ad ad

कला


विन्ध्यवासिनी म्युजिक अवार्ड: कतै हर्षोल्लास, कतै आँखाभरि आँसु (तस्बिरकथा)

विन्ध्यवासिनी म्युजिक अवार्ड: कतै हर्षोल्लास, कतै आँखाभरि आँसु (तस्बिरकथा)

तस्बिरहरु : सरोज नेपाल


राधिका अधिकारी
बैशाख २३, २०८० शनिबार ११:५८, काठमाडौँ

शुक्रबार साँझ राष्ट्रिय नाचघर भित्रको दृष्य फरक देखियो।

अग्रज संगीतकार प्रकाश गुरूङ मञ्चमा के उक्लिएका थिए, त्यहाँ उपस्थित सबै जनाले उठेर निरन्तर ताली बजाए। 

मञ्चमा गुरुङ सम्मानित हुँदै गर्दा हलमा उपस्थित कतिपयका आँखा श्रद्धाले चुहिरहेका थिए। त्यहाँ गुरुङका थुप्रै विद्यार्थी पनि उपस्थित थिए। गुरुङलाई १३औँ विन्ध्यवासिनी म्युजिक अवार्ड समारोहमा दीर्घ साधना सम्मानद्वारा सम्मानित गर्दाको क्षण देखिएको दृष्य हो यो।

यस्तै भावकु दृष्य अर्को पटक पनि देखियो। स्वर्गीय संगीत साधक प्रेमध्वज प्रधानको नामबाट वितरण गरिएको ‘प्रेमध्वज संगीत रत्न सम्मान’ प्रदान अघि बजाइएको स्रष्टा चिनारीका क्रममा प्रेमध्वज प्रधानकी श्रीमती किरण प्रधानले आँखाभरि आँसु पारेर हेरिन्। गायक भविन ढुंगानालाई यो सम्मान प्रदान गर्न मञ्चमा पुगेकी किरण त्यहाँ पनि निक्कै भावुक देखिएकी थिइन्। 

यस्तै दृष्यसहित १३ औँ विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न भएको छ। शुक्रबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्डमा गीत/संगीतका २६ विधाका स्रष्टालाई अवार्ड वितरण गरियो। 

गीतकार दीपिका रिमाल थापाले ‘छुटेपछि त छुट्यो’ गीतबाट यो वर्षको उत्कृष्ट गीतकारको आवार्ड उचालिन्। सर्वोत्कृष्ट गायकको अवार्ड रुपक डोटेलले जित्दा गायिकातर्फको अवार्ड जुनु रिजालले उचालिन्। 

‘अघि बढे भेल बाढी’ बोलको गीतका संगीतकार ईश्वर अमात्यले उत्कृष्ट संगीतकारको अवार्ड जित्दा सुगम संगीततर्फ उत्कृष्ट रचनाकारको अवार्ड बी पाण्डेले उचाले। ‘एउटा कथा’ गीतका लागि प्रभा बर्तौलाले महिला गीतकारतर्फको अवार्ड जितिन्। पप गायनतर्फको सर्वोत्कृष्ट अवार्ड संजीव सिंहले आफ्नो पोल्टामा पार्दा गायक हिमाल सागर तथा गायिका अनु चौधरीले युगल गायनतर्फको अवार्ड जिते।

 

साहश शाक्यले उत्कृष्ट संगीत संयोजकको अवार्ड आफ्नो पक्षमा पार्दा लोकदोहोरी गायनतर्फको अवार्ड बिक्रम परियार र सुनिता बुढाक्षेत्रीले हात पारे।

दोहोरीतर्फको सर्वोत्कृष्ट भिडियो निर्देशकको अवार्ड स्मृति तिमिल्सिनाले उचालिन्। सर्वोत्कृष्ट लोकदोहोरी भाकाका लागि सन्तोष केसी, लोकदोहोरी मोडलतर्फ रुविना अधिकारी र लोमस शर्माले अवार्ड जिते। 

यता आधुनिक गीततर्फको मोडल विधामा कुमारी बराइली र बिमल अधिकारीले अवार्ड जिते। ‘पीर’ गीतको म्युजिक भिडियोको दृष्य सम्पादक प्रवीन भट्टले यही गीतका लागि सर्वोत्कृष्ट भिडियो सम्पादकको अवार्ड उचाले। 

विन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधना पुरस्कार कौशिला खनाल कर्माचार्यलाई प्रदान गरियो।

पब्लीक च्वाईस अवार्ड, दिपेन्द्र तिमल्सीना, पपूलर अवार्ड, प्रकाश धमला, जूरी अवार्ड म्युजीक भिडियो डिरेक्टरतर्फ  काजीश श्रेष्ठ र जूरी अवार्ड गायनतर्फ तेजस रेग्मी, जूरी अवार्ड अभिनयतर्फ बादल घिमिरे, संगीततर्फ नरहरि प्रेमीले प्राप्त गर्दा जूरी अवार्ड गीततर्फ कमल सरगमले प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .