ad ad

कला


अरनिकोको पाइला पछ्याउँदै जापानी पहरामा बुद्धको मूर्ति कुँद्न सफल मञ्जुल

अरनिकोको पाइला पछ्याउँदै जापानी पहरामा बुद्धको मूर्ति कुँद्न सफल मञ्जुल

मीना खड्का
कात्तिक ३, २०७९ बिहिबार ८:६, नागोया, जापान

रहर कहिले सपनामा परिणत हुन्छ र त्यसले कहिले मूर्त रुप लिन्छ, पत्तै हुँदैन रहेछ। मोरङको मिक्लाजुङ गाउँपालिकाका मूर्तिकार मञ्जुल मितेरीलाई अहिले यस्तै लाग्छ।

४० वर्षका मञ्जुलको नेतृत्वमा भरखरै जापानको क्युसु प्रान्तस्थित कुमामोतो केन खामीआमाकुसाको एक ठूलो पहरामा बुद्धको एउटा र अन्य ६ वटा मूर्ति बनेका छन्। ढुङ्गामा कुँदिएको उक्त बुद्धको मूर्तिको ६५ फिट छ।

११ वर्षको उमेर हुँदा मञ्जुलले कलाकारिताको सपना देखेका हुन्। त्यसै बेलादेखि मूर्ति निर्माण कार्य समेत सुरुवात गरेका हुन्। कक्षा ६ को पाठ्यक्रममा पहिलो पटक कलाकार अरनिकोको जीवनी पढेपछि उनलाई पनि अरनिको जस्तै बन्ने रहर जाग्यो। मञ्जुललाई अहिले पनि सम्झना छ, अरनिकोले चीन गएर कमाएको ख्याति। १२ वर्षको उमेरमा अरनिकोले बुद्ध, सूर्य, विष्णु, गणेश, भगवती, ब्रह्मा जस्ता अनेकौ देवीदेवताहरूका मूर्ति बनाएको प्रसंग। 

सन् २०१६ मा पनि यो कामका लागि जापान आएका थिए मञ्जुल। झण्डै ६ वर्षको साधनापछि शताब्दीकै सबैभन्दा ठूलो बुद्धको मूर्ति निर्माणको काम उनले सम्पन्न गरेका छन्। यो काममा उनलाई मूर्तिकार सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित, गणेश राई, जीवन पौडेल, चतुरलाल राजवंशी, रामकुमार राई, सुवास विश्वकर्माको ठूलो सहयोग छ।

अरनिकोको जीवनी पढेपछि प्रभावित भएका मञ्जुल मूर्तिकार बनिछाडे। अहिले उनको मूर्तिकला व्यवसाय त हो नै, ठूलो पहिचान पनि बनेको छ।

जोखिमपूर्ण पहरामा धेरै मूर्तिकारले चाहेर पनि सक्छु भन्ने साहस जुटाएनन्। तर मञ्जुलले हिम्मत जुटाएर हामी सक्छौँ भनेर वचन दिए। 

जापानका समाजसेवी तथा व्यवसायी ओसिमा सिजुकीसँग ३० वर्षअघिदेखि नै बुद्धको मूर्ति बनाउने योजना थियो। उनले विभिन्न देशका कलाकारलाई पहरो देखाउँथे। बिडम्बना क्षमता भए पनि हिम्मत नभएपछि धेरै कलाकार पहरो जोखिमपूर्ण भएको भन्दै पछि हटे। तर, मञ्जुलले साहस गरे।

‘बुद्धकै जन्मभूमिबाट कलाकार लैजाने भनेर कसिँदा उनले मेरो नाम पनि पाएछन्। त्यसपछि मलाई मूर्ति बनाउन जापान जानुपर्ने प्रस्ताव आयो,’ मञ्जुलले सुनाए।

मञ्जुललाई पनि सुरूमा अप्ठ्यारो नलागेको होइन। उनलाई लागेको थियो, पहरोमा मूर्ति बनाउने त भनियो, अब कसरी सकिएला? तर वचन दिइसकेकाले पछि हट्ने कुरा थिएन।

नेपाली ललितकलालाई विश्वमाझ थप चिनाउने मौका थियो। 

‘त्यो मौका गुमाउने कुरा पनि भएन। यही सम्झेर हामीले प्रस्ताव स्वीकार्यौँ,’ उनी भन्छन्।

जुन पहरामा मूर्ति बनाउने तय थियो, त्यहाँ पानीको छहरा थियो। सुरुमा उनले पानीलाई अन्यत्रै कटाए र मूर्ति बनाए। अहिले वर्षमा दुई पटक पानी धेरै भएर मूर्तिमा समेत पानी झर्छ। त्यसले झन् आकर्षण थप्दछ।

जोखिमपूर्ण चट्टानलाई फोडेर कसरी बुद्धको मूर्ति बनाइएला भन्ने पिरलो उनीहरुलाई थियो। फेरि त्यति ठूलो ढुङ्गाको मूर्ति यसअघि उनीहरुले कहिल्यै बनाएका थिएनन्। 

‘पूर्वज मूर्तिकारले बनाएका विशाल मूर्तिहरू सम्झँदै आफूमा साहस भर्यौँ,’ उनी भन्छन्, ‘अहिलेजस्तो यान्त्रिक उपकरण त्यतिबेला थिएनन् र पनि उनीहरूले कलात्मक मूर्ति निर्माण गरेका थिए। अहिले हामीसँग यति धेरै उपकरण उपलब्ध छन्। हामी सक्छौँ भन्ने लाग्थ्यो।’

उनले बलियो चट्टान मात्रै फोरेनन्। कहिलेकाहीँ मनभित्रको सन्देह पनि फोर्नुपर्यो। चीनको हेनान् प्रान्तमा अवस्थित ‘लङमेन ग्रटोज्’को डिजाइनमा बनेको यो मूर्तिमा नेपाली कला समेत मिसाइएको छ।

सबै कलाकार नेपाली मात्रै भएकाले मूर्तिमा नेपालीपन रहेको उनी बताउँछन्।

‘चिनियाँ बौद्ध कलाबाट प्रभावित भएर प्रतिष्ठानका संरक्षक सिजुकीले तयार पारेको डिजाइनमै आधारित रहेर मूर्ति निर्माण भएको छ। तर, गहिरिएर अवलोकन गर्नेले नेपाली कलाकारले बनाएको मूर्ति हो भन्ने ठम्याउन सक्छ,’ उनले भने। 

आफूहरुको काम नेपाली मूर्तिकला र कलाकारलाई विश्वमाझ चिनाउने माध्यम बन्ने आशा मञ्जुललाई छ।

‘मूर्ति अध्ययन, अवलोकन गर्न आउनेहरूले नेपाल र नेपाली कलाबारे थाहा पाउनेछन्,’ उनले भने, ‘नेपाली कलाकार यति धेरै सक्षम छन् भन्ने प्रमाण यो हो। यसबाट अरु नेपाली कलाकारलाई पनि व्यावसायिक अवसर प्राप्त हुनसक्छ।’

बुद्धको ढुङ्गे मूर्तिको काम सकिएसँगै अन्य जापानी संस्थाहरूबाट प्रशस्तै प्रस्ताव आइरहेको उनले बताए।

तर मञ्जुललाई नेपालमै धेरै काम गर्न मन छ। उनी मूर्तिकार मात्रै होइनन्। साहित्यकार पनि हुन्। भरखरै उनको ‘कामी’ कविता संग्रह प्रकाशित छ। केही समयपछि उनले जापानको टोकियोमा विमोचन गर्ने योजना बनाएका छन्।

उर्लाबारी बहुमुखी क्याम्पस हुँदै मञ्जुलले महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट स्नातकोत्तर गरेका छन्। 

यो सफलताबाट आफू सन्तुष्ट भए पनि समाज र राष्ट्रको लागि अझै धेरै गर्न बाँकी रहेको उनी बताउँछन्। 

‘जीवनको आधा अध्याय सकिइसक्यो। तर जति गर्नुपथ्र्यो राष्ट्रको लागि, त्यति सकिएको छैनझैँ  लाग्छ,’ उनी भन्छन्, ‘अझै धेरै गर्न बाँकी छ। जसको लागि प्रयास भइरहेको छ।’

यससँगै नेपालमा फर्केर थप मूर्तिकर्म गर्ने उनको भनाइ छ। विश्वप्रसिद्ध र नेपालका महामानवहरुका विभिन्न २०० मूर्ति बनाइसकेका मञ्जुल मितेरी थप ८०० मूर्ति बनाइसक्ने र राज्यलाई हस्तान्तरण गर्ने योजनामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .