कला


‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

नेपालखबर
पुस १७, २०७९ आइतबार १३:३८, काठमाडौँ

दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद प्रकाशन भएको छ। ‘महानगर’ फिल्म निर्देशक मोहन राई अनुदित पुस्तक शुक्रबार अभि सुवेदी, जोएल हिबोनेट, नवीन सुब्बा, सुस्मा राईले संयुक्त रुपमा विमोचन गरे। 

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले फिल्म सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राखिन्। 

‘युरोपियन युनियनले पनि फिल्मको माध्यमलाई महसुस गरी नेपालमा युरोपियन फिल्म फेस्टिभल गरिरहेको छ। यस्ता किताबका प्रकाशनले नेपाली फिल्मकर्मीलाई थप प्रतिस्पर्धी सिनेमा बनाउन मद्दत गर्छ भन्ने विश्वास छ,’ उनले भनिन्।

यसैगरी पुस्तक प्रकाशक मिडलवे फिल्मस् कि प्रमोटर सुस्मा राईले मोहन राई आफ्नो भाइ भएको र उसले फिल्म निर्माणसँगै यसको प्राज्ञिक काममा योगदान गरिरहेको देख्दा असाध्यै खुसी लागेको बताइन्।

‘मैले किताब पढ्न पाएको छैन, किनकि हिजो मात्र गाउँबाट फर्किएँ। तर मोहनले अनुवाद गरेको यो पुस्तकले हामीजस्ता सरकारी स्कुल पढेर अंग्रेजी भाषा बुझ्न संघर्ष गरिरहेकालाई मद्दत गर्छ भन्ने ठानेकी छु’, उनले भनिन्। 

कार्यक्रममा निर्देशक नवीन सुब्बाले निर्देशनसम्बन्धी आफूले पढेका किताबमध्ये आफूलाई मन परेको किताब मोहन राईले अनुवाद गरेकामा आफूलाई ईर्ष्या लागेको बताउँदै यो किताब अगाडि राखेर मात्र पनि फिल्म निर्देशन गर्ने हो भने अहिले बनिरहेभन्दा उत्कृष्ट नेपाली फिल्म बनाउन सकिने धारणा राखे। 

‘हामी आर्ट सेक्टरमा काम गर्ने मान्छे पढ्ने कुरामा रुची राख्दैनौँ। जन्मजात प्रतिभा लिएर आएका छौँ। मैले किन अरुको कुरा पढ्ने, सिक्ने भन्ने सोच छ। तर विश्वमा धेरै राम्रा राम्रा काम भइरहेका छन्। यो पुस्तक त्यस्ता धेरै राम्रा कामहरूको संश्लेषण हो’, उनले भने, ‘ जानेको कुरालाई झन् तिखार्नुपर्छ। यसरी तिखार्ने काम यस्तै पुस्तकले गर्छन्।’ 

उनले पुस्तक दुई दशकअघि प्रकाशनअघि भएकाले पछिल्लो समयको ज्ञान यसमा नसमेटिए पनि अनुदित किताब हरेक फिल्मकर्मीको ‘बुकसेल्फ’मा हुनैपर्ने किताब रहेको जिकिर गरे। 

मोहन राईले दिग्गज फिल्मकर्मीसँगको अन्तर्वार्तामा आधारित ‘जक्स्टापोजिसन’ प्रकाशन गरेका छन्। धेरै वर्ष पहिले सार्वजनिक यो पुस्तक सार्वजनिकीकरणमा पनि वक्ता रहेका लेखक अभि सुवेदीले मोहन राई आफ्नो प्रिय शिष्यमध्ये एक रहेको उल्लेख गर्दै मोहनको सक्रियता लोभलाग्दो रहेको बताए। उनले किताबको अनुवादमा अलि क्लिष्ट शब्द प्रयोग भए पनि किताब फिल्मका लागि मात्र नभएर थिएटरका लागि पनि उत्तिकै उपयोगी रहेको बताए।

‘यो किताब फिचर फिल्म निर्देशनमा केन्द्रित भए पनि मलाई यो किताबमा मन परेको कुरा के हो भने यसले सहकार्यको कुरामा जोड दिएको छ। जस्तो कि अहिले थिएटर र सिनेमामा यस्तो अभ्यास देख्न सकिन्छ,’ उनले भने, ‘थिएटरका मान्छे फिल्ममा गइरहेका छन् र फिल्मका मान्छे थिएटर गर्न इच्छुक छन्। यो किताबमा त्यस्ता कुराहरू सम्बोधित भएका छन्। यो मलाई राम्रो लाग्यो।’

अनुवादक मोहन राईले आफूले सात/आठ वर्ष अगाडिदेखि यो पुस्तकमा काम गरिरहेको बताए पनि विविध कारण ढिला भएको सुनाए। आफू यस्ता प्राज्ञिक काम निःशुल्क गर्न तयार रहे पनि यसमा संस्थागत संलग्नताको खाँचो रहेको बताए।

‘म त निःशुल्क पनि यस्ता काम गर्न तयार छु। तर एक जनाले मात्र गरेर यो सम्भव हुन्छ जस्तो लाग्दैन। मैले मेरो अघिल्लो पुस्तक पनि प्रकाशनका लागि चलचित्र विकास बोर्ड धाएँ। तर ठोस उपलब्धि नभएपछि आफैँ प्रकाशन गर्न कस्सिएको हुँ,’ उनले भने।

कार्यक्रममा लेखक मार्क ट्राभिसले पनि मोहन राईलाई अनुवादका लागि भिडिओ सन्देशमार्फत्  शुभकामना दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad