ad ad

कला


‘महापुरुष’का चार किस्सा

‘महापुरुष’का चार किस्सा

राधिका अधिकारी
कात्तिक १५, २०७९ मंगलबार १९:५०, काठमाडौँ

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ले राम्रो व्यापार गरिरहेको छ। फिल्मले उठाएको कथाको, कलाकारले गरेको अभिनयको विभिन्न कोणबाट चर्चा भैरहेको छ। यहाँ फिल्मसँग जोडिएका केही किस्साका बारेमा चर्चा गरौं।

हरिवंशले पहिलो पटक वर्कसप गरेको फिल्म 
फिल्म उद्योगमा हरिवशं आचार्यको बेग्लै स्थान छ। जीवनको लामो समय अभिनयमा बिताएका आचार्य कहिल्यै कुनै पनि फिल्मका लागि वर्कसपमा सहभागी भएनन्। आफ्नो चरित्रलाई लिएर गम्भीर देखिने र हरेक चरित्रलाई न्याय दिने आचार्यले गरेको अभिनय धेरैलाई अभिनय जस्तो लाग्दैन। थुप्रै फिल्ममा जीवन्त अभिनय गरेका आचार्यलाई प्रदर्शनरत फिल्म ‘महापुरुष’को चरित्र निर्वाह गर्न भने सजिलो भएन।

करिब ४० वर्षको फिल्मी करिअरमा उनी पहिलो पटक वर्कसपमा सहभागी भए। ३ दिनको वर्कसपले उनलाई पात्रमा डुब्न निकै सहज बनायो। 

आचार्यले वर्कसप अनुभव सुनाउँदै भने, ‘वर्कसपको बेलामा म चरित्रमा छिर्न खोजेँ। कतिपय कुरा मिलेको हुँदैन रहेछ। यसपालि मैले निर्देशकले भनेको अनुसार नै काम गरेको छु। निर्देशकले मलाई सिकाएको जस्तै गरेँ। तीन दिनको वर्कसपले मलाई चरित्र निर्माण गर्न सजिलो भयो।’ 

६० डायरी र ४० ड्राफ्टमा तयार भएको कथा

यो फिल्मको कथा प्रदीप भट्टराईले लेखेका हुन्। ‘महापुरुष’को कथा लेखनमा प्रदीपले थुप्रै पटक कलम र कपी लिएर घोत्लिनु पर्यो। कम्प्युटरमा टाइप गर्ने प्रदीपको बानी छैन। उनले फिल्म प्रदर्शनअघिको एक भेटमा हातको औँलामा उठेको ठेला देखाउँदै भनेका थिए, ‘फिल्मको कथा लेख्दा उठेको ठेला हो।’

‘जात्रा’ ‘जात्रैजात्रा’ र ‘शत्रु गते’ मार्फत सफलताको ह्याट्रिक गरिसकेका प्रदीपले अझै अब्बल फिल्म बनाउनु पर्ने थियो। उनका दर्शकले प्रदीपबाट उस्तै मिठो स्वाद खोजिरहेका थिए। चौथो फिल्म अघिल्ला तीनभन्दा माथिल्लो स्तरको गर्नुपर्छ भन्ने प्रदीपको मनमा पनि थियो। यही यात्रामा कयौँ स्टोरीका प्लट त प्रदीपको मस्तिष्कमा आए, मस्तिष्कबाटै हराए। दर्शकको मन छुने कथाको खोजीमा रहेका प्रदीपले एकदिन भेटे एक्ला बाबुको कथा।

कथा त भेटे, तर फिल्म बनाउने नाउमा हल्का फिल्म बनाउने छुट उनलाई थिएन। त्यसैले उनले बुढेसकालको एक्लोपनको अनुभूति गर्न थुप्रै मानिसहरूसँग भेटे। थुप्रै वृद्धाश्रम गए। आमाघर पुगे। सत्तल पाटी पुगे। केयर होम पुगे। बाबुआमाका दुःखका कथा सुने। फिल्मको पटकथा तयार पार्दासम्म उनले ४० वटा ड्राफ्ट सके। दुई वर्षको समय बित्यो। स्क्रिप्ट फाइनल गर्दासम्म ६० औँ डायरीका चाङ भइसकेका थिए। 

‘सिनेमाको यात्रा कहाँबाट सुरु भएको थियो, डायरी हेर्दा थाहा हुन्छ,’ प्रदीपले एकदिन झम्सिखेलस्थित फोर्क रेस्टुँरामा सुनाइरहेका थिए। उनलाई अघिल्लो दिन लेखेको कुरा भोलिपल्ट फितलो लाग्थ्यो।

प्रदर्शनको एक हप्ताअगावै प्रिमियर
प्रायः नेपाली फिल्मको प्रिमियर शो प्रदर्शनको एकदुई दिनअगाडि प्रिमियर गर्ने प्रचलन छ। यो फिल्मको भने प्रदर्शनको एक साताअगावै प्रिमियर गरियो। काठमाडौंमा मात्रै होइन, चितवन, धरान लगायतका सहरमा पनि फिल्मको प्रिमियर प्रदर्शन अगावै भयो। काठमाडौं प्रिमियरमा भेटिएकी एक दर्शकले भनेकी थिइन्, ‘यो कस्तो आत्मविश्वास हो, फिल्म राम्रो छ भनेर एक साताअगाडि नै प्रिमियर राखिएको छ। हप्ता दिन नराम्रा कमेन्ट आएर फिल्मको गलत प्रचार भयो भने के निर्माता डुब्ने भए।’ तर प्रिमियरबाटै राम्रो प्रतिक्रिया पाएको फिल्मले प्रदर्शनको पहिलो दिनबाटै सुखद व्यापार गर्यो। 

टिकटको माला
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्म हेर्न प्रायः परिवारका सबै सदस्य हलमा पुगेका छन्। एकै परिवारबाट २०÷२५ जनासम्म टिकट काटेर फिल्म हेर्न गैरहेका छन्। सामाजिक सञ्जालमा एकै परिवारले काटेका टिकटका लामा लामा माला पोस्ट गरिरहेका छन्। प्रदीप खुसीका साथ टिकटका माला आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .