ad ad

कला


‘महापुरुष’को सन्देश : आदर्शका नाममा खुसी बन्धक नराख्नुस्

फिल्मले बोल्छ एकल पुरुषको एक्लोपनाको कथा
‘महापुरुष’को सन्देश : आदर्शका नाममा खुसी बन्धक नराख्नुस्

राधिका अधिकारी
कात्तिक १४, २०७९ सोमबार १६:५४, काठमाडौँ

श्रीमती बितेको दुई वर्षपछि कलाकार हरिवंश आचार्यले दोस्रो विवाह गरे। उनीसँग दोस्रो विवाह गरेकी रमिलाले १० वर्ष एकल जीवन बिताइकी थिइन्।

हरिवंश जीवनको यो वास्तविकतासँग ठोक्किएको दशक बित्यो। बितेको यो एक दशकको समयमा उनले कयौं पटक एक्लै बस्दा रमिलालाई प्रश्न गरे, ‘कसरी यतिका वर्ष एक्लै बस्यौ? नयाँ जीवनका बारेमा सोचिनौ?’ रमिलाको एउटै जवाफ हुन्थ्यो ‘छोराको मुख हेरेर बसेँ।’

यो कथा रमिला र हरिवंशको मात्रै होइन, जीवनसाथी गुमाएका आम नेपालीहरुको कथा हो। श्रीमानको मृत्युपछि महिलालाई छोराछोरीको भविष्यका लागि भन्दै दोस्रो विवाह गर्नबाट रोक्यो र भन्यो– महिला त्यागी हुन्छन्।

यता श्रीमतीको मृत्युपछि तिनै छोराछोरीको भविष्यको लागि भन्दै पुरुषलाई विवाह गर्न जोडबल गर्यो र भन्यो– पुरुष महान हुन्छन्।

लामो समयदेखि यही चक्रमा जेलिएको समाजमा कहिल्यै पनि मानिसको खुसीका बारेमा प्रश्न गरिएन, बरु जीवनलाई थप असहज बनाउने काम गरियो।

कालान्तरमा महिलाको दोस्रो विवाहको वकालत सुरु भयो। महिलाले पनि चाहेको खण्डमा सहजै दोस्रो विवाह गर्न पाउनु पर्छ भन्ने आवाज उठ्न थाल्यो।

निर्देशक प्रदीप भट्टराईसँग हरिवंश र गौरी

कहीँकतै अभिभावकले छोराको मृत्युपछि बुहारीलाई विवाह गरेर बिदाइ गरेका घटनाहरु हुन थालेका छन्। तथापि, अझै समाजले महिलाको दोस्रो विहेलाई सहजै पचाउन सकेको छैन।

महिला अथवा पुरुषको नयाँ जीवनका बारेमा बहस चल्दै जाँदा दोस्रो विवाहलाई यौनसँग मात्रै जोडेर हेर्ने गरिन्छ। एकल महिला-पुरुषका अन्य अभावलाई बेवास्ता गर्ने चलन छ।

उनीहरुको एक्लोपन, भावनात्मक पीडाबारे खासै चर्चा पनि हुँदैन। त्यसैले यसबारे चर्चा हुन आवश्यक थियो। र, त्यो आवश्यक काम गरेका छन्, निर्देशक प्रदीप भट्टराईले चलचित्र महापुरुषमार्फत।

यद्यपि, प्रदीपले समाजले स्वीकार्न अप्ठेरो मानेको एकल महिलाको विषय उठान नगरेर समाजले सहजताका साथ स्वीकृति दिएको एकल पुरुषको दोस्रो विवाहको कथालाई केन्द्रमा राखेर फिल्म बनाएका छन्।

फिल्ममार्फत प्रदीप एक साधारण मानिसको एक्लोपनको कथा भन्न सफल देखिएका छन्। फिल्मको शीर्ष भूमिकामा देखिएका हरिवंश आचार्यले अभिनय होइन, पात्रको जीवन बाँचेर धेरैलाई भावुक तुल्याएका छन्।

वास्तविक जीवनमा श्रीमती बितेको २ वर्षमा दोस्रो विवाह गरेका आचार्यले फिल्ममा भने थुप्रै उल्झन बेहोरेका छन्। श्रीमतीको मृत्युपछि २ छोरा हुर्काएर २१ वर्षसम्म एक्लै बसेका आचार्यले बारम्बार सुगासँग गरेको संवादले थुप्रैका आँखा रसाउँछन्।

पखेंटा पलाएपछि उडिजाने पंक्षीसँग सन्तानलाई तुलना गरिएको यो फिल्मले श्रीमतीको निधनले मात्रै बुबा एक्लो हुने होइनन् भन्ने विषय पनि उठान गरेको छ।

आचार्यको छोराको भूमिकामा देखिएका रवीन्द्रसिंह बाँनिया र अरुण क्षेत्रीका आफ्नै स्वभाव छन्। जेठा छोरा विदुरको भूमिकामा देखिएका बानियाँ विवाह गरेर छुट्टै बसेका छन्। उनी आफ्ना पितालाई भगवान बनाउने दौडमा छन्।

कान्छो छोरा विज्ञानको भूमिकामा देखिएका अरुण क्षत्री बुवासँग होइन, देशसँग हैरान भएर विदेशिने होडमा छन्। कलाकार बनेर होस् अथवा विवाह गरेर उनी विदेश पस्न चाहन्छन्। पहिलो पटक सिनेमामा देखिएका अरुण आफूले पाएको भूमिकामा नयाँ जस्ता देखिएका छैनन्। 

छोराहरुले आफ्नो सपनाको उडान भर्न फटफटाउँदै गर्दा बुबा भने एक्लोपनबाट ग्रस्त हुँदै जान्छन्। एक्लोपनको साथीका रुपमा फिल्म र नाटक रोजेका उनको भेट नाटक घरमै काम गर्ने एक युवती (गौरी मल्ल) सँग हुन्छ।

एक्लोपनमा रुमल्लिरहेका बालकृष्ण (हरिवंश आचार्य)ले साथी पाउँछन्। उनको यो मित्रतालाई समाज र परिवार दुवै स्वीकार्न तयार देखिँदैनन्। यही अस्विकृतिको संघर्षको वरिपरि घुमेको छ महापुरुष। 

फिल्ममा मिलेका संवादले दर्शकलाई कतै रुवाउँछ, कतै पेट मिचिमिची हसाउँछ पनि। फिल्मका थुप्रै दृश्य र संवादले दर्शकको मन भित्रैबाट कुँडिन सक्छ। फिल्ममा ‘बा’को भूमिकामा देखिएका हरिवंशले फिल्म हेर्ने अधिकांश दर्शकलाई आफ्ना ‘बा’ को सम्झना गराउँछन्।

दर्शकहरुसँग फिल्म हलमा 'महापुरुष' टीम

फिल्म हेर्न हल छिरेका दर्शक हल बाहिर निँस्कदा कहिले सोध्न नसकेको पिताको रहरको पछुतो पनि सँगै बोकेर फर्किन्छन्।

एक भेटमा फिल्मका निर्देशक प्रदीप भट्टराईले भनेका थिए, ‘फिल्म हेरेर घर फर्किंदा हरेक बाबुको मोबाइलमा छोराछोरीको फोनको घण्टी बजोस् भन्ने चाहन्छु।’ उनको यो चाहना केही हदसम्म पूरा भएको छ। 

कान्छो छोराको भूमिकामा देखिएका अरुण क्षेत्री दर्शकलाई फिल्ममा बाँधेर राख्न सफल छन्। हरिवंशपछि फिल्ममा दर्शकलाई हँसाउने र रुवाउने काम उनै अरुणले गर्छन्।

अरुण महापुरुषले फिल्म उद्योगलाई दिएको उम्दा कलाकार हुन्। यही फिल्ममार्फत रजतपटमा डेब्यु गरेकी अन्जना बराइली औसत लाग्छिन्।

थोरै भूमिका पाएकी गौरी मल्ल आफ्नो भूमिकामा अब्बल देखिएकी छिन्। फिल्ममा देखिएका अन्य सबै कलाकार आ–आफ्नो भूमिकामा फिट देखिन्छन्। 

संवाद र कलाकारको जीवन्त अभिनयले फिल्मलाई सुन्दर बनाएको छ। फिल्मका अधिकांश संवाद सान्दर्भिक र सटिक लाग्छन्। फिल्ममा दुई गीत समावेश गरिएको छ। फिल्ममा समावेश ‘बा’ बोलको गीतले भावुक बनाउँछ।

‘बेमौसमी’बोलको गीत पनि ठिक ठाउँमा प्रयोग भएको छ। दुवै गीतले फिल्मको भाव प्रस्तुतिमा सहयोग गरेका छन्।

फिल्मका केही कमजोरीलाई छोड्ने हो भने प्रदीप समाजको कथा सरल रुपमा भन्न सफल देखिएका छन्। बाबु–छोराको सम्बन्धलाई क्यामरामा कैद गर्न खोजेका प्रदीपले समग्र समाजको कथा भनेका छन्।  

प्रदीपले आदर्शका नाममा आफ्ना खुसीलाई बन्धक बनाएर कुण्ठाको जीवन नबाँच्न सन्देश दिएका छन्। यो कथा भन्न उनले विवाहलाई माध्यम बनाएका छन्।

उनले फिल्ममार्फत हरेक छोराछोरीलाई आफ्ना बाबु आमाको खुसी केमा छ, रहर के छ भनेर सोच्न र प्रश्न गर्न भनेका छन्। सामान्य तरिकाले चलाएको क्यामराका हरेक दृश्यमा कथा देखिन्छन्, कथा भेटिन्छन्। 

कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले राम्रो दर्शक पाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .