प्रकाश सानै थिए। उनले समाजलाई गहिरोसँग बुझ्न भ्याएकै थिएनन्। समाजका विविध व्यवस्थाबारे त झन् कसरी बुझुन्। एकदिन एउटै कक्षामा पढ्ने दिदी (माइलो बुबाकी छोरी) स्कुल आइनन्। त्यही दिन दिदीको पहिलो रजस्वला सुरु भएछ। उनलाई घरभन्दा अलिपर आफन्तको घरमा राखियो। अर्को दिन प्रकाशले बाटोमा दिदीलाई देखे। दिदीसँग आँखा जुध्यो। प्रकाशले दिदीलाई बोलाए। उनले दिदीलाई बोलाएकै कारण दिदी–भाइबीच दुई वर्ष संवाद हुन सकेन। दिदीको चित्त दुखाइ थियो, ‘देखे पनि नबोलाएको भए हुन्थ्यो। अब मलाई पाप लाग्ने भो!’
उनकी दिदीले झैं पापको डरले गाउँका दिदीबहिनीले तिर्खा लाग्दा गाग्रोको पानी सारेर खान सकेनन्। उनकै आमा, बहिनीले पनि यही रीत पालन गरे। त्यो देख्दै हुर्कने क्रममा उनले छाउगोठमा बलात्कृत भएका छोरीहरुका समाचार सुने। उनीहरुका मृत्युका खबर थाहा पाए।
उनको दिमागमा यो कुरा बसिरहेको थियो। गीत÷संगीतमा आएपछि प्रकाशले थुप्रै सामाजिक विषयवस्तुमा काम गरे। उनलाई लागिरहेको थियो, ‘यो विषयमा पनि काम गर्नुपर्छ।’ यस्तै तर्कना मनमा चलिरहकै बेला महिनावारी सञ्जालले कामको प्रस्ताव गर्यो अनि प्रकाशले लेखे ‘परपर छु।’
यो कथा प्रकाशले आफैँले लेख्दै गरेको फिल्मका लागि साँचेर राखेका थिए। आफूले बाँचेको जिन्दगी टुक्रा–टुक्रामा देखाउँदै आएका प्रकाशको आफ्नो जिन्दगी समग्रमा देखाउने योजना छ। त्यो समग्र जीवनको एउटा हिस्सा थियो, ‘परपर छु’ गीतमा प्रस्तुत गरिएको कथा। त्यसैले महिनावारी सञ्जालले यो विषयमा काम गरौँ भनेपछि उनलाई कथा खोज्न गाह्रो भएन। यो गीतको म्युजिक भिडिओ निर्माणसम्मको काम सक्न प्रकाशलाई झण्डै चार महिना समय लाग्यो।
गीतको कथा बुन्दै गर्दा प्रकाशले श्रीमती विन्दुसँग उनको पहिलो महिनावारी अनुभव सोधे। त्यो बेलाको उनको मनको र शरीरको दुखाइ कस्तो थियो, सुन्ने र महसुस गर्ने कोसिस गरे। भन्छन्, ‘अन्याथा भर्खर टिनएजमा प्रवेश गर्दै गरेकी केटीको संवेदनशीलता कथामा बुन्न सजलो थिएन।’
नायिका केकी अधिकारीसँग पनि उनले लामो संवाद गरे। भिडिओ कसरी पूर्ण बनाउने भन्ने विषयमा केकीसँग उनको थुप्रै पटक छलफल भयो। त्यही संवाद र छलफलले महिनावारीको विषयमा बन्दै गरेको भिडिओमा लैंगिक समानताको विषय पनि उठान भएको छ।
गीतको म्युजिक भिडियो बाहिर आएपछि धेरैले आफूसँग जोडेर गीतलाई हेरेका छन्। ‘परपर छु’ गीतमाथि काम गर्दैगर्दा प्रकाशले क्रान्ति र एकैपटक परिवर्तनको ठूलो सपना देखेका थिएनन्। उनको एउटै सपना थियो, महिलाले भोग्दै आएको यो विषयमा समाजले खुलेर बहस गरोस्। यो बहसमा महिनावारीको पीडा भोग्दै नभोगेका पुरुष पनि सहभागी हुन्। अहिले त्यो भइरहेको छ।
उनलाई महिला र पुरुषले बराबरी रुपमा प्रतिक्रिया दिएका छन्। गीतमा आएका अधिकांश प्रतिक्रिया पनि यो विषयमा खुलेर बहस हुनु पर्ने भन्ने खालका आएका छन्। गीतमा आएका सकारात्मक प्रतिक्रियाले भन्दा प्रकाश बहसको थालनी भएकोमा खुसी छन्।
भन्छन्, ‘प्याड देखिन्छ भनेर कागजमा पोको पारेर दिने हाम्रो समाज छ। यो समाजमा महिनावारीको समस्याका विषयमा छोरीहरुले बाबु–दाजुहरुसँग पनि खुलेर कुरा गर्न सक्ने अवस्था सिर्जना हुनुपर्छ भन्ने लाग्छ। गीत हेरेर थुप्रै पुरुष मित्रहरुले अब मेरो छोरीलाई यस्तो हुन दिन्नँ भन्नु भएको छ। कतिले मेरो श्रीमतीलाई यस्तो हुन दिन्नँ भन्नु भएको छ। यो कुराले एउटा सर्जकलाई खुसी दिँदो रहेछ।’
यो गीतमा काम गर्दा उनले आफ्नोभन्दा धेरै समाजको संवेदना खोज्ने र बुझ्ने प्रयत्न गरे। यसअघि गरेका काममा समाजको एउटा वर्गले चित्त दुखाएर म्युजिक भिडिओको दृश्य नै सम्पादन गर्नु परेको नमिठो अनुभवले पनि उनलाई सामाजिक विषयवस्तुप्रति झन् धेरै संवेदनशील बनाएको छ। म्युजिक भिडिओ सम्पादनमा प्रकाश यसपटक निकै चनाखो भए।
म्युजिक भिडिओमा आफैँले बनाएको मूर्ति महिनावारी भएर पूजा गर्न नपाएको दृश्य छ। यो दृश्य देखाउन पनि प्रकाशले कयौं पटक टिमसँग छलफल गरेका छन्। म्युजिक भिडिओमा सेविता अधिकारीले अब्बल अभिनय गरेकी छिन्।
हामी हाम्रा चलचित्र, कथा अथवा कुनै पनि सामग्रीमा समाजको उग्रता देखाउँछौँ। समाजमा तत्काल सबै कुरा बिग्रिरहेको, घटना घटेको देखाउँछौँ। गायक प्रकाशलाई भने समाजमा कुनै पनि घटना यति छिट्टै घटिहाल्दैनन् भन्ने लाग्छ। केही घटनाक्रम छिटो भइरहेको देखिएपनि समग्र समाजलाई त्यही रुपमा मात्रै हेर्न नहुने प्रकाशको तर्क छ। प्रकाशले पछिल्लो समय सार्वजनिक गरेको गीत ‘परपर छु’ लाई लिएर केहीले प्रश्न गरेका छन्, ‘गीतले कारुणिक कथाको व्यापार गरे पनि सशक्त विद्रोहको पक्ष खै?’
प्रकाश जवाफ दिन्छन्, ‘सामाजिक विषयमा काम गर्दैगर्दा समग्रतामा के भैरहेको छ भन्ने कुरामा म सचेत हुन्छु। कुनै पनि सिर्जनामा म क्रान्तिकारी भएर आफ्नो विचार राख्दिनँ। चुट्कीको भरमा समाज परिवर्तन भैहाल्छ भन्दिनँ। म मैले देखेको समाज यस्तो छ है भनेर देखाउँछु। मैले देखेको भोगेको समाजमा यो विषयको भोगाइ यस्तो छ है भनेर देखाउँछु।’
प्रकाश थप्छन्, ‘परपर छु गीतमा पनि हामीले महिनावारी भएको महिलाले पूजा गर्न पाउनु पर्छ, मन्दिर पस्न पाउनु पर्छ। घरमा सबै छुन पाउनु पर्छ भनेर आफ्नो विचार राखेका छैनौँ। त्यहाँ सामान्य एउटा चेलीले आफू महिनावारी हुँदा भोग्नुपर्ने पीडा, मनमा चल्ने कुरालाई मनोवादका रुपमा प्रस्तुत गरेका छौँ। यो सबै कुराले भन्न खोजेको यस्तो हुनुहुँदैन भन्ने नै हो।’
प्रकाशका बुबा उनी सानै छँदा विदेश गए। जीवनको धेरै समय आमासँग बिताए। बेलैमा बिहे गरे। जीवनका थुप्रै समय श्रीमतीसँग बिताए। पहिलो सन्तानका रुपमा छोरीको जन्म भयो। अहिले उनको जीवनको सबैभन्दा मिल्ने साथी उनकै छोरी हुन्। प्रकाश स्कुलकलेजमा पनि केटी साथीहरुका संवेदनशीलताका कुरा सुन्थे। आफैँ दुखमा हुर्किएका प्रकाशले आफ्नो भन्दा कयौँ गुणा धेरै दुःख गाउँका आमाहरुको अनुहारमा देख्थे। त्यसैले पनि प्रकाशलाई महिलाको संवेदनशीलतामाथि काम गर्दैगर्दा बेग्लै उर्जा मिल्छ। त्यही सकारात्मक उर्जा अहिले प्रकाशलाई ‘परपर छु’ गीतले दिइरहेको छ।
प्रतिक्रिया