अर्जुन रेड्डी, डियर कमरेड, गीता गोविन्दम् र लिगरमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका 'साउथ स्टार' विजय देवरकोंडाको अहिले दक्षिण भारतीय चलचित्र उद्योगमा ठूलो नाम छ।
उनीभन्दा पहिले उनका बुवा फिल्म उद्योगमै थिए। तर असफल भएका कारण फिल्म क्षेत्र नै छाडेका बुवाले विजयलाई उक्त उद्योगबाट टाढै राख्न चाहन्थे। तर विजय भने बुवाको बाटो पछ्याउँदै त्यही क्षेत्रमा प्रवेश गर्न चाहन्थे।
९ मे १९८९ मा हैदराबाद, आन्ध्र प्रदेश (हाल तेलंगाना) मा जन्मिएका विजयका बुवा गोवर्धन राव टिभी डेली सोप निर्देशक थिए। सफल हुन नसकेपछि उने त्यो क्षेत्र छाडे।
जब उनी कलेज पढ्थे, उनलाई कलेज बसको चक्कर निकै दिग्दारीपूर्ण लाग्थ्यो। जसकारण उनले धेरैपटक कलेज बंक पनि गरे, बसको चक्करबाट बच्न कलाकार बन्ने सपना देखे।
जब बुवाले विजयका यस्ता हर्कत थाहा पाए निकै रिसाए। कलेज बंक गरेर आफ्नो मिहिनतको पैसा खेर नफाल्न भने। त्यसबेला विजयका बुवाले भनेका थिए, 'तलाईं मन लागेको गर्, खेतीपाती गर्छस् भने जग्गा किनिदिऊँला। तर कलेज बंक गरेर यसरी पैसा खेर नफाल्।' तर विजयसँग न कुनै भविष्यको योजना थियो न त कुनै विकल्प।
उनले यत्तिकै भनिदिए, 'मलाई थ्रियटरमा भर्ना गरिदिनुस्।' यो उनको सपना त थियो, तर त्यसबेला उनीसँग अन्य कुनै जवाफ नभएर फुत्किएको वाक्य बताउँछन् उनी आफैँ।
बुवाले विजयलाई देवरकोन्डा थ्रियटरमा भर्ना गरिदिए। उनको अभिनय दमदार थियो। पाँच वर्ष थ्रियटरमा काम गर्न थालेपछि उनलाई फिल्मका अफर आउन थाले।
त्यतिबेला विजयेन्द्र प्रसाद आफ्नो फिल्मका लागि नयाँ अनुहारको खोजीमा थिए। कसैले उनलाई विजयको नाटक हेर्न सुझाव दिए। विजयको अभिनय देखेर उनले विजयलाई फिल्ममा स्थान दिए । त्यसको केही समयपछि विजयलाई निर्देशक तेजाको अफर आयो।
एकैपटक दुई फिल्मको प्रस्ताव! विजयको मन चंगा बन्यो। तर ती दुवै फिल्म कहिल्यै बनेनन्।
कलेज सकिएको एक वर्षसम्म उनले काम पाएका थिएनन्। न त कला क्षेत्रमा उनले चाहेअनुसार प्रगति गर्न सकेका थिए। परिवार चाहन्थ्यो एमबीए गरोस्। तर विजय त्यता लागेनन्, थ्रियटर छाडेर डान्स एकेडेमीमा भर्ना भए। फिटनेसमा केन्द्रित भए।
आमा चाहन्थिन् कलाकार बन्ने जिद्दी छाडेर छोराले केही काम गरोस्, बुवा लेखक बनाउन चाहन्थे। कला क्षेत्रमा केही प्रगति गरेको नदेखेपछि बहिनीले बैंकमा जागिरका लागि आवेदन दिन बारम्बार सुझाव दिएकी थिइन्।
तर अन्त उनको मन लागेन, फिल्म क्षेत्रमै उनी जुधिरहे। लामो प्रतिक्षापछि विजयले शेखर कममुलाको फिल्म लाइफ इज ब्युटिफुलको अडिसन दिने मौका पाए। छनोट पनि भए। यहाँबाट उनले चर्चा कमाए।
यद्यपि, त्यसअघि उनले २०११ मा नुभिलामा डेभ्यु भने गरिसकेका थिए। तर मुख्य नायकका रूपमा उनको पहिलो फिल्म २०१६ मा बनेको पेल्ली चोपुलु थियो।
२०१७ मा उनी अर्जुन रेड्डीमा अनुबन्धित भए। यस फिल्मबाट उनको चर्चा शिखरमा पुग्यो। उक्त फिल्मले उनको भाग्य नै बदल्यो। उक्त फिल्मबाट उनले सर्वश्रेष्ठ अभिनेता (तेलुगु)को अवार्ड पनि पाए।
त्यसपछि उनले विजय महानति, गीता गोविन्द, डियर कमरेड जस्ता उत्कृष्ट फिल्ममा काम गरिसकेका छन्। हालसम्म १७ वटा फिल्ममा काम गरिसकेका उनी उदार स्वभावका पनि छन्। आफ्ना १०० फ्यानलाई मोनाली घुमाएका उनी सामाजिक कार्यमा पनि सक्रिय छन्।
कुनै समय कामै नपाउने उनी अहिले एक फिल्मको १२ देखि २५ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन्। उनको कुल सम्पत्ति ५५ करोड भारु रहेको छ।
Shares

प्रतिक्रिया