ad ad

कला


नेपाल आइडलका कारण मैले परिचयको संकट बेहोर्नुपर्‍यो : कालीप्रसाद बाँस्कोटा


राधिका अधिकारी
बैशाख ३० , काठमाडौँ

संगीत सपना थिएन, रहर थियो। सांगीतिक पृष्ठभूमि नै नभएको परिवारमा त्यो रहर हुर्कंदै गर्दा अहिलेका चर्चित संगीतकार कालीप्रसाद बाँस्कोटाका अरु थुप्रै सपना थिए। घरको एउटा छोरो, शान्त संस्कार, परिवारको जिम्मेवारी छोराले उठाउनु पर्छ भन्ने मान्यता। उनी पनि संगीतलाई रहर मात्रै पारिवारिक जिम्मेवारी पुरा गर्न जागिर खान थाले। 

जागिर खाइरहेकै बेला उनले केही गीतमा काम गरे। स्रोता–दर्शकमा उनका गीत लोकप्रिय भइसकेका थिए। तर काली आफैंलाई थाहा भएन आफ्नो लोकप्रियता। २०७२ सालमा भने उनले आफ्नो १४ वर्षको जागिरे जीवनलाई विश्राम दिए र पूर्णकालीन संगीतकर्मीका रुपमा आफूलाई उभ्याउने हिम्मत जुटाए। 

कालीले संगीत गरेका ‘पिरतीको छाता ओढाऊ न’, ‘निर जैले रिसाउनी’, ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार’ लगायताका गीत लगातार हिट भए। कालीले संगीत बजारमा बलियो हस्तक्षेप गरे। खस्किँदै गएको फिल्मी संगीतलाई समेत उनको आगमनले केही भरथेग पक्कै गर्यो। 

त्यही समय गायन रियालिटी शो नेपाल आइडल सुरु भयो। काली जजका रुपमा शोमा भित्रिए। उनको लोकप्रियता झन् बढेर गयो। गीत÷संगीतमा लोकप्रिय भैसकेका कालीलाई मानिसहरुले गायक/संगीतकारका रुपमा बिर्सिदिए। केवल नेपाल आइडलको जजका रुपमा हेरिदिए। केही समय उनले आफ्नै परिचयको संकट बेहोर्नु पर्यो। 

एक समय उनलाई लाग्यो ‘मेरो संगीतमा बेग्लै आकर्षण छ।’ यो स्वभाविक पनि थियो। तर सुरुवाती दिनमा उनलाई आफ्नो धार पक्रिनै गाह्रो भएको थियो। उनी गीतमा यस्तो धुन भर्न चाहन्थे, जुन स्रोताको जिब्रोमा मिठो स्वाद बनेर टपक्क झुण्डियोस्। सुन्नेको हृदयमा झंकार पैदा गरोस्। तर त्यो कस्तो धुन हो, उनी आफैंलाई थाहा थिएन। हरेक पटक संगीतको धुन निकाल्दै गर्दा उनलाई लाग्थ्यो, ‘यो पुरानै धुन हो।’ 

यही खोजकै सिलसिलामा जन्मिएको गीत हो, ‘पिरतीको छाता ओढाऊ न।’ यही गीत हिट भएपछि मात्रै हो कालीले आफ्नो लय पक्रेको। यो गीत हिट भएपछि नै हो बाँस्कोटाले तिलगंगा आँखा अस्पतालको १४ वर्ष लामो जागिर जीवनमा विराम लगाएको।

फिल्मी संगीतमा लागेपछि बाँस्कोटाले बलिउड संगीतको प्रभावलाई पछ्याए। उनले ‘मञ्जरी, भिसा गर्ल’ लगायतका फिल्ममा बलिउडकै शैलीमा संगीत सिर्जना गरे। उनका ती गीतले चर्चा नपाएका पनि होइनन्। बजार प्रतिक्रिया पनि राम्रै थियो। तर उनलाई आफ्नै सिर्जनाले सन्तुष्ट पार्न सकेनन्। त्यसपछि उनी रैथाने धुनको खोजीमा लागे। त्यही खोजले जन्मायो ‘निर जैले रिसाउनी।’ पोखरा आसपासको बस्तीबाट टिपेर ल्याएको यो धुनले विश्वभरका नेपालीको मन जित्यो। काठमाडौंकै काँठ क्षेत्रमा टिपेको ‘ट्याउसी चढाउँदै’ले उपत्यका बाहिरका स्रोताको मन पनि उसैगरी जित्यो। 

गीतको लोकप्रियतासँगै बाँस्कोटाको माग उनी आफैंले थेगिनसक्नु भएर आयो। एकल एल्बम, फुटकर गीत, फिल्ममा संगीत भराउनेहरुको लामो सूची बन्न थाल्यो। त्यही बेला देश–विदेशका कन्सर्टहरूमा उनलाई भ्याइनभ्याइ भयो। उनले त्यो समय माग अनुरुपको संगीत उत्पादन गर्न सकेनन्। उनी भनेको बेलामा फटाफट संगीत सिर्जना गर्न सक्ने संगीतकार होइनन्। 

भन्छन्, ‘फटाफट संगीत सिर्जना गर्नसक्ने क्षमता मसँग छैन। कहिले क्षणभरमै फुरिहाल्छ, कहिले महिनौँ घोरिनुपर्छ।’ 

उनीसँग आज पनि अधुरा सिर्जना थुप्रै छन्। 

शब्द, लय मात्रै होइन, गायनमा पनि बाँस्कोटा फरक छन्। शब्द, संगीत र आवाज सबैतिर उनी एक्लै सुनिँदा धेरैले यसलाई उनको लोभ पनि भने। तर बाँस्कोटा आफैँ चाहिँ यसलाई गीतको मर्म जोगाउने प्रयत्न भन्छन्।

‘त्यही भएर ठाउँ–ठाउँबाट टिपेको धुन र लवजहरूको गीत चाहिँ भरसक मै गाउँछु,’ उनले सुनाए।

‘लुट’, ‘पुरानो डुंगा’ लगायतका फिल्मलाई उनकै गीतले माथि उठाए। भूकम्पले फिल्म चल्न पाएन, तर गीतकै कारण ‘रेसम फिलिली’ को लामो समय चर्चा भैरह्यो। यही फिल्ममा समावेश गीत हो, पिरतीको छाता ओढाऊ न। यसअघि पनि उनले संगीत गरेका ‘चाहना सकियो, बहाना सकियो’ हेमन्त राणाले गाएको ‘लैजा रे’ बोलका गीत लोकप्रिय भैसकेका थिए। तर उनको संगीत जीवनको टर्निङ पोइन्ट भने ‘पिरतीको छाता’ नै बन्यो। त्यसपछि ‘सुन साइँली’ लगायतका थुप्रै गीतले संगीत बजारको माहोल नै परिवर्तन गरिदियो। 

मौलिक संगीतकारको छवि बनाएका कालीले सांगीतिक जीवनमा पनि केही उतार–चढाव बेहोरे। उनको चर्चित गीत ‘इन्स्टाको फोटो’ फ्रान्सेली गायिका कार्ला ब्रुनीले गाएको गीतसँग मिल्दोजुल्दो भएको आरोेप लाग्यो। अर्को गीत ‘सुन बाटुली’ माथि पनि चोरीको आरोप लाग्यो। थुप्रै पटक उनी सामाजिक सञ्जालमा ट्रोल भए। यसै पनि मनको कुरा ठ्याक्कै भन्न सक्ने मानिस होइनन् बाँस्कोटा। उनले सामाजिक सञ्जालको आक्रमणमा पनि चासो राखेनन्। कसैले मेन्सन गरेर देखाइदिएका कुरा हेरे र बिर्सिदिए। 

बाँस्कोटा एक समय आफ्ना गीतमा संगीत गर्थे। आफ्नै लागि गीत गाउँथे। केही साथीले दिएका प्रतिक्रियासँग रमाउँथे, मख्ख पर्थे। जब उनका गीत हिट हुँदै गए, बजार पिटे, उनको अगाडि चुनौतीको पहाड ठडियो। त्यसपछि कालीले आफ्ना लागि गीत गाउने, गीत बनाउने फुर्सद पाएनन्। फिल्मको कथा, निर्माता, निर्देशकको चाहनामा सिर्जना गरे। मनको कुरा सुनेर काम गर्न नपाउँदाको उनलाई छटपटी हुन्थ्यो।

अहिले समय अलि फेरिएको छ। कालीको व्यस्तता कम भएको छ। उनी फेरि आफ्नो मनलाई सुनेर आफ्ना लागि काम गर्ने, एल्बम निकाल्ने सोचमा छन्।

तस्बिर/भिडिओ : सरोज नेपाल

बैशाख ३०, २०८० शनिबार ७:२४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .