विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड - २०२४ को लागि बिहीबारबाट आवेदन खुल्ला भएको छ।
काठमाडौँको कमलादिस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो।
आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस नेपाल वर्ल्ड २०२४ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। यसका लागि आगामी भाद्र ८ गते नयाँ वानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा पहिलो चरणको अडिसन गरिने झाले जानकारी दिए।
यस वर्ष पनि मिसेस नेपाल वर्ल्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छन्।
सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता समेत चयन गरिने आयोजक निशुकान्त झाले बताए। ‘यस पटक हामी केहि परिमार्जित र फरक किसिमले कार्यक्रम गर्ने छौँ। जुन, महिला सशक्तिकरणका लागि उपलब्धिमुलक कार्यक्रम सावित हुनेछ’ उनले भने।
कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२३ तथा मिसेसवर्ल्डकी ह्युम्यनेटेरियन अवार्ड २०२३ विजेता पृथ्वीया थापाले यस प्रतियागीताले विवाहित र विभिन्न पेशामा आवद्ध महिलाईलाई थप माथि उठ्ने मौका दिने बताइन्।
उनले मिसेस नेपाल वल्र्ड २०२३ को हैसियतले आफूले अमेरिकामा सम्पन्न मिसेस वल्र्डमा सहभागी भएर मिसेस ह्युम्यानेटेरियनको उपाधि जित्दाको अनुभव शेयर गर्दै मिसेस नेपाल वल्र्डमा सहभागी भएपश्चात आफूले विभिन्न संघ संस्थामा आवद्ध भई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको स्मरण गरिन्।
त्यस्तै एमएस नेपाल २०२३ सिता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वल्र्ड निकै उपयोगी मञ्च भएको बताइन्।
प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वल्र्डलाई यस पटक बृहत ढंगले आयोजना गर्न लागेको बताए।
‘हामी मिसेस नेपालको विजेतालाई अमेरिकामा हुने मिसेस वल्र्डको अन्तराष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पठाउँछौं। नेपाली समुदाय र संघ संस्थाहरुसंग समन्वय र सहज वातावरण तय गर्नका लागि म केहि समय अमेरिका गएर हालै फर्किएको छु। त्यस आधारमा मिसेस वल्र्डको यात्रा हाम्रा लागि अझै सहज हुने विश्वास लिएको छु’ उनले भने।
स्काई वाक टावरका प्रमूख कार्यकारी अधिकृत कविन्द्र श्रेष्ठले विवाहपछि महिलाहरु अगाडि बढ्न असजिलो हुन्छ भनिने नेपाली समाजमा रिबन ईन्टटेन्मेन्टले विवाहित महिलाका लागि आयोजना गर्दै आइरहेको कार्यक्रममा जोडिन पाउँदा खुशी व्यक्त गरे। कार्यक्रममा स्काई भ्यु टावरको टुप्पोबाट मिसेस नेपाल वल्र्डको व्यानर प्रदर्शन गरिएको थियो।
आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ। सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञहरुले प्रशिक्षण दिनेछन्।
Shares

प्रतिक्रिया