नीना गुप्ता आफ्नो बोल्ड बयानका कारण सधैं चर्चामा रहिरहन्छिन्। उनी बिहीबारदेखि नेटफ्लिक्सको स्ट्रिम श्रृंखला ‘लस्ट स्टोरीज २’मा देखा परेकी छिन्। सिरिजको प्रमोसनका क्रममा उनले एउटा पुरानो किस्सा सेयर गरिन्।
नीनाले सिरियलको सुटिङको किस्सा सुनाएकी हुन्। सिरियलमा उनले आफ्नो को–स्टारलाई किस गर्नुपरेको थियो। नीनाले यो दृश्यका लागि आफू मानसिक र शारीरिक रूपमा तयार नभएको बताइन्। यद्यपि नीनाले यसलाई चुनौतीका रूपमा लिइन्।
उनले किसिङ सीन दिइन्। त्यसपछि उनको मुख डेटोलले सफा गर्नु परेको थियो। सम्पादनका क्रममा उक्त दृश्य हटाइयो, नत्र यो टिभीमा पहिलो किसिङ सीन हुने थियो।
इन्स्ट्यान्ट बलिउडसँग कुरा गर्दै नीनाले भनिन्, ‘यदि यो दृश्य न काटिएको भए टिभीमा पहिलो किसिङ दृश्य हुने थियो। दशकौंअघि सिरियल ‘दिल्लगी’मा मेरा सह–कलाकार दिलीप धवनसँग मैले लिप लक गर्नुपरेको थियो।’
उनले अगाडि भनेकी छन्, ‘मैले उहाँलाई व्यक्तिगत रूपमा चिनेकी थिइनँ। मानसिक र शारीरिक रूपमा म यो दृश्य गर्न तयार थिइनँ। मलाई धेरै नर्भस महसुस भइरहेको थियो। सिन सम्झिएर म अघिल्लो रात पनि निदाउन सकिनँ।’
नीनाले थप भनिन्, ‘अन्ततः मैले आफैंलाई बुझाएँ। मैले आफैलाई भने कि म एक कलाकार हुँ र मैले यो गर्नुपर्छ। हाँस्नेदेखि रोएसम्म हरेक दृश्य कलाकारले गर्नुपर्छ। त्यसैले यसलाई चुनौतीका रूपमा लिएको छु। मैले चुम्बन दृश्य दिएँ, तर तुरुन्तै मैले डेटोलले मेरो मुख राम्ररी सफा गरेँ। मैले माया नगरेको मान्छेलाई चुम्बन गर्न मलाई धेरै गाह्रो थियो।’

तर नीनाको यो दृश्य पछि सम्पादन गरिएको थियो। नीनाले भनिन्, ‘च्यानलले टेलिभिजनमा पहिलो किस देखाएर एपिसोड प्रमोट गर्न सकियोस् भनेर सिरियलमा किसिङ सीन राखेको हो। तर, यो योजना असफल भयो। यो समय थियो सम्पूर्ण परिवार सँगै बसेर टिभी हेर्ने गर्थे। जब मानिसहरूले यो चुम्बन दृश्य देखे, उनीहरूले कडा विरोध गरे। पछि च्यानलले यो दृश्य हटाउनुपर्ने भयो।’
नीना गुप्तालाई बलिउडकी निडर अभिनेत्री मध्ये एक मानिन्छ। उनले बढाई हो, पञ्चायत र शुभ मंगलज्यादा सावधान जस्ता केही उत्कृष्ट प्रोजेक्टमा काम गरेकी छन्। तर, नीनाको व्यक्तिगत जीवन सधैं समस्यामा परेको छ।
८० को दशकमा नीना र भिभियनको अफेयरको निकै चर्चा भएको थियो। तर उनीहरुले बिहे गर्न सकेनन्।
उनी विवाह नगरी गर्भवती भइन्। समाजको आलोचना सुन्न पर्यो। नीना वेस्ट इन्डिजका पूर्व क्रिकेटर भिभियन रिचड्र्ससँग प्रेममा थिइन्। प्रेममा रहेकै बेला गर्भवती भइन र उनले विवाह नगरी छोरी (मसाबा)लाई जन्म दिइन। भिभियन विवाहित थिए। उनले नीनाको लागि आफ्नी श्रीमती र परिवार छोड्न तयार भएनन्। अन्ततः नीनाले छोरी एक्लै हुर्काइन्।
नीना हालै रानी मुखर्जीको फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’मा देखिएकी थिइन्। अब उनी ‘लस्ट स्टोरीज २’ मार्फत ओटीटीमा फर्किएकी छन्।
करिब तीन दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय नीना गुप्ता हाल ६४ वर्षकी भइन्।
Shares

प्रतिक्रिया