दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक/निर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा निधन भएको छ।
स्थानीय गायक दुर्गा खरेलले निर्देशक सुब्बाको निधन बिहीबार १२ बजे भएको जानकारी दिए।
गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’ मार्फत निर्देशकीय यात्रा सुरु गरेका निर्देशक सुब्बाले ‘मसाल’ ‘बाँच्न चाहनेहरू’, ‘कही अँध्यारो कहीँ उज्यालो’ लगायतका चलचित्र निर्देशन गरेका छन्।
चलचित्र निर्देशन गर्नुभन्दा अघि उनले नेपाल र भारत दुवैतिर एकदमै चर्चित रहेको नाटक ‘रातको एक प्रहर’ को निर्देशन गरेका थिए।
‘मसाल’ चलचित्रमार्फत सुनिल थापा र डेनी डेङ्जोपालाई स्थापित गर्ने निर्देशक सुब्बा ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ हल प्रदर्शनमा लफडा परेपछि दार्जिलिङबाट नेपाल आएका थिए। उनले नेपालमा केही समय टेली शृङ्खला र विज्ञापनमा काम गरेपछि ‘बन्द पर्दाभित्र’, ‘दिदी’, ‘चटयाङ’ र ‘भीष्म प्रतिज्ञा’ लगायतका चलचित्र निर्देशन गरे।
अभिनेता नीर शाहका अनुसार पहिलोपटक अभिनय गराउने निर्देशक सुब्बाले नै खलनायकको भूमिकामा ‘भीष्म प्रतिज्ञा’ प्रस्तुत गरे।
‘दिदीमा सम्झौता भएर पनि काम गर्न पाइएन। यद्यपि भीष्म प्रतिज्ञाबाट मैले जीवनकै पहिलो खलनायकको अवार्ड पाएको थिएँ। मैले मानेको एउटा गुरु उहाँ नै हो’, शाहले भने।
निर्देशन छाडेर प्रशिक्षण गर्ने काम अँगालेका निर्देशक सुब्बाले डाइमन्ड इन्स्टिच्युट र सिने युनिभर्स खोलेर काम गरेका थिए। उनको अन्तिम काम प्रकाश कोविदको उपन्यासमा आधारित ‘देउता’ को निर्माण थियो। केही समयअगाडि नै सिक्किममा सुटिङ भएको यो टेली शृङ्खला महामारीको समयमा युट्युबमा सार्वजनिक भएको छ। रासस
Shares

प्रतिक्रिया