कमेडियन अपूर्व क्षितिज सिंह हिजो साढे दुई लाख धरौटीमा रिहा भए। नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीको कारण अपूर्व दसैँअघि नै १२ दिन हिरासतमा बसेका थिए।
उनलाई प्रहरीले पुनः पक्राउ गरेपछि चौतर्फी विरोध भएको थियो।
जिल्ला अदालत काठमाडौंले रिहाइको आदेश दिएपछि अपूर्वले यो मुद्दा आफूले जितेरै छाड्ने अठोट ब्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यो आफ्नो मात्रै नभएर सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताको लागि भएको जनाएका छन्।
उनले लेखेका छन् ‘यो देशको व्यवस्था कस्तो छ भन्ने कुराबारे म नेपाली नागरिकहरुलाई भन्न चाहन्छु। यो मुद्दा कति गम्भीर छ भन्ने कुरा थाहा पाउन जरुरी छ। नेपालमा यस्तो खाले मुद्दा पहिलो हो र यसमा के हुन्छ कसैलाई थाहा छैन। यो मुद्दा हारियो भने जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ। कसैले केही बोल्न पाउँदैन। मान्छे किन देश छाडेर विदेश जान्छन् भन्ने कुरा मैले बल्ल बुझ्दैछु। तर म जान्नँ। यो मुद्दा म जितेरै छाड्छु। सीए पढेको मान्छे हुँ म। हार मान्न सिकेको छैन। यो मेरो मात्रै मुद्दा होइन, हामी सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताको लागि हो।’
यो केसमा अपूर्वले भिडिओ हालेको चौबिस घण्टा नबित्दै सार्वजनिक रुपमा माफी माग्दै भिडिओ हटाएका थिए।
Shares

प्रतिक्रिया