थाहा पाएको भए सायद काम गर्दिनथेँ होला,’ सुजितले ठट्यौली गर्दै सुनाए, ‘मेरो फिल्मले गाउँको पनि अलि पुरानो समयको कथा भन्छ। गाउँको चरित्रले गर्ने गतिविधिमा कुनै कमजोरी नहोस् भनेर त्यही परिवेशमा हुर्केका चरित्रलाई कलाकार बनाउने निर्णय गरेका थियौँ। उहाँहरूले मेरो सोचलाई सार्थक बनाएको महसुस गरेको छु।’

फिल्म अभिनयको थुप्रै अनुभव संगालेकी सिरु विष्टले स्क्रिप्ट पढ्नुअघि आफू फिल्म गर्ने कुरामा विश्वस्त नभए पनि स्क्रिप्ट पढेसँगै आफू फिल्म गर्न तयार रहेको अनुभव सुनाइन्।

‘निर्देशकले भन्दा मात्रै म गर्न सक्दिनँ होलाजस्तो लागेको थियो तर स्क्रिप्ट पढेसँगै यो त मैले भोगेकै कथा त रैछ नी भनेजस्तो भयो। त्यसैले मैले नाइँनास्ती गरिनँ,’ उनले थपिन् , ‘मलाई घाँस काटेको, दूध दुहेको, गुन्द्री बुनेको, डोको नाम्लो आदि गरेको अनुभव थिएन। यस्ता धेरै कुरा मैले सिकेँ।’

उनले ट्रेलरले गाउँले परिवेशमा बनेको दिदी भाइको कथाजस्तो छनक दिए पनि फिल्मले हरेक परिवेशमा रहेका परिवारलाई आफ्नो कथा भनेको आभास हुने जिकिर गरिन्। निर्देशक सुजित बिडारीले पनि उनको तर्कमा सही थाप्दै फिल्मले सपना पछ्याउने कुरालाई जोड दिएकाले जुन वर्गका दर्शकले पनि सिनेमामा आफूलाई देख्न सक्ने विश्वास व्यक्त गरे।

‘अलि हुनेखाने वर्गका सपना फरक होलान् र गरिबका फरक। तर सपना त सपना हो नि! वस्तु फरक होलान् तर आकांक्षा राख्ने भावना एउटै हुन्छ। फिल्मले हाम्रो यस्तै आकांक्षाको कथा प्रस्तुत गर्छ। त्यसैले यो फिल्म सबै वर्गका लागि हो भन्ने हाम्रो ठम्याइ छ,’ उनले भने।

आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मस्को संयुक्त ब्यानरमा बनेको फिल्मलाई प्रविन स्याङ्बो, आकाश पौडेल, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन्।

दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यु करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको फिल्मबाट निर्देशक सुजित बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए। यसबाहेक फिल्म एसिया प्यासिफिक स्क्रिन अवार्ड र जेलिन अवार्डमा छानिएको थियो। स्विजरल्यान्डको फ्रिवर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको फिल्मलाई स्विजरल्यान्डका थुप्रै स्कुलमा देखाइएको निर्माता रामकृष्ण पोखरेलले जानकारी गराए।

उनले पछिल्लो समय हलमा रिलिज नेपाली फिल्मले अपेक्षित व्यापार गरिरहेको तथ्यसँग आफूहरू परिचित भए पनि आफूहरूले व्यापार भन्दा पनि आफ्नो र आफू अघिको पुस्ताले जीवन जिउन गरेको संघर्षलाई ‘ट्रिब्युट’ गर्न फिल्म प्रदर्शन गर्न लागेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad