कला


दर्शक भेट्न मोफसल यात्रामा ‘महापुरुष’ टिम

दर्शक भेट्न मोफसल यात्रामा ‘महापुरुष’ टिम

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १०:४३, काठमाडौँ

यही कात्तिक ११ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘महापुरुष’लाई दर्शकले रुचाइरहेका छन्। प्रदर्शनकै दिनदेखि हल पुगेर निर्माण टिमले प्रतिक्रियासमेत लिइरहेको छ। हलसम्म आइपुगेका दर्शक फिल्म हेरिसकेपछि निर्माण टिमलाई बधाई दिँदै निस्किरहेका छन्।

काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएको टिम अब मोफसलमा निस्किने भएको छ। कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली पश्चिमका सहर पुगेर प्रतिक्रिया लिने भएका हुन्। 

आज नेपालगन्जमा दर्शक भेटेर प्रतिक्रिया लिने टिम दाङ, बुटवल हुँदै चितवनसम्म पुग्नेछ।

‘हामी आज नेपालगन्जका दर्शकहरूसँग भेटघाट गर्नेछौँ। त्यसपछि दाङ, बुटवल हुँदै चितवनका दर्शकलाई भेटेर काठमाडौं फर्किने तयारी छ’,कार्यकारी निर्माता बानियाँले भने।

यसअगाडिका आफ्ना फिल्महरू टल्क जंग भर्सेस टुल्के, जात्रा र जात्रै जात्राभन्दा राम्रो ‘वर्ड अफ माउथ’ दर्शकमार्फत पाएको उनले बताए।निर्देशक भट्टराई पनि दर्शकको प्रतिक्रिया निकै सकारात्मक रहेको बताउँछन्।

‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिएँ। हल भिजिटमा पाएको प्रतिक्रियाले झनै हौसला मिलेको छ। यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति हो’, निर्देशक भट्टराईले भने।

फिल्म हेर्न प्राय: परिवारै आइरहेका छन्। उनीहरूले यही फिल्ममार्फत डेब्यु गरेका कलाकारहरू अरुण र अञ्जनालाई आशीर्वादसमेत दिइरहेका छन्। 

फिल्मले बालकदेखि वृद्धसम्मका दर्शकहरुलाई हलसम्म तान्न सफल भएको छ। कात्तिक १६ मा नेपालगन्जमा मोफसलका दर्शक भेटघाट गर्ने टिमले १६ गते साँझ र १७ गते दाङ, १७ गते दिउँसो बुटवल र १८ गते नारायणगढको दर्शकसँग भेटघाट गर्दै काठमाडौं फर्किनेछन्।

पूर्वनिर्धारित कार्यक्रमका कारण संयुक्त राज्य अमेरिकामा रहेका अभिनेता हरिवंश आचार्यले आफ्नो मन भने नेपालमै रहेको बताए।

उनले भिडिओ सन्देशमा भनेका छन्,‘पूर्वनिर्धारित कार्यक्रमले गर्दा अमेरिकामा छु। यद्यपि म त्यहीँ नेपालमा रहेर दर्शकसँग प्रतिक्रिया लिन चाहन्थेँ। तपाईंहरूले दिनुभएको प्रतिक्रियाले हामीलाई झनै हौसला मिलेको छ।’

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन्।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ। आदर्शनगरमा बसोबस गर्ने अवकाश-प्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनको कथा फिल्ममा देखाइएको छ। भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ। षट्कोण आर्ट्स प्रालिको नाममा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन्।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको छ। फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारका रुपमा फिल्ममा डेब्यु गर्दै छन्।

फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .