अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्।
उनले निर्देशन गरेका चर्चित नाटक हो ‘डिग्री माइला’। त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रुपमा प्रदर्शनरत छ।
नाटक निर्देशनकै बेला उनले शैक्षिक बेरोजगारीको कथालाई रोजेका थिए। डिग्री माइलामार्फत पनि सामाजिक, शैक्षिक र राजनीतिक विषयमा व्यङ्ग्य गरिएको उनले बताए।
‘यो निर्देशन गरौँ भन्ने सोच आएको थिएन। अहिले म अभिनयमै व्यस्त छु, त्यसैले समय पनि व्यवस्थापन गर्न सहज हुँदैन। यद्यपि मैले केही फरक र भन्नै पर्ने कथा भेटेँ भने दुई चलचित्र निर्देशन गर्छु’, अभिनेता राईले भने।
उनी चलचित्र निर्देशन गर्नुभयो भने आफूले जानेको कुरा प्रयोग गर्ने योजनामा छन्। रङ्गमञ्चमार्फत चलचित्रमा प्राप्त गरेको सफलताले उनको चलचित्रमा व्यावसायिक र कलात्मकमध्ये कुन पाटो हाबी हुन्छ भन्ने कौतुहलता स्वाभाविक छ।
‘मैले चयन गर्ने विषयले मलाई कलात्मक वा व्यावसायिक के बनाउँछ भन्ने निर्धारण गर्छ। किनकि कथालाई कसरी देखाउँदा प्रभाकारी हुन्छ भन्ने विषयले नै निर्देश गर्छ। त्यसकारण अहिले त्यस विषयमा धेरै सोचेको छुइन, मप्रति अपेक्षा छ भन्नेमा ज्ञात छु।’
उनले डिग्री माइलाजस्तो व्यावसायिक चलचित्रसँगै ‘गाउँ आएको बाटो’ र ‘राजागञ्ज’ जस्ता कलात्मक चलचित्रमा अभिनय गरेका छन्।
उल्लिखित चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता पाउनाका साथै केहीमा पुरस्कार समेत जितिरहेका छन्।
उनी अभिनित ‘जारी’ मा लिम्बू समुदायको कथा, ‘दयारानी’ मा गुरुङ समुदायको कथा थियो। अब प्रदर्शन हुने भनिएको ‘घर ज्वाईं’ मा मगर समुदायको कथा छ।
ग्रामीण भेग र ओझेलमा परेका समुदायको कथामा अभिनय गर्न पाउँदा उत्साह लाग्ने अभिनेता राईले बताए। रासस
Shares

प्रतिक्रिया