ad ad

कला


‘प्रकाश’बाट पाएको प्रशंसाले ‘पुजार सार्की’मा दलित बने प्रदीप

‘प्रकाश’बाट पाएको प्रशंसाले ‘पुजार सार्की’मा दलित बने प्रदीप

नेपालखबर
जेठ ७, २०८१ सोमबार १४:१५, काठमाडौँ

फिल्म ‘स्केप’बाट डेब्यु गरे पनि अभिनेता प्रदीप खड्का ‘प्रेमगीत’मार्फत दर्शकमाझ चर्चित भए। यसपछि उनलाई लभरब्वाईको ट्याग लाग्यो।

तर, ‘प्रकाश’मा फरक भूमिकामा देखिएपछि उनको त्यो छवि केही मेटिएको थियो। उनले प्रकाशमा निर्वाह गरेको चरित्रको निकै प्रशंसा भएको थियो।

उनै प्रदीप फेरि जेठ १० गते रिलिज हुने ‘पुजार सार्की’मा फरक भूमिकामा देखिँदै छन्।

यस फिल्ममा उनी ‘मैतबहादुर’ बनेका छन्। ‘मैतबहादुर’ समाजको त्यस्तो पात्र हो, जो अन्तर्जातीय प्रेम गर्छ र प्रेम प्राप्तिका लागि जे पनि गर्न तयार हुन्छ। जुन कुरा ट्रेलरबाट थाहा हुन्छ।

यसैबीच प्रदीपले फरक चरित्र रोज्नुको कारण खुलाएका छन्।

‘म कुन चेतना स्तरको कलाकार हो भन्ने कुराले अर्थ राख्ला। जुन समयमा मैले सुरु गर्दै गएँ, त्यो बेला म शून्य थिएँ। मलाई ‘गाइड’ गर्ने कोही थिएन। ‘गाइड’ गर्ने शिक्षक अथवा गुरु भइदिएको भए राम्रो र नराम्रो छुट्याउँथे होला। मलाई जे आयो त्यही गर्दै गएँ। त्यो बेला मलाई ‘कन्टेन्ट बेस’को अप्रोच नै आएन’, प्रदीप ‘प्रकाश’अघिको समयमा फर्किए।

पहिले आफूलाई यो किसिमको फिल्म खेल्नुपर्छ भन्ने चेत नरहेको उनको भनाइ छ।

उनले भने, ‘प्रकाशमा मलाई निर्देशक दिनेश राउतले प्रस्ताव नगर्नुभएको भए अझै १० वर्ष गर्दिनँ थिएँ, किनकि मलाई यस्तो फिल्म गर्नुपर्छ भन्ने चेत नै थिएन। मैले फरक चरित्र गर्न सकिनँ भन्ने आलोचना खेपिरहेको थिएँ। ‘प्रकाश’को प्रस्ताव आयो, त्यो प्रस्तावलाई मैले पूरा गर्नुपर्छ भन्ने चेत आयो। अनि मैले ‘प्रकाश’ गरेँ। यो चलचित्रपछि मैले जुन किसिमको प्रतिक्रिया पाएँ, अनि त्यसलाई संस्थागत गर्नुपर्छ भनेर त्यस्तै चरित्रमा आधारित पुजार सार्की गरेँ।’

यस चलचित्रमा ‘मैतबहादुर’को पेसा बाजा बजाउने छ, जो दलित समुदायबाट प्रतिनिधित्व गर्छ।

प्रदीप आफ्नो पात्रताले नेपाली समाजलाई फिल्ममा देखाइने गरेको ‘स्टेरियोटाइप’बाट बाहिर निस्कन सजग गराउने विश्वास गर्छन्।

‘विदेशी चलचित्रले नेपाल देखाउँदा बहादुर, गोर्खाली या शेर्पा नै देखाउँछन्। हामीलाई पनि कुनै शोषित समाज या सामन्ती समाजलाई ‘स्टेरियोटाइप’ गरिएको भान हुन्छ। उनीहरूले तराईवासीको फिल्म बनायो भने पानीपुरी र कपाल काट्ने नै देखाएको जस्तो देखिन्छ। त्यो चिज नेपाली चलचित्रमा नहोस् भन्नेमा सजग छु। मेरो चरित्र भनेको दलित समुदायबाट प्रतिनिधित्व गर्ने हो, तर उसले आफूलाई कसरी हेर्छ त भन्नेचाहिँ नयाँपन हो।’

‘पुजार सार्की’ले मुख्यतया जातीय विभेदविरुद्धको कथा बोल्छ। ‘पुजार सार्की’ले आजको दिनमा समेत हुने गरेको विभेदप्रति प्रश्न गर्ने उनको तर्क छ।

‘यो फिल्मले विभेदको समस्या कति समाधान भयो भन्ने कुराको प्रश्न पनि गर्छ। सामन्ती भनिएका वर्गले ‘ए हामीले गल्ती गरेका रहेछौँ’ भनेर बुझेको भए समस्याको समाधान छिटो हुन्थ्यो कि’, उनले प्रश्न गर्छन्, ‘चलचित्र हेरिसकेपछि तपाईँलाई हामी त गलत कोणबाट पो झगडा गरिरहेका छौँ भन्ने झस्काउनेछ।’

‘पुजार सार्की’को पोस्टर तथा ट्रेलर र गीतमा प्रदीप पञ्चेबाजाको प्रमुख बाजा ‘दमाहा’ बजाएको देखिन्छन्। उनले पहिलोपटक सो बाजालाई बुझ्ने मौका पनि यही चलचित्रको दौरान पाए।

काठमाडौँ उपत्यकाको ललितपुर क्षेत्रमा हुर्किएका खड्काले बाल्यकालमा सधैँ ब्यान्ड बाजा बजाएको देखेका थिए। तर, यस फिल्ममा बाजा बजाउन सिकेको समेत उनी सुनाउँछन्।

‘म हुर्कँदै गर्दा देखेको त ब्यान्ड बाजा थियो। पञ्चेबाजा थाहा नै थिएन। खासमा मलाई दमाईंहरूले बजाउने बाजा भन्ने पनि थाहा थिएन। आजकल सबैले बजाउने भएकाले पुरानो समयमा र ग्रामीण क्षेत्रमा के हुन्छ थाहा भएन। यस चलचित्रमा दमाईं पात्र मैतबहादुर बनेपछि मात्र मलाई यसबारेमा विस्तृतमा थाहा भयो। मैले सुटिङ सेटमै दमाहा बजाउन सिकेँ’, प्रदीपले बताए।

उनले अघि भने, ‘मैले दमाहा बजाएको देखेर गाउँका मान्छेहरू पनि अचम्मित थिए। म पहिला तबला बजाउँथेँ। मलाई बिटहरूको आइडिया छ। म अहिले पनि गितार बजाउँछु। त्यसकारण मलाई रिदमको जानकारी थियो। त्यसकारण पनि दमाहा बजाउँदा त्यो टिप्न सजिलो भयो होला। बिटमा बजाउन मलाई समस्या भएन। मैले केवल टाइमिङ मात्र सिक्नु थियो। तर मैले नरसिंहचाहिँ फुक्न सकिनँ। सायद पावर पुगेन कि।’

आफ्नो क्षमतामा विश्वास गरेर निर्देशक राउतले ‘मैतबहादुर’को चरित्र दिएको उनको बुझाइ छ। आफूलाई आजभोलि वास्तविकतासँग नजिक चरित्रमा अभिनय गर्न रुचि भएको समेत उनले सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .