ad ad

कला


विश्वकपमा कलाकार : सामान्य समर्थकदेखि आफ्नो टिम जिताउन प्रार्थना गर्नेसम्म

विश्वकपमा कलाकार : सामान्य समर्थकदेखि आफ्नो टिम जिताउन प्रार्थना गर्नेसम्म

राधिका अधिकारी
मंसिर ४, २०७९ आइतबार १६:४८, काठमाडौँ

आजबाट कतार विश्वकप सुरु हुँदैछ। केही दिन अघिदेखि नै नेपालमा आम चुनाव र विश्वकपको बराबरी चर्चा छ। खेलप्रेमीहरुले विश्वकपलाई पर्वका रुपमा हेर्ने गर्छन्।

बजारलाई पनि विश्वकप लागेको छ। सपिङ सेन्टरहरुमा विश्वकपमा सहभागी देशका झण्डादेखि जर्सीको मेला नै देख्न सकिन्छ। कतिपय खेलप्रेमीहरुले आफ्नो सुत्ने कोठालाई पनि विश्वकपमा सहभागी देशका झण्डाले सजाएका छन्। खेलप्रेमीहरु आफ्ना मन पर्ने देशका जर्सीमा सजिन थालेका छन्। 

विश्वकपको समयमा कतिपयले त बाजी समेत राख्ने गरेका छन्। सामाजिक सञ्जालमा पनि आफूलाई मन पर्ने टिमलाई लिएर खेलप्रेमीहरुले वादविवादनै गर्ने गरेका छन्। कतिले आफूले मन परेको टिमले जितोस् भनेर कामना नै गर्ने गरेका छन्। 

नेपाली कलाकारका पनि आफ्नै प्रिय टिम छन्। कलाकार दीपकराज गिरीको प्रिय टिम अर्जेन्टिाना हो। उनले सन् १९९० बाट विश्वकप हेर्न थालेका हुन्। त्यहीबेलादेखि अर्जेन्टिनाको समर्थन गर्दै आएका दीपकले आफ्नो रोजाइ फेरेका छैनन्। ३२ वर्षदेखि अर्जेन्टिनाको समर्थन गर्दै आएका दीपकलाई दोस्रो नम्बरमा इटली मन पर्छ। तर यसपालि इटाली छनोट चरणबाटै बाहिरिएको छ। उनी कुनै समय रात माया मारेर विश्वकप हेर्थे। अहिले भने उनमा यो बानी छैन।

खेलप्रेमी कलाकारमध्ये पर्छन् गायक प्रमोद खरेल। उनी विश्वकप मात्रै होइन सबै खेल फलो गर्छन्। भन्छन्, ‘खेल अपडेट नभई मलाई हुँदै हुँदैन। झन् विश्वकप नलाग्ने कुरै भएन।’ उनले सन १९९४ बाट विश्वकप हेर्न थालेका हुन्। उनले विश्वकप हेर्न सुरु गरेको सिजन इटलीले उपाधि जित्यो तर उनको मन भने ब्राजिल र अर्जेन्टिनाले जित्यो। यी दुईमध्ये एउटा टिम आफ्नो स्पेशल रहेको बताउने प्रमोदले कुन टिम भनेर छुट्टाउने जिम्मा भने आफ्ना शुभचिन्तकलाई दिएका छन्। भन्छन्, ‘ब्राजिल र अर्जेन्टिना मेरा प्रिय टिम हुन्। यसमध्ये स्पेशल एउटा छ। कुन टिम भनेर अनुमान गर्दै गर्नुस्।’

अभिनेत्री बेनिशा हमाल ब्राजिलकी समर्थक हुन्। बेनिशाले सन् २००२ देखि विश्वकप हेर्न थालिन्। त्यसवर्ष ब्राजिलले विश्वकपको ट्रफी र बेनिशाको मन दुवै जित्यो। त्यसपछि प्रिय लागेको ब्राजिल अहिले पनि उनलाई मन पर्छ। बेनिशा प्राय सबै टिमको खेल उत्तिकै चाख दिएर हेर्छिन्। तर आफूलाई मन परेको टिम बाहिरिएपछि भने उनको खेल हेर्ने मुड हुँदैन। बेनिशाकी आमा अर्जेन्टिना र भाइ जर्मनीका समर्थक हुन्। एक हिसाबले विश्वकपका बेला उनको घरमै प्रतिस्पर्धा जस्तो देखिन्छ।

अर्की अभिनेत्री रिमा विश्वकर्माको पनि प्रिय टिम ब्राजिल हो। सन् २००२ मा ब्राजिलले विश्वकपको ट्रफी उचालेसँगै ब्राजिलको फ्यान भएकी रिमा अहिले पनि ब्राजिल समर्थक हुन्। ब्राजिलसँगै रिमालाई फ्रान्स पनि मन पर्छ। ‘पहिलो पटक विश्वकप फुटबल हेर्दा ब्राजिलले जितेको देखेकाले ब्राजिलको छाप छ। खेल त अरूको पनि राम्रो हुन्छ तर ब्राजिलको चाहिँ विशेष लाग्छ,’ रिमा भन्छिन्। 

चलचित्र निर्देशक विशाल भण्डारीलाई स्कुले जीवनमा नेपाल टेलिभिजनमा विश्वकप हेरेको क्षण सम्झिदा अहिले पनि रमाइलो लाग्छ। त्यतिबेला नेपाल टेलिभिजनले शनिबार पारेर विश्वकपको रेकर्ड फाइल देखाउँथ्यो। उनले सन १९७४ बाट विश्वकप हेर्न थालेका हुन्। त्यो वर्ष नेदरल्यान्ड्सले विश्वकपको फाइनलमा हार बेहोर्न पुग्यो। त्यसको पछिल्लो सिजन १९७८ मा पनि नेदरल्यान्ड्सले उस्तै नतिजा बेहोर्न पुग्यो। त्यसपछि उनको झुकाव नै नेदरल्यान्ड्सप्रति रह्यो। 

विशाल विश्वकपका सबै खेल नछुटाई हेर्ने गर्छन। भन्छन्, ‘विश्वकप त एउटा टुर्नामेन्ट मात्रै नभएर उत्सव जस्तै भइसक्यो।’ उनका साथीहरु कहाँ बसेर, कोसँग, कसरी कुन क्लबको समर्थन गर्ने भनेर योजना बनाउन थालिसके। यो पटकको विश्वकप कसले जित्छ भन्ने चर्चा सुरु हुँदै गर्दा विशालले बेल्जियम, ब्राजिल र इंल्यान्डमध्ये एउटाले विश्वकपको ट्रफी उचाल्ने सम्भावना देखेका छन्। भन्छन् ‘नेदरल्यान्ड्सले जिते सबैभन्दा खुसी हुन्थेँ।’

प्रशारणको तयारीमा रहेको ‘द पोइट आइडल’ निर्देशन गरिरहेका अमनप्रताप अधिकारीको प्रिय टिम डेनमार्क हो। उनले सन् १९८६ मा १३ वर्षको उमेरमा पहिलो पटक विश्वकप फुटबल हेरेका थिए। त्यो वर्षको विश्वकप अर्जेन्टिनालले जितेको थियो। तर उनको मन भने डेनमार्कले जित्यो। त्यसयता उनको प्रिय टोली कहिले परिवर्तन भएन। उनी सबै टिमका खेलसँग रमाए पनि प्रेम भने अहिले पनि डेनमार्कलाई नै गर्छन्। भन्छन्, ‘प्रिय त सधैं एउटै हुन्छ, परिवर्तन भइरहँदैन।’

उनलाई डेनमार्कको खेल रणनीति मन पर्छ। भन्छन्, ‘डेनमार्क जहिले पनि पोजिटिभ फुटबल खेल्छ। उसको यही तरिकाले मेरो मन चोरेको छ।’ 

अमनको समर्थन यो वर्ष पनि डेनमार्कलाई नै छ। उनलाई आफूले समर्थन गरेको टिमले विश्वकप जित्नै पर्छ भन्ने लाग्दैन। तर उनी आफूले समर्थन गरेको टिम सक्दो माथि पुगेको हेर्ने चाहना राख्छन्। उनले डेनमार्कले राम्रो खेल्न सकोस्, माथि पुगोस् भनेर प्रार्थना नै गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .