ad ad

कला


मनमा रिस र प्रतिशोध केही बाँकी छैन, कसैलाई गाली नगरिदिनू : पल शाह

मनमा रिस र प्रतिशोध केही बाँकी छैन, कसैलाई गाली नगरिदिनू : पल शाह

नेपालखबर
फागुन २२, २०७९ सोमबार २०:५०, काठमाडौँ

नाबालिग बलात्कार मुद्दामा एक वर्ष लामो समय जेलमा बसेर गत फागुन १५ गते रिहा भएका पल शाहले अब आफूसँगै कसैप्रति रिस र प्रतिशोध नभएको बताएका छन्।

तनहुँ जेलबाट छुटेको डेढ सातापछि सोमबार फागुन पूर्णेका दिन सामाजिक सञ्जालमा झुल्किँदै उनले यस्तो बताएका हुन्। 

पललाई बलात्कार मुद्दा लगाएकी नाबालिग गायिकाले अहिले पनि सामाजिक सञ्जालमा निरन्तर गाली खाइरहनु परेको छ। त्यस्तै अर्का गायक दुर्गेश थापा पनि गालीको शिकार भइरहेका बेला पलले उक्त प्रकरणमा आफूसँग जोडिएका कसैलाई गाली नगर्न भनेका हुन्। 

उच्च अदालत पोखराले उक्त प्रकरणमा सफाइ दिएपछि शाह रिहा भएका थिए। एक वर्षपछि परिवारसँग फागु खेलेर रमाएको फोटोसहित सामाजिक सञ्जालमा उपस्थित उनले सिकाइलाई जीवनभर चलिरहने अनवरत प्रक्रिया भन्दै यो एक वर्षमा आफूले धेरैथोक सिकेको उल्लेख गरेका छन्। 

'सिकाइ जीवनभर अनवरत चलिरहने प्रक्रिया हो। बितेको एक वर्षलाई मैले सिकाइको उर्बर समयको रुपमा लिएको छु', उनले भनेका छन्, 'मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य।'

उनले उक्त प्रकरणमा आफूसँग जोडिएका व्यक्तिहरुप्रति पनि नमन भनेका छन्। 'मेरो बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाव', उनले अगाडि भनेका छन्, यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो, त्यसैले मेरो अनुरोध कसैलाई गाली गलौज र नराम्रो ब्यवहार नगरिदिनुहोला। उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस।'

उनले अदालतको सम्मान गर्दै आफू फेरि पुरानै दैनिकीमा फर्किएको पनि बताएका छन्। 

'सम्मानित अदालत (उच्च अदालत पोखरा) को निर्णयलाई सम्मान गर्दै म फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा  परिवार, आफन्त, साथीभाइ मात्रै होइन हजारौँ दर्शकको भीड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ। त्यसैले सम्पूर्ण भगवानरुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .